शिक्षकलाई पहिले खोप देऊ- सामुदायिक विद्यालय अभिभावक सङ्घ
काठमाडौँ
भर्खरै सम्पन्न सामुदायिक विद्यालय अभिभावक सङ्घ केन्द्रीय समितिको बैठकले विद्यालयका शिक्षकहरूलाई प्राथमिकतामा राखेर कोरोना खोप उपलब्ध गराउनुपर्ने विचार व्यक्त गरेको छ । सो बैठकले सरकारसमक्ष अन्य विभिन्न मागहरूसमेत सार्वजनिक गरेको जानकारी अध्यक्ष रामप्रसाद न्यौपानेले दिए ।
समितिको बैठकले विद्यालय अति संवेदनशील क्षेत्र भएकोले त्यहाँ अध्यापन गर्ने सम्पूर्ण शिक्षकहरूलाई पहिलो प्राथमिकतामा राखेर कोरोना विरुद्ध खोप लगाउनका लागि व्यवथा गर्नुपर्ने माग गरेकोछ । गतवर्ष जस्तै यसवर्ष पनि भौतिक रूपमा उपस्थित भएर एसइई परीक्षा सञ्चालन गर्न नसकिने यथार्थबोध गर्दै यथाशिघ्र विद्यालयले सम्पन गरेका विभिन्न परीक्षाको परिणामलाई मूल्याङकनको आधार मानेर ७५ प्रतिशत अङ्क र बाँकी अङ्कका लागि विद्यार्थीलाई अनुकूल हुने विभिन्न वैकल्पिक माध्यमबाट मूल्याङ्कन गर्ने व्यवस्था मिलाउन सरकारसमक्ष आग्रह
गरेको छ।
सो बैठकले ११ र १२ को वार्षिक परीक्षाका बारेमा पनि छिट्टै विकल्पको खोजी गरी ठोस निर्णयमा पुग्नेतर्फ विचार पुर्याउन आग्रह गरेको छ। बैठकले विद्यालयका पाठ्यपुस्तक तथा शैक्षिक सामग्री ढुवानीका लागि तत्काल आवश्यक व्यवथा मिलाउन सम्बद्ध पक्षको ध्यानाकर्षण गराएको छ।
महामारी र निषेधाज्ञाका कारण विद्यार्थी र अभिभावकमा पर्नसक्ने नकारात्मक असर न्यूनीकरणका लागि मनोसामाजिक परामर्शको व्यवस्था मिलाउन सङ्घको बैठकले सरकारलाई ध्यानाकर्षण गराएको छ।
सङ्घको बैठकले सुगम क्षेत्रका विद्यार्थीहरूले वैकल्पिक माध्यमबाट पठनपाठनको अवसर पाए पनि दुर्गम क्षत्रका विद्यार्थीहरू शिक्षाको अधिकारबाट बञ्चित हुनसक्ने वास्तविकता बोध गर्दै सम्पूर्ण विद्यार्थीले पढ्न पाउने अधिकार सुनिश्चित गर्न सरकारलाई अनुरोध गरेको छ।
प्रतिकृया दिनुहोस्