December 5, 2023, Tuesday
२०८० मंसिर २०, बुधबार

च्यामुसीमा आफ्नै कथा

कैलेकैले जिन्दगीमा यस्तो समयले ठाउँ लिन्छ जुन कल्पिएको पनि हुँदैन र त्यो नतिजा नजिक आइपुगे फेरि कथाले फरक मोड लिइदिन्छ। यस्तै रहे सेमेस्टरका अन्तिम समयका केही दिनहरू। मैले २ दिने बिदाका लागि १५-१७ दिन दुःख पनि पाएँ खुसी पनि पाएँ । साँच्चै अविस्मरणीय रह्यो, सम्झन र बिर्सन लायक।

अनुशासित विद्यार्थीको एउटा सिलसिलालाई अझै कायम गर्ने एउटा अभिलाषा सधैं रहिरह्यो, र यसलाई यता पनि निरन्तरता दिइयो भन्नुपर्छ। अनुशासित र इमानदार भएर अन्तिममा नतिजा आफूतिर नहुँदा पनि कुनै ग्लानी हुन्न रैछ, कर्म गर्न फलको आशा नगर भनेर मन बुझाउने बाटो पनि हुन्छ नै।

डिसेम्बर २० मा चिठी कार्यलयमा बुझाइसक्नुपर्ने हुन्छ। मैले राती नै लेखेर तयार गरिसकेको थिएँ, भएका कुरालाई प्रस्ट लेखेको थिएँ, दायाँबायाँ सोचिनँ। अघिल्लो दिन केमेस्ट्रीको परीक्षा थियो। परीक्षा केमिस्ट्री त्यहाँमाथि चिनियाँ भाषा ! अब केही चाहिएला र? त्यहाँमाथि हाम्रा केही विदेशी साथी अलि बढी जान्ने भैदिए। ‘तिमीहरूलाई म छुट्टै प्रश्नपत्र बनाउँछु, चिनियाँ विद्यार्थीहरूलाई भन्दा सजिलो’ भनेर लाओसिरले भनेका थिए। यसलाई हर्ष मान्नु या विस्मात्, विचार बाँडिए। मैले त उतिबेला नै विदेशी साथीहरूलाई भनेको थिएँ, हामीलाई उत्तमचाहिँ चिनियाँ विद्यार्थीहरूलाई तयार गरिने प्रश्नपत्रमा नै परीक्षामा बस्दा हुन्छ। यसो हुँदा फेल नै हुँदा पनि प्रयास जारी गरिएको थियो भन्ने हुन्थ्यो, इज्जतसँग फेल हुइन्थ्यो। पास हुने सम्भावना कम छ। तर यता चिनियाँमा हामीलाई के सजिलो, प्रश्न बुझिने, उत्तर चिनियाँमा कसरी लेख्ने? यो गन्थनमन्थन गर्दागर्दै परीक्षा आइपुग्यो। परीक्षा पनि दिइयो। प्रश्न पनि बुझियो, तर उत्तर अङ्ग्रेजीमा लेखियो। न्युमेरिकल गरियो तर ‘उत्तर अङ्ग्रेजीमा लेखिएकाले पास पो गर्ने हुन् या होइनन्’ ले चाहिँ मन द्विविधामा भयो। तर चिट चोर्न माहिर केही विद्यार्थीहरूले परीक्षा चिनियाँ भाषामै लेखे। यसरी केमिस्ट्री परीक्षा आफैंमा गजब माहोल भइदियो।

कुरो गर्दै थिएँ २० तारिखको। अनि म गएँ अफिस। आफ्ना कुरा पढिसकेसि लाओसिर यसरी आगो भइन् कि म त्यहाँ उनको हिस्सा नै खोस्न पुगेको छु । मैले मेरा कुरा इमानदारीपूर्वक राखि नै रहेँ, त्यहाँ उनी चिनियाँ र अङ्ग्रेजीमा रिसाइरहेकी थिइन् नै। मेरो काम अझै थियो चिनियाँ भाषामै दुई चार कुरा भन्नू, सम्झाउनू। मेरो केही नलागेपछि म चुप भएँ। कालो बादल मडारिएको आकाशजस्तै प्रस्ट अँध्यारो भएको थियो मेरो अनुहार। तत्काल म के झुट बोलूँ, या त्यस्तो खुरापाती सोचूँ। चुपचाप फर्किएँ। त्यसदिन पिबिएलका साथीहरूसँग बेलुका सानो प्रस्तुति पनि दिनु थियो। तोङमन पुगेर उनीहरूलाई भेटेँ र सानो कागजमा रहेको अङ्ग्रेजी कवितालाई केही बेर भट्याइयो। हिप्पोक्रेट्स सपथको बारेमा लेखिएको कविता हुनुपर्छ। हिप्पोक्रेट्सलाई ‘सिपोखलाँती’ पढ्नुको मजाचाहिँ बेग्लै थियो। तर यता त्यो घटना मेरा मस्तिष्कमा समुद्री छालजस्तै ठोक्किरहेको थियो। मेरो मन त्यसै आकुलव्याकुल भएको थियो, म त्यो गालीभन्दा अरु केही सम्झिन सकिरहेको थिइनँ। बेलुका पिबिएल कक्षामा गएर त्यो कविता वाचन गर्‍यौं, फर्कियौँ। तर मन अशान्त थियो, के गर्ने होला भनेर सोचिरहन्थ्यो। ‘तिमी त छात्रवृत्तिको विद्यार्थी, यस्तो किन ? टिकट परिवर्तन गर’ उनले पटकपटक भनिन्। यो पक्षमा म छँदै थिइनँ।

दोस्रो पटक एउटा नयाँ सोच आयो- बिदा मगाइको एउटा चिठी अर्को हामी पढ्ने लाओसिरबाट ल्याउने। अनि म गएँ त्यताका हाम्रा मुख्य लाओसिरकोमा। तिनीमाझ मैले आफ्ना कुरा राखेँ। उनले नेपालबारे जिज्ञासा राखे। चिनियाँ भाषामा आफ्ना कुरा राखेँ। ती साह्रै मिजासिला मानिस थिए। हँसिलो मुद्रामा मेरा कुरो सुनिदिए, अनि चिठी तयार गरिदिए। जाने बेलामा फोटो खिचाएँ।अनि छेवैका अर्का लाओसिर पनि मेरा बारे जिज्ञासा राख्दै थिए । यस केटाको चिनियाँ भाषा राम्रो रै’छ त। अनि मुख्य लाओसिर मेरा कुरा गर्दै थिए। म बिस्तारै निस्किएँ, मलाई अब अर्को दुई हस्ताक्षरको खाँचो थियो। मनमा एउटा नयाँ खुसीले प्रवेश पाएको थियो। तर त्यो खुसी पनि लामो समय टिक्न पाएन। यो चिठीले काम गर्दैन भनेसि मैले आएर हाम्रा डा. दिलिप दाइलाई सुनाएँ। मनमा आँधी चलेको छ। अनुहारमा चिन्ताको छनक प्रस्ट पाइन्थ्यो। उहाँले ‘तिमी लि लाओसिरलाई भन एक पटक’ भन्नुभयो। मैले अनि चिनियाँ लामो चिठी लेखेँ। पठाउनुअघि एउटा डर थियो, के भन्ने होला भनेर। किनकि ती दुवै लाओसिर एकअर्काका राम्रा साथी हुन्। अनि म्यासेज फर्कियो- ‘चिन्ता नमान्नू । एउटा गोप्य कुरो छ। तर, तिमी मेरो प्यारो विद्यार्थी भएकोले मात्रै भन्दै छु। जुन कारण देखाएर तिमीले चिठी लेख्यौ त्यही कारण अरूले पनि देखाएका छन् र यो उति राम्रो कारण होइन। बरु यसका लागि तिमी घरायसी कुराहरूलाई कारणका रूपमा देखाउन सक्छौ।’ अनि मैले लाओसिरलाई धन्यवाद दिएँ। लाओसिरचाहिँ हामीलाई भाषा पढाउँदाताकाकी प्रमुख पनि थिइन्। म राम्रो विद्यार्थी भएको कुरो उनलाई ज्ञात भएकै कारण पनि उनले मलाई सहयोग गरेको बताइन्। पछि अरु धेरै विषयमा गफ गर्‍यौं। मन अति नै हल्का भएको थियो । अबचाहिँ मेरो काम सफल भयो भन्ने कुरामा म ढुक्क थिएँ।

अर्को दिन म फेरि नयाँ चिठी लेखेर कार्यलय पुगेँ। दोस्रो लाओसिरको सहायता लिनुपर्दा मलाई अलिकति अप्ठेरो महसुस भएको थियो। मलाई धेरै केही नभनी छिङ चियाको फारम भर्न लगाइन्। त्यहाँबाट निस्केसि लाग्यो- ‘अब सबै समस्या दूर भयो।’ अनि अर्को समय फिजिक्सको परीक्षा सकाएर म मुख्य लाओसिरकोमा गएँ। उनी मेरो दौडाइ र मैले पाएको दुःख देखेर दङ परेका थिए। उस्तै मुद्रामा मलाई त्यहाँ पनि सहयोग गरे। यता काम सकाएसि म कार्यलय खुलेको दिन भाषा पढाइने कलेजमा गएँ। हात्ती छिर्‍यो, पुच्छर अड्कियो भनेजस्तै भइदियो। अन्तिममा यो दुई दिनको बिदाभित्र विश्वविद्यालयमा प्रवेश पाइसक्नुपर्छ कि त सबै परीक्षा पास गरेको हुनुपर्छ भन्ने दुई माग तेर्सिए। ऐलेसम्म नतिजाफल सार्वजनिक भएको छैन, हुने दिन निस्किनुछ। अब झन् दोधारमा परियो। नतिजा निस्किए पनि ७ वटा परीक्षामा एउटा केमिस्ट्रीको डर मनमा थियो। त्यो  ‘सजिलो’ प्रश्नको ‘गाह्रो’ नतिजा आउने हो कि भन्ने डरले मनमा अर्को डर जन्माइदियो। यसका लागि फेरि तेस्रो पटक म मुख्य लाओसिरको कार्यलयमा  पुगेँ। तेस्रो पटक पनि त्यही समस्यामा पुगेको देखेर उनी आफै आजित भए, खुइय गर्दै लामो सास फेरे। अनि मैले आफ्ना समस्या सुनाएँ। उनले फोन लगाए, समस्याबारे बुझ्न खोजे। अनि मलाई ती समस्या बिस्तारमा बताए। ‘म के गरुँ त लाओसिर’ मैले भनेँ? उनीसँग पनि ‘यही गर्नु’ भन्ने उत्तर नभएसि मलाई ‘अझै १ दिन प्रतीक्षा गर्नु’ भनेँ। त्यो एक दिन कुर्न मेरा लागि सानो कुरो थिएन। उसै पनि म २ दिने बिदाको लागि १७ औँ दिनदेखि दौडिरहेको थिएँ। तैपनि मान्छेको आस त हो। कुर्न थालेँ।

पछि मैले अर्को चिठी लेखेर बुझाएँ । त्यो दुई दिन बिदा पनि मागिनँ। बरु उल्टै १ हप्ता अघि फर्किने भएँ। अनि सबै लाओसिरहरूलाई धन्यवाद दिएँ। आखिर मैले त्यहाँ कालो चित्र देखेँ, सामान्य कुरामा पनि अनेक समस्याले ग्रस्त ठाउँहरू देखेँ। मूलतः मुख्य लाओसिरसँगका प्रत्येक भेट गजब रहन पुगे । अरू  लाओसिरको रूखो व्यवहार देख्दा पनि यी लाओसिरले मसँग जुन स्तरले संवाद गरे त्यो साच्चै विशेष रह्यो। यस्तै एक समय थियो। एक जना भाइको फि तिर्नुथियो। म बाटामा जाँदै गर्दा यिनले बोलाए। मलाई उनको कारबाट अर्को अफिससम्म पुर्‍याइदिए। लाओसिर भएर पनि हामी विद्यार्थीप्रतिको यस्तो दयाप्रति म साँच्चै पग्लिएँ। यिनै लाओसिरले भनेका थिए, ‘च्यामुसीमा नेपालीहरूको पढाइ साँच्चै राम्रो छ, चिनियाँ भाषा पनि राम्रो बोल्छन्।’ अझै मलाई हान्ज पढाउने लाओसिरसँग बिहान गफ भयो, उनी मसँग केही जिज्ञासा राख्दै थिइन्। ‘सबै विषय पास हुन्छौ होला है तिमी त?’  ‘लाओसिर, केमेस्ट्री भन्न सक्दिनँ, बाँकी ७ वटा त मजाले पास हुन्छु’ मैले भनेँ । ‘मूल कुरो चिनियाँमा पढ्न सजिलो छैन’ उनले मलाई सम्झाइन्।

मूलतः यति साह्रै दुःख पाइसक्दा पनि मेरा मनमा कुनै ग्लानी भएन  किनभने यी हरकर्म इमन्दारिताले गरिएका थिए । उद्देश्यप्राप्तिका लागि कुनै झेल गरिएको थिएन। भन्न त मैले ‘धेरै सोझो बन्न नहुने रहेछ’ भनेर पनि भनेँ, ‘जङ्गलमा पनि सोझा रूख नै पहिले काटिँदा रहेछन्’ भनेँ तर त्यसो हुन्छ भन्दैमा आफ्नो काम इमान्दारीपूर्वक गर्न छाड्नु त भएन । मलाई अझै सरल, विनम्र र अनुशासित भएर काम गर्नुपर्छ भन्ने प्रेरणा मिलेको छ। एक व्यक्तिले सबैलाई एकै ठाउँमा राखेर तौलनु, मूल्याङ्कन गर्नु पनि हुन्न रहेछ। ती दुःमा पनि कोही न कोही साथ दिने मानिसहरू हुँदारहेछन् । तिनीहरू ‘आत्तिनु हुँदैन’ भनेर सम्झाइरहँदारहेछन् । यसरी त्यसताका २ दिने बिदाका लागि १७ दिन खर्च हुँदा पनि मलाई जीवनमा एउटा नौलो अभ्यास गरेझैँ लागिरह्यो। साधुवाद!