February 8, 2025, Saturday
२०८१ माघ २६, शनिबार

कतिपय देखेकै कुरा पनि सत्य हुँदैन

एक दिन एक प्रसङ्गमा बिरबलले भनेछन्, “कतिपय आँखैले देखेका कुरा पनि सत्य हुँदैनन् ।” अकबरले “प्रमाणित गर” भन्दा उनले “मौकामा गरूँला, सरकार” भनेछन् ।

एक रात राज्य व्यवस्थासम्बन्धी लामो कुराकानीपछि निकै अबेला मन्त्रीहरूसँग छुट्टिएर सुत्न जाँदा भित्तापट्टि कोही निदाइरहेको र छेउपट्टि रानी सुतिरहेको देखेर अकबर जिल परेछन् । दुवै मस्त निदाइरहेका । अलिकति ओढ्ने हटाएर हेर्दा उनको कोठा सफा गर्ने, ओछ्यान लगाउने, पर्दाहरु मिलाउने सेवक अलि बक्स रहेछ । उनले तरवार झिकेछन् । तर झट्ट बिरबलको भनाइ ‘आँखैले देखेका पनि कतिपय कुरा सत्य हुँदैनन्’ सम्झिएछन् र तुरुन्तै बिरबललाई झिकाएछन् । देखेर चकित बिरबलले राजालाई ढोकाको चेपमा लुक्न लगाएर रानीलाई ब्युँझाएछन्, “साम्राज्ञी सरकार, सम्राटसँग तुरुन्तै भेट गर्ने काम पर‌्यो । उठाइदि बक्सिायोस् न ।”

रानीले कुममा हल्लाएर भनिछन् “सम्राट, उठिस्योस्, बिरबल भेट्न आएका छन् ।” ओढ्ने फालेर जो उठ्यो ऊ त खानसामा अलिबक्स पो रहेछ ! रानी तीन छक्क पर्नु स्वाभाविक थियो । उनले खाटबाट ओर्लिंदै कम्मरबाट कटार झिकिछन् ।

उसले पनि स्थिति थाहा पाउनेबित्तिकै डरले थरथर काम्दै भुइँमा झरेर घुँडा टेकेछ “सरकार, माफ पाऊँ !”

बिरबलले अगि सरेर रानीलाई सोधेछन् “सरकार कसरी यस्तो भयो ?” उनको मुख रातो न रातो भएछ । उम्लिँदो आक्रोश रोकेर उनले भनिछन् “म सकिला बेगमसँग छुट्टिएर आउँदा सम्राट सुकला भैसकेको रहेछ । बत्ती घटाएर पल्टिएँ । म के थाहा पाउँ सम्राटका ठाउँमा यो सुतेको भन्ने ?”

अनि उनले अलिबक्सलाई भनेछन् “तैँले कसरी यहाँ सुत्ने आँट गरिस्, अलिबक्स ?” उसले भकभकिँदै भन्यो “स–सरकार सधैँ पनि ओछ्यान मिलाइसकेपछि मलाई यहाँ सुत्दा कस्तो आनन्द हुँदो हो भन्ने विचार आउँथ्यो र सुतूँसुतूँ लाग्थ्यो । आज भने सुतिहेर्ने मन थाम्नै सकिँन । पल्टिएको मात्र थिएँ निदाइगएँछु । ठुलो गल्ती भयो भयो सरकार, ज्यान बकस पाऊँ ।”

तुरुन्तै हातमा नाङ्गो तरवार लिएका अकबर निस्किएर भनेछन्, “धनयवाद बिरबल, अब तिमी जाऊ । यो अलिबक्सलाई पनि लैजाऊ । यसलाई पच्चिस कोर्रा लगाएर छोड्दिनू । भोलि भेटुँला ।”

*****

prakashmanidahal@gmail.com