चाबी

टिनिनिनी ! गणित विषय सक्किएर विज्ञान विषयको घण्टी लाग्यो । परीक्षा नजिकै आइरहेकाले हाम्रो ध्यान पढाइमा थियो । गुरुआमा पढाइरहनुभएको थियो । कक्षा सकिने बेलामा पालेदाइ मेरा घरको चाबी माग्न आउनुभयो । पढाइमा ध्यान भएकाले मैले केही नसोची पालेदाइलाई चाबी दिएँ ।
विज्ञान कक्षा सकियो । सामाजिक कक्षा सुरु भयो । गुरुआमा चोरीसँग सम्बन्धित पाठ पढाउन थाल्नुभयो । गुरुआमाका कुरा सुन्दा मलाई डर लाग्न थाल्यो । मलाई चाबीको चिन्ताले सताउन थाल्यो । पालेदाइले चाबी किन माग्नुभएको होला ? उहाँले चाबी कसलाई दिनुभयो होला ? कोही बदमासले त चाबी लिएन ! मैले पनि केही नसोधी बेक्कार चाबी दिएछु । मैले सोधेर मात्र चाबी दिनुपथ्र्यो । भरिसक्के चाबी माग्ने मान्छेलाई भेटेर नै दिनुपथ्र्यो । ला ! मैले त ठुलै गल्ती गरेछु ।
मेरो मुटु जोड जोडले ढुकढुक गर्न थाल्यो । पढाइमा ध्यानै गएन । कतिबेला विद्यालय छुट्टी भयो त्यो पनि मलाई थाहा भएन । एकैचोटि घर पुगेपछि म त अत्तिएँ । ढोका ह्वाङ थियो । म डराउँदै भित्र पसेँ । भित्र कोही छ कि भन्ने डरले मलाई सतायो । छाती फोडेर मुटु नै बाहिर निस्केला जस्तो भयो । सास फेर्न गाह्रो भयो । ऐठन भए जस्तो भयो । म आँट गरेर बिस्तारै बैठक कोठामा पुगेँ । मैले ल्यापटप राख्ने टेबल हेरेँ । त्यहाँ ल्यापटप थिएन । म मेरा कोठामा पसेँ । मेरो माटाको खुत्रुके झिरिप्प फुटेको देखेँ । त्यहाँ एउटै पैसा थिएन । खुत्रुकेका चोइटा मात्र देखेँ । आमाले गरगहना राख्ने दराजको ढोका पनि खुल्लै थियो । लुगाहरू छरिएका थिए । काकाले मलाई विदेशबाट ल्याइदिएका राम्रा राम्रा लुगा पनि मैले देखिनँ । मामाले भरखरै विदेशबाट मलाई ल्याइदिएको ट्याब पनि राखेका ठाउँमा थिएन ।
मेरो शरीर लल्याललुलुक भयो । चिटचिट पसिना आयो । म थचक्क बसेर रुन थालेँ ।
‘सन्ध्या ! ए सन्ध्या !’ कसैले मलाई घच्घच्याउँदै बोलायो ।
म उठ्दा आँखाभरि आँसु रहेछ । म त कक्षामै डेस्कमा घोप्टे मुन्टो लगाएर आँसु झारिरहेकी रहेछु । मलाई मेरी साथी श्रेयाले बोलाएकी रहिछ ।
मैले श्रेयालाई सबै कुरा सुनाएँ । ऊ गम्भीर देखिई ।
उसले भनी, ‘यसरी आत्तिएर हुँदैन । जाऊँ पालेदाइलाई सोधौँ । सबै कुरा थाहा भइहाल्छ ।’
मैले उसका कुरामा सहमति जनाएँ । हामी हस्याङ्फस्याङ गर्दै पालेदाइलाई भेट्न गयौँ ।
मैले लामो लामो सास तानेर स्याँ स्याँ गर्दै पालेदाइलाई सोधेँ, ‘पालेदाइ ! पालेदाइ ! मेरा घरको चाबी कसले लग्नुभएको हो ?’
पालेदाइले भन्नुभयो, ‘खै एक जना बुबा आउनुभएको थियो । उहाँले नै माग्नुभयो । तिम्रो हजुरबा होला जस्तो लाग्यो ।’
मैले सोचेँ, ‘मेरा एक जना हजुरबा त गाउँमा हुनुहुन्छ । उहाँ अहिले काठमाडौँमा आउनुभएकै छैन । ममलका हजुरबा काठमाडौँमै हुनुहुन्छ तर उहाँलाई किन हाम्रो चाबी चाहियो होला ? चाहिहाले पनि मलाई भेटेर नै लानुपर्ने । अब हजुरबालाई फोन गर्नुपर्ला ।’
म फोन गर्न अफिसमा गएँ । मलाई हजुरबाको फोन नम्बर थाहा थिएन त्यसैले मैले बुबालाई फोन गरेँ ।
‘हेलो’
‘हजुर, को बोल्नुभएको ?’
‘बुबा, म सन्ध्या बोलेकी । हजुर कहाँ हुनुहुन्छ ?’
‘नानी म त घरमा छु ।’
‘चाबी ! हजुरसँग चाबी थियो त ?’
‘अघि म चाबी माग्न आएको होइन त ?’
‘ए हजुरले पो चाबी लग्नुभएको हरेछ । मलाई त कसले चाबी लग्यो भनेर कस्तो चिन्ता भइरहेको थियो । मलाई भेटेर लग्नुभएको भए पनि हुन्थ्यो नि ।’
‘हो नि छोरी तर हतारमा मेरो त होसै भएन । तिमीलाई धेरै चिन्ता भयो होला है । मलाई माफ गरिदेऊ यस पटकचाहिँ । अबदेखि म तिमीलाई भेटेर नै चाबी लिउँला है ।’