January 19, 2025, Sunday
२०८१ माघ ७, सोमबार

वारियर्स इन दी हिमालयज !

हाम्रो यात्रा निक्कै छोटो समयमा सकेर हामी फर्कँदा  विदेशी पदयात्रीले दिएको उपनाम ! पर्यटकहरूले ६/७ दिन लगाउने यो पदयात्रा ३ रात ४ दिनमा सकेर गोरुतिहारका दिन हामी घर फिरेका थियौं।

घुमाइ गरेर गन्तव्यमा मात्र पुग्ने उद्देश्य भएका धेरै हुन्छ तर यात्रालाई जीवन मानेर जीवनको सार्थकता खोज्नेहरू निक्कै कम हुन्छन्, भेटिन्छन्। धेरै साथीहरू ट्राभल या टुरमा जाने भन्छन् तर यथार्थमा धेरैले यात्रा गर्दैनन्, घुम्छन् मात्र ! यात्रा गर्दा हिमाल, डाँडा-काँडा, लेकबेंसी, पाखा पखेरा, हिमाल, कुना कन्दरा, मात्र हेरिन्न त्यहाँको परिवेशमा हुर्केका मानिसहरूको जीवनशैली, सुख-दु:ख, मूल्यमान्यता पनि नजिकबाट नियालिन्छ, महसुस गर्ने प्रयत्न गरिन्छ। घुम्नेहरूको उद्देश्य रमाइलो गर्ने भन्ने मात्र हुन्छ, बस् कहाँर  पुग्ने हो अन्तिम गन्तव्य त्यहाँ पुग्छन्, आउँछन्, फर्कन्छन्, बाटाका कठिनाइ, सजिलापन कुनै तिता-मिठा फल बन्दैनन् तर जो यात्रा गर्दछन् ती क्षण-क्षण बाँच्दछन्, तिनका लागि ती जीवन भोगाइका सँगालो बनिदिन्छन्, जीवन सार्थकताको मोड बनिदिन्छन्।

यात्राको ४८ घण्टा:
पहिलो दिन हामीले हाम्रो यात्रा चनौटे (१,०२५ मि) बाट कुटुमसाङ्ग हुँदै थारेपाटीमा (३,६९० मि)  गएर रात बितायौं। माङ्गेन गोठ (२,९८५ मि) बाट उकालो चढ्दा अँध्यारोले आफ्नै प्रभाव पार्न थालिसकेको थियो। कुटुमसाङ्गको यात्रामा अघि बढ्दै गर्दा हामीले बँदेललाई पनि आफ्नै अगाडि देख्यौं, हामी अत्तालिएर भाग्यौं। मृत्युसँग छट्पटिएको रहेछ। तर पछि धेरै बेरसम्म त्यत्तिकै ढलेको देखेर मनमा दया आउँदाआउँदै पनि छोडेर हिँड्न विवश भयौं। यात्राको क्रममा  साँझ पर्दै जाँदा, पानी पनि छिट्याउन थाल्यो, निक्कै चिसो अनुभव भएसि हामीले बाटैमा साना साना सुकेका दाउरा बटुलेर आगो ताप्यौं। पानी रहेसँगै उकालो लाग्यौं। उकालो चढदा रातले ढपक्क छोप्यो, हामी पनि रातमा आधा घण्टा जङ्गलमा बाटो भुलिँदा जङ्गलसँगै प्रीति गाँस्न पुगेछौं। धन्न दैव दाहिना भएछन् क्यार हाम्रो पाँच जना टोली सकुशल जङबाट थारेपाटी पुग्यौं, ओहो ! हामीलाई अहिले सम्झँदा कहाली लाग्छ, मन कुटुक्क खान्छ। अनि बिहानै जुगल, रोल्वालिङ हिमालहरूको दर्शनसँगै गोसाइँकुण्डको बाटो ततायौं। उकाली ओराली गर्दै सानो घोप्टे, फेदी  हुँदै लौरीबिना भञ्ज्याङ कट्नु अगावै हामीलाई सूर्यले प्रत्यक्ष दर्शन छाडछन्, बादल अनि कुहिराहरू बेगले आएर हाम्रा बाटाहरू चिसा अनि अँध्यारा बनाइदिन्छन्, लेकाली हावाले बल्ल आफ्नो ठाउँ लिन थालेको महसुस हुन्छ। ४,४०० मि पुगेसि प्रत्येक मि चढन यस्तो गार्‍हो भयो कि मानौं हामी यो यात्रा हाम्रा लागि गर्दैछौं या अरू कसैको लागि? सोच्न बाध्य बनायो। निक्कै कठिनाइको साथ हामी सूर्य हिमालको काखसँगै रहेको सूर्य कुण्ड(४,६१० मि) बाट लौरीबिना पास हुँदै गोसाइँकुण्डको (४,३८० मि) यात्रा गर्न सफल भयौं, हाम्रो खुसीले सीमा भनेन। अनि रात लेक्साइडमा बिताएपछि बिहान झिसमिसेमै हामीले मेलम्चीघ्याङ (२५६० मि)  पुग्ने अठोटको साथ यात्राको सुरसार थाल्यौं। फर्कँदा हामी रमाइलो गर्दै, नीला नीला अनि छ्याङ्ग खुलेको आकाश हेर्दै फेदीसम्मको यात्रा गर्यौं। फेदीभन्दा पारीको डाँडालाई घोप्टे डाँडा भनिदोरैछ जहाँ प्लेन दुर्घटनाबाट १०० भन्दा बढी यात्रुको दु:खद निधन भएको कुरा फ्रेन्च पर्यटक गाइड दाइले सुनाउनुभयो। हामीले प्लेनका केही टुक्रा पनि हेर्यौँ, अझै पनि प्लेनका अवशेष भेट्न सकिने रैछ।लामो यात्रापछि पुनः थारेपाटी हुँदै मेलम्चीघ्याङ्ग (२,६०० मि) मा आएर रातमा विश्राम लियौं। मेलम्चीघ्याङ्गबाट बिहानै ओरालो झरेर मिलारेपाको दर्शन गर्दै मेलम्ची सुरुङ्गको अवलोकनसँगै हामी हाम्रो घरमा आएर यात्रालाई विश्राम दिने प्रयत्न गर्छौं, तर ती विश्राम कहाँ लिन्थे र? ती त हाम्रा मन मस्तिष्कमा सागरका तरङ्गझैं लहर लहर ल्याएर जीवन्त बनिदिन्छन्, विश्राम होइन गतिशीलताको प्रखर नमुना बनिदिन्छन्।

विदेशीसँग हाम्रो भलाकुसारी:
बाटोमा नेपाली यात्री कोहि भेटिएनन् बरु इजरायली, अमेरिकिन, बृटिस, अस्ट्रियन, इटालियन, भारतका पर्यटकहरूसँग बाटोको भेटमा केही पलहरू गफमा बितायौं। ती सबैलाई हिमाली परिवेशले लगाएको मोहनी सम्झनयोग्य थिए, तीभन्दा पनि नेपालीको मुस्कान, सरलता र आतिथ्य सत्कारको मौलिक शैलीको प्रभावले होला उनीहरू नेपाली जातिको मुक्तकण्ठले प्रशंसा गर्थे। यात्रामा हामीले रतनलाल विश्वासजस्ता विश्व कीर्तिमानी हिमाल यात्रा गर्ने व्यक्तिलाई पनि भेटघाट गर्ने सुवसर पनि पायौं। हिमालका कुनाकन्दरामा अधिकांश समय बिताएका रतन सर उमेरले ७८ टेकेका रैछन् भने हिमाल यात्रा २५ औं पटक रैछ, हामी चकित पर्यौं, हिमाललाई माया गर्ने मानिसहरू त हिमालसँग मित नै पो लगाइसकेका रैछन्। बाटामा बढी मात्रामा इजराएली पर्यटक भेटिए, उनीहरू यी रसिला भूमि, हिमाली भूगोलले निक्कै आकर्षित रहेछन्। इजरायलका धेरै साथीहरू आफ्नो देशमा मरुभूमि मात्र भएको कुरा सुनाउथे, भेटिएका धेरै मध्येले नेपाल भ्रमण ३/४ औं पटक गरेर पनि तृष्णा  नमेटिएको प्रसङ्ग धक खोलेर भन्थे, हामी पनि चाख मानी मानी सुन्थ्यौं।

फर्कदा मिलारेपाको दर्शन:
बौद्ध तान्त्रिक परम्परामा मिलारेपाको स्थान विशेष छ। केही वर्षअगाडि यो तथ्य मैले दक्षिण कोरियाली नागरिक धारानिचेलाई घुमाउँदा थाहा पाएको थिएँ।  हामी मेलम्चीघ्याङ बाट फर्कँदा मिलारेपाको गुफा हुँदा आएका थियौं। भूकम्पले असर गरेको गुम्बाको पुनर्निर्माण पछिको पूजाको शुभ साइतमा हामी पुगेका थियौं। मिलारेपा घ्याङका देवताहरू अचेल सहरियाझैं कङ्क्रिटमा बस्न थालेछन्। भुइचालोबाट घायल बनेको गाउँहरू साच्चै पर्यटकीय क्षेत्र हुन् भन्न पनि लाज मान्नु पर्ने स्थिति छ, निक्कै दु:खद! ह्योल्मो संस्कृतिभित्र पर्ने, ती सयौं गुम्बाहरूको अस्तित्वबारे के भन्ने, बारे झुकाव नभएका पनि होइनन् यद्यपि राज्यको उपस्थित न्यून देखिनु अनि भूकम्पप्रतिरोधको नाममा अत्याचार गर्नु, संस्कृति निमिट्यान्न पार्न लाग्नु, नियोजित लाग्छ!

निष्कर्ष:
गोसाइँकुण्ड यात्रासम्म हामी बिताएको त्यस ४८ घन्टे यात्रामा अनुभूति गरेको हिमाली परिवेश, नीला आकाश, सेता हिमाल, वेगका कुहिरा, चिसो अनि कठ्याङ्रिदो हावा, सुगन्धयुक्त वनस्पती, अग्ला अग्ला धूपिका रुख, चट्टानी पहाडबाट निस्किएका झरना, अनगिन्ती पहाडहरू, पहाडका तरेलीहरू, उकाली ओराली बाटाहरू, कुण्ड कुण्ड भरिएका पानीहरूलगायत आँखाले देखेर मन-मस्तिष्कले लेख्न नभ्याएका हजारौं अनुभूतिहरूले हामीलाई हाम्रो यात्रा सबैभन्दा अविस्मरणीय बनाउन पुग्यो। सम्झनालाई लेखाइमा पोख्नु, कसैलाई हाम्रो यात्रा बारे सुनाउनु निक्कै गाह्रो काम हो जस्तै लाग्छ। देखेको आधा पनि व्यक्त गर्न गाह्रो छ। यात्राहरू बोलिरहेका हुन्छन्, यात्रीहरूले फरक ढङ्गले त्यसलाई ग्रहण गर्ने मात्रै त हो।  यो यात्रा  हिँडाइमा मात्र सीमित भएन, हाम्रो जीवन भोगाइका तरेलीहरूसङ्गग मेल पनि खायो भलै यो संयोग नै किन नहोस्।

`वारियर्स इन दी हिमालयज !´
अन्तिममा हामीलाई `वारीयर्स इन दी हिमालयज´ भन्ने नाम दिएर हाम्रो यात्रालाई अझै उत्साहित गर्ने सम्पूर्ण विदेशी साथीहरूलाई नमन ! ५ औं पटकभन्दा बढी नेपाली हिमाल चहारेका क्यानडाका पर्यटकले हामीलाई यस्तो उपनाम दिए। फेदीबाट हामी उकालो लाग्दै गर्दा ती पर्यटकलाई भेटेका थियौ। अरू पदयात्रीहरूसँग पनि साक्षत्कार हुँदा हामीलाई हाम्रो यात्रा छोटो समयमा गन्तव्यमा पुगेर फर्कँदा धेरैले लख काटे, ओहो भन्दै मुक्तकण्ठले हाम्रो यात्राको कथा गाए।