December 9, 2024, Monday
२०८१ मंसिर २४, सोमबार

बन्दाबन्दी : एक पीडा एक अवसर

खेल्न निस्कूँ भने साथीसाथी छोइने डर । बचेर खेल्न गाह्रो हुँदोरहेछ । मास्क लगाएर खेल्न त सास बढेका बेला झन् गाह्रो हुनेरहेछ . . .

“आदरणीय हजुरबा,

हिजो अलिकति पापा खाइयो— बाबाको गाली । भित्तामा झुन्डाएका फोटो र बाबाका सम्मानपत्र झिकेर पुछ्ने विचारले टेबलमा चढेर फ्रेम झिक्दै भाइलाई भुइँमा लहरै ठड्याउन भनेँ । एकपल्ट कतै अल्झिएर ऊ लड्यो, एउटा फ्रेम फुट्यो र बाबाको गाली अघाउँजी खाइयो । फ्रेम फुट्यो । धन्य अरू बिगार भएन ।

खासमा यो बन्दाबन्दीले हो नत्र स्कुल गइन्थ्यो । गृहकार्य हुने थियो, स्कुलमा पनि र बिहानबेलुका पनि खेलिने थियो । कोही न कोही पाहुना आउनुहुन्थ्यो । चियाखाजामा आमालाई सघाउँदा र टिभी–मोबाइल गर्दा समय गैहाल्थ्यो । थकाइ पनि लाग्थ्यो । यतिखेर केही छैन ।

 खेल्न निस्कूँ भने साथीसाथी छोइने डर । बचेर खेल्न गाह्रो हुँदोरहेछ । मास्क लगाएर खेल्न त सास बढेका बेला झन् गाह्रो हुनेरहेछ । फेरि बाबाआमा डराउनुहुन्छ । ढुक्क हुँदैन र खेल रमाइलो हुँदैन ।

किताब पनि घरमा भएका पढिसकेँ । महान् जादुगर ओज, हिँडाइ, ह्वाइटफ्याङ, प्रकृतिको पुकार, मटिल्डा, डेमोक्रेटिया, काली सुन्दरी, विश्वका उत्कृष्ट एक्काइस कथा, विश्वका भावनात्मक चालिस कथा पढिसकियो । अब के गर्ने ? छतमा गयो, कोठामा आयो, ओल्लो र पल्लो कोठा गर्यो, टिभी र मोबाइलमा अलमलियो, बाआमालाई ‘ए, यता नजा, उता नजा, यो नगर्, त्यो नगर्’ भनेर कराइरहने पार्यो अनि खायो, सुत्यो, अनि उठ्यो, झ्यालबाट बाहिर हेर्यो बस्, पिंजराको सुगाजस्तै लाग्छ ।

म त किचनमा आमालाई सघाउँछु पनि तरकारी पखाल्न, केलाउन, काट्न, पकाउन, खाना बाँड्न, सफा गर्न, लुगा धुन । भाइको त त्यति पनि छैन । अनि केही न केही किचकिच, केही न केही गाली र झगडा भैहाल्छ । के गर्ने ? यत्तिकै हो ? कहिलेसम्म ?”

हजुरकी नातिनी उरी

×   ×   ×   ×   ×   ×   ×   ×   ×   ×

प्यारी नातिनी उर्मिला,

तैँले फेसबुक मेसेन्जरमा पठाएको पत्र पाएँ । भाषाको शुद्धता, लेख्नुपर्ने कुराहरूको शिष्ट र सरल शैलीमा क्रम मिलाएर लेख्ने तथा थोरैमा धेरै भन्ने कला देखेर धेरै खुसी लाग्यो । आठ कक्षा पढ्दै गरेकी मान्छेको सम्हालिएर आफ्ना कुरा राख्ने यो क्षमताको लागि हार्दिक बधाई !

हो, बन्दाबन्दीले पार्नु पीर पारेको छ । तर मान्छेले गर्नसक्ने जति त गर्ने हो नि । नसक्नेमा त सहने, पर्खिने र जेजस्तो परिआउँछ त्यसको सकेसम्म सही ढङ्गले सामना गर्ने हो । त्यो गरिराखिएकै छ, जसो होला । त्यसो त यो पीडा पनि हो सदुपयोग गर्नसके अवसर पनि ।

बाबाले गर्नुभएको गाली अलिक दुखाउने नै भएर होला तैँले पत्र लेखेको । यसको पनि सायद उपाय छैन । बाबाआमा र उहाँहरूको सोच–स्वभाव सँगै हुन्छ । त्यसैले स्थितिअनुसार चल्नेबाहेक उपाय हुँदैन । तैँले ‘हजुरको कुरा सकियो भने म सोरी भनूँ भनेको’ भनिस् होला ।

मान्छे भएपछि केही नगरी सकिँदैन तर के गर्ने, किन गर्ने, कसरी गर्ने जस्ता कुरा महत्वपूर्ण हुन्छन् । काममा सकेसम्म सावधानी गर्नुपर्छ तैपनि कतिपल्ट तलमाथि भैहाल्छ । सहनु, खप्नु, सुधार्नु पर्छ । तैँले गरेको यो काममा मलाई लाग्छ तैँले बाआमालाई सोध्नुपर्थ्यो । त्यसोभए यसको जबाफदेह तँ हुन्नथिस् । अर्को, सायद उहाँहरूले सघाउनुहुनेथियो र त्रुटि हुने थिएन । आइन्दा याद गर्नू ।

अर्को कुरा, यतिखेर बन्दाबन्दी भएकाले त्यसलाई दोष लगाउन पाइयो । नभएको बेला भए अरू केहीलाई दोष लगाइन्थ्यो होला । लाग्छ अर्कालाई वा केही न केही कुरालाई दोष लगाउने एउटा बानी हो भन्ने ठान्छु मचैँ र सबै दोष आफैले लिने गर्छु कारण त्यसले हात समातेर गल्ती गराएको त हुँदैन । काम गर्दा जहिले पनि झमेला, असजिला, अमिल्दा कुरा त केही न केही अवश्यै हुन्छन् । ती सबका बाबजुद, ती सबलाई बचाएर, ध्यान दिएर, मिलाएर गर्नु त काम हो, होइन त ?

अर्को, एउटा काम गर्ने त ? भोलि बेलुकासम्ममा तैँले पढेको कुनै एक किताबका बारेमा ३०० शब्दसम्ममा एउटा समीक्षा पठा न । हामी एउटा बालसमीक्षा निकाल्दै छौँ । किताबको परिचय सरदर ५० शब्द(लेखक, प्रकाशक, कागज, चित्र र भाषा आदि राम्रो–नराम्रो ठिकै जस्तो लाग्छ), कथाको सार १००(पात्र, घटना र टुङ्ग्याउनी), सन्देश ५० (यसबाट पाइने ज्ञान), यसको प्रभाव ५० (तँलाई कस्तो लाग्यो ?, यसका त्रुटि वा अधुरो आलोच्य पक्ष ५०गरी करिब ३०० शब्द । है त, बाइ ।

सहयोग, सुझाउका लागि सम्झिएकोमा धन्यवाद ।

माया गर्ने हजुरबा

prakashmanidahal@gmail.com