December 9, 2024, Monday
२०८१ मंसिर २४, सोमबार

मृत्युको सहरमा जिजीविषा

 यतिबेला म बसेको सहरमा 
 तातो हावा चलिरहेको छ,
 एउटा देसानको !
 र सहर डरलाग्दो भएको छ।
 मान्छेहरू भटाभट मरिरहेछन्।  
 मान्छेहरू सहर छोडेर दौडिरहेछन्। 
  
 रोगी, कमजोर र उमेर पुगेका 
 पाका मान्छेहरूलाई,
 यो देसानले
 घर-घरमा,चोटा-चोटामा 
 बन्दी बनाएको छ।
 र अस्पतालबाट भटाभट टिप्दै छ। 
  
 मान्छेहरू सहर छोडेर भागिरहेछन् ! 
 मानोगौमा दन्त्यकथाको एकादेशमा 
 दैत्य फेरि बौरिएर उठेको छ। 
 र युगौ युग 
 आफ्नोअतृप्त भोकको ज्वाला 
 आजै निभाउने मनसुवा राख्छ। 
 राजकुमार दिक्पालजस्तो देखिने 
 कोही उनीहरू,
 हावामा तरवार नचाउँदै 
 यताउता असहाय
 हल्लिरहेको हेरिरहेको छु।
 उता, 
 दैत्यको मुटु कपाउने दहाड 
 झनै नजिक सुनिन थालेको छ।
 म देखिरहेको छु,
 मृत्युको कालो छाया 
 सहरमाथि मडारिइरहेको छ।
 म एउटा पाको र रोगी मान्छे 
 मेरो थप आयुको कामना गर्दै 
 यो सहरमा 
 उँघेको निकै दिन भयो। 
 दिनदिनै डरलाग्दो हुँदै गएको 
 यो सहर,
 आजकल, हरेक बिहान 
 मेरो कोठाको झ्यालनेर आएर
 मसित मुस्कुराउने गर्छ-खिसिट्युरी।
 उसलाई कसले भनिदेओस् ?! ' 
 मान्छेलाई जिजिविषा 
 कति धेरै प्यारो हुन्छ...!! ' 

  ( १६ जुन २०२०; नयाँदिल्ली,भारत )