January 18, 2025, Saturday
२०८१ माघ ५, शनिबार

अलादिन

‘नानी ! ए नानी ! अझै सुतेकी छैनौ ?’ आमाले आफ्ना बोठाबाट सुती सुती मलाई कराउनुभयो ।

रती निकै अबेला भइसकेको थियो । म कानमा इयरफोन लगाएर युटुबमा अलादिन हेर्दै थिएँ । प्रदूषणका कारण विद्यालय छुट्टी भएको थियो । त्यसैले म दिनभरि मोबाइलमै रमाउँथेँ ।

आमाले निकै पटक कराएपछि बल्ल मैले सुनेँ ।

‘यो भाग हेरिसक्छु अनि सुतिहाल्छु है आमा ।’ कानबाट इयरफोन झिक्दै मैले भनेँ ।

आमाले मलाई फेरि बोलाउनुभएन । आमा कतिखेर निदाउनुभयो भन्ने पनि मलाई थाहा भएन । म भने अलादिनको दुई सय तेह्रौँ भाग सकेर दुई सय चौधौँ भाग हेर्दै थिएँ ।

रात सुनसान थियो । एकाएक ठुलै हल्लाखल्ला सुनियो । म कान थापेर सुन्न थालेँ । के भएछ भन्दै मैले झ्यालबाट बाहिर नियालेँ । पर डाँडामा आगो हुरहुरी दन्कँदै रहेछ । बाहिर बाटामा छिमेकीहरू खैलाबैला गर्दै रहेछन् । उनीहरू आत्तिएका जस्ता देखिन्थे ।

‘लौन नि ! यो आगो त हाम्रा गाउँमा पनि आउला जस्तै छ ।’ एक जना महिला डराएको स्वरमा बोलेको सुनेँ । यो स्वर चिजेजस्तो लाग्यो तर बोली ठम्याउन सकिनँ ।

ढिलो नगरी म बाहिर निस्किएँ । मान्छेहरू पर बसेर रमिता हेर्दै थिए । बल्दै गरेका आगामा प्याट प्याट आवाज आइरहको थियो । आकाश छुनेगरी आगो दन्किरहेको थियो । आगाको ज्वालादेखि मास्तिर कालो धुँवाको मुस्लो मडारिँदै थियो । जनावारहरू भागाभाग गर्दै थिए । बचेराहरू उड्न नसकेर चिँ चिँ गर्दै थिए । चराहरू अतालिएर आकाशमा उड्दै थिए । तिनीहरूमध्ये केहीलाई आगाका लप्काले छोएर पखेटा जलाएको थियो । म छेउमै उभिएर सोच्दै थिएँ, ‘अब के गर्ने होला !’

त्यतिकैमा एउटा चिल उडेर मेरा नजिकै आयो । ऊ निकै थकित देखिन्थ्यो । उसले थाकेको स्वरमा सुस्तरी भन्यो, ‘साथी ! म बाँच्नलाई माथि माथि उडेँ तर माथि मैले बस्ने ठाउँ नै पाइनँ । बस्ने ठाउँ त यही पृथ्वीमा रहेछ । हाम्रो बासस्थानलाई नै आगाले खरानी पार्ने भयो ।’

पल्लाघरे माहिला बा खोक्दै मेरा छेउमा आए र भने, ‘नानी ! देशैभरिका वनमा डढेलो लागेको छ । त्यसैले वातावरण प्रदूषित भएको छ । के गरी यसलाई जोगाउने होला !’

उहाँका बोलीमा चिन्ता थियो ।

चिलले तपतप आँसुका थोपा खसाल्दै भन्यो, ‘कस्तो पिरो धुँवा ! यस्ता धुँवाले त आँखाको ज्योति नै जान सक्छ । फोक्सोमा पनि नराम्रो असर गर्छ । लु अब ढिलो नगरीकन अलादिन र यसमिनलाई बोलाउनुपर्छ । उनीहरूले नै यो समस्या समाधान गर्न सक्छन् ।’

‘आहो ! मैले त उनीहरूलाई भुसुक्कै बिर्सेछु ।’ मैले मनमनै सोचेँ । अनि दुईटा हात मुखनेर लगेर माइकजस्तो बनाउँदै म जोडले चिच्याएँ, ‘अलादिन, यासमिन !’ तत्काल उनीहरू अलादिनको जादुमय कार्पेटमा उड्दै आए ।

‘यति राती हामीलाई किन सम्झ्यौँ साथी ?’ उनीहरूले एकै स्वरमा भने ।

मैले औँलाले डडेलातिर इसारा गर्दै भने, ‘उः त्यहाँ हेर त । के तिमीहरू यस समस्याको समाधान गर्न सक्छौ ?’

अलादिनले हाँस्दै भन्यो, ‘यति जाबो काम !’

अलादिनले एउटा जादुमय औँठी लगाएको थियो । उसले त्यो औँठी औँलामा रगट्यो र हजारओटा उड्न सक्ने हात्ती बोलायो । हात्ती तुरुन्तै आए । अलादिनले हात्तीलाई वनको डडेलो निभाउने आदेश दियो ।

हात्तीले अलिकति शिर झुकाएर, ‘जो हुकुम मालिक !’ भने अनि उनीहरू उडेर ठुलो नदीमा पुगे । सुँडभरि पानी भरे । त्यसपछि उड्दै डडेलो लागेका ठाउँमा पुगे । एकछिनमै आगो निभ्यो । धुवाँ भने आइरहेको थियो ।

म त्यो दृश्य हेरिरहेकी थिएँ । एउटा हात्तीले ख्याल ख्यालमै मलाई पानी छ्याप्यो । म झसङ्ग भएँ । आछु ! गर्दै म ब्युँतिएँ । त्यो त मेरो सपना पो रहेछ । बिहान अबेलासम्म नउठेकाले आमा मलाई पानी छ्यापेर उठाउँदै हनुहुँदोरहेछ ।