सर्पले डस्यो

सोइना दाहाल
कक्षा: ५
मञ्जरी सेकेन्डरी स्कुल

 ‘नानी, ए नानी छिटो उठ् । गाईभैँसी भोकले कराइरहेका छन् । उठेर घाँस काट्न जा ।’ आमा कराउँदै भान्सातिर जानुभयो ।

बिहान घाँस काट्न जानु सन्ध्याको दैनिक काम थियो । उनी हतपत उठिन् र घाँस काट्न गइन् । उनका साथीहरू पनि घाँस काट्न गएका थिए ।

असारको महिना थियो । राती पानी पर्नाले खेत हिलो थियो । कतै कतै पानी जमेको पनि थियो । पानी जमेका ठाउँमा भ्यागुता ट्वाँर ट्वाँर कराइरहेका थिए । मधेसमा सर्पके डर पनि उस्तै थियो । झन् खेततिर भ्यागुता खान सर्प आउने सम्भावना धेरै थियो । सन्ध्या डराउँदै घाँस काट्न पुगिन् । सम्झना, रविना र विवेक पहिले नै घाँस काट्न व्यस्त भएका थिए । हस्याङ्फस्याङ् गर्दै आएकी सन्ध्यालाई देखेर सम्झनाले भनिन्, ‘सन्ध्या तिमी त ढिलो भइछ्यौ । मैले त तिमी अघि नै आएर भारी पु¥यायौ होला भन्ठानेकी ।’

सन्ध्याले भनिन्, ‘आज निद्राले छाड्दै छाडेन । आमाले कराएपछि मात्र ब्युझिएँ ।’

नजिकै बाँसझ्याङ थियो । आँपका रूख पनि ठिङ्ग उभिएका थिए । मकैबारीमा बाक्लो घाँस थियो । सन्ध्या सर्‍याम सर्‍याम घाँस काट्न थालिन् ।

केहीबेरपछि अचानक सबैले सन्ध्या अत्तालिँदै कराएको सुने ।

‘लौ न नि मलाई त सर्पले डस्यो ।’ सन्ध्या अत्तालिँदै चिच्याउँदै थिइन् ।

सम्झना दौडिएर सन्ध्या भएका ठाउँमा पुगिन् । विवेक र रविना पनि हस्याङ्फस्याङ् गर्दै त्यहीँ पुगे ।

‘मलाई यत्रो सर्पले टोक्यो । सर्प अहिले उः त्यो झाडीतिर भाग्यो ।’ सन्ध्याले एकै सासमा कहालिँदैँ भनिन् । उनको मुख रातोपिरो भएको थियो । उनी अत्तालिएकी थिइन् । उनका खुट्टामा काँटीले खोस्याएजस्तो सानो घाउ देखियो ।

‘नआत्तेऊ सन्ध्या । म छँदै छु नि । हामीले विद्यालयमा सर्पले डस्दा गरिने प्राथमिक उपचारका बारेमा पढेकै छौँ नि ।’ सम्झनाले भनिन् अनि हतपत डोकाबाट नाम्लो झिकेर सन्ध्याको घाउभन्दा माथिल्ला भागमा कसेर बाँधिन् ।

रविनाले हतार हतार भुईँमा सल ओच्याइन् । रविना र विवेकले सन्ध्यालाई सलमा सुताए । अनि तीन जना मिलेर झ्यानापुल्टुङ पार्दै सन्ध्यालाई घर पुर्‍याए ।

सन्ध्याकी आमा अत्तालिँदै चिच्याउनुभयो, ‘लौ न नि मेरी छोरीलाई सर्पले डसेछ ।’

आमा चिच्याएको सुनेर छिमेकीहरू भेला भए । त्यतिकैमा आचार्य बाले ठुल्ठुलो स्वरमा भने, ‘सर्प विषालु पनि हुनसक्छ । यस केटीलाई झट्टै धामीकामा लग्नुपर्छ ।’ बुढापाकाहरूले त्यस कुरामा समर्थन गरे ।

सन्ध्याले पोहोरको घटना झल्यास्स सम्झी । पोहोर त्यही गाउँमा रामनाथलाई सर्पले डसेको थियो । उनलाई धामीकामा लगिएको थियो । प्राथमिक उपचार पनि गरिएन । धामीले झारफुक गरे तर बिमारीलाई बचाउन सकिएन । झारफुक गरिरहेकै बेला बिमारीको मृत्यु भएको थियो । यो सम्झनाले सन्ध्यालाई गाह्रो भयो । उनका शरीरबाट पसिनाका धारा बग्न थाले । उनले डर मिसिएको रुन्चे स्वरमा भनिन्, ‘मलाई धामीकहाँ गएर रामनाथको जसरी मर्न मन छैन । म बाँच्न चाहन्छु तर मेरा बाआमासँग मेरो उपचार गर्ने पैसा छैन ।’

‘धामीकामा लैजाँदा पैसा पनि धेरै चाहिँदैन । त्यो रामनाथका त दिनदसा नै उस्तै थिए । बरु छिट्टै गरौँ, ढिलो नगरौँ ।’ आचार्य बाले भने ।

रविना र विवेकले सम्झनाका अनुहारमा पुलुक्क हेरे । सन्ध्या पनि आशाले भरिएका आँखाले सम्झनालाई हेर्दै थिइन् । सम्झनाले सन्ध्याका लागि केही गर्ने अठोट गरिन् । उनले अलि चर्को स्वरमा भनिन्, ‘तपाईँहरूले पैसा नभएका कारण धामीकहाँ लैजाने भन्नुभएको होला । हामीलाई पैसाभन्दा साथी ठुलो हो । हामी पैसाको व्यवस्था गर्छौँ ।’

रविना र विवेकले सम्झनाको कुरा बुझिहाले । उनीहरू तीनै जना आआफ्ना घर गए र झट्टै फर्किए पनि । उनीहरूले एउटा एउटा माटाका खुत्रुके बोकेका थिए । तीनै जनलै एकैचोटि खुत्रुके भुईँमा फ्यात्त फ्यालेर प्याट्ट फुटाए ।

रविनाले भेला भएका सबै मान्छेलाई हेर्दै भनिन्, ‘अब त हाम्री साथीलाई अस्पताल लगेर उपचार गरिदिनुहोस् । हामीले पैसाको व्यवस्था पनि गर्‍यौँ ।’

सन्ध्याकी आमाको अनुहार उज्यालो देखियो । सन्ध्या पनि खुसी भई । छिमेकीहरू मिलेर सन्ध्यालाई अस्पताल पुर्‍याए । अस्पतालमा डक्टरले उपचार गर्दै भने, ‘सर्प विषालु रहेछ । धन्न तपाईँहरूले बिमारीको खुट्टो बाँधेर समयमै अस्पताल ल्याउनुभएछ । नत्र भने बिमारीलाई बचाउन सकिँदैँनथ्यो । अब ढुक्क हुनुहोस्, बिमारी सुरक्षित छ ।

छिमेकीहरूले सम्झना, रविना र विवेकका कार्यको प्रशंसा गरे ।