धङधङी
मलाई निरोगीपनको आवश्यकताले
किन किन दिनैपिच्छे झकझक्याइरहन्छ
आफ्नै नाकको पोहोराबाट बाहिर–भित्र गर्ने
निश्वास प्रस्वासले गिज्याए जस्तो लाग्छ
कहिले कोरोनाको दोखले गिजोल्छ
त कहिले सलहको बथानले तर्साउँछ
यसो झ्याल खोलेर कोठाबाट
बाहिर के चिहाउँछु
सबैतिर शत्रु नै शत्रु देख्छु
कोही झरी बर्साउने शत्रु
कोही मानिस तर्साउने शत्रु
यताउता चारैतिर शत्रुको गन्ध मात्र पाउँछु ।
शरीर शिथिल छ,
पढ्ने बानी भन्दा गफ गर्ने बानी बस्यो
उखान फलाक्दा ठुलो भइन्छ भनेर
सानैदेखि उखानका पछि लाग्या
अहिले त,
आफैलाई विज्ञजस्तो लाग्न थाल्याछ
भ्रष्टाचार भयो भन्छन् सबै
म सदाचार मात्रै देख्छु किन किन ?
मलाई चाहिएको बेलामा चाहिएजति थापेकैछु
आफूलाई निरोगी बनाउन खाने ओखतीको सुरमा बर्बराउँदा
अरू तन्द्राबाट व्युँझेर के–के फतुर्छन्,
मजस्तो शक्तिशालीसँग
रोगले त सिँगौरी खेल्न डराउँछ
यी बबुराहरू किन किन ?
निहुँ मात्रै खोज्दैछन्
कति साह्रो आहारिस गरेका त
मैले खाएकोमा
म विशेषज्ञ नै भएको छु जस्तो लाग्छ ।
त्यो दिव्य ओखती मेरो पूर्व अवस्थाबाट
व्रम्हज्ञान प्रदान गर्ने मन्त्र रहेछ,
आफै त्यसको घङघङीले छोड्ने
अरू त्यसै त्यसै किन बिच्केका हुन किन ?
मेरो कुर्सी मैले नछाडेसम्म मेरो हो भन्दा
किन तर्सेका हुन् कुन्नि ?
त्यो कुर्सी मैले ताकेकै महाकाली सन्धिदेखि हो
अहिले त सन्धिको नामसमेत सकिएको घडीमा
किन किन यी वर्गशत्रुहरू
विभिन्न दलका नाममा, गुटका नाममा
मलाई सराप्दै छन्
तर मेरो खालो सार्न
यस्ता पुङमाङ्गे प्रवृत्तिले
लछारपाटो लाउन सक्तैनन् भनेर नै
म बेसार खाँदै छु, होलीवाइनसँगै
वर्गशत्रु नासगर्नुछ ।
लेखकको सम्वन्धमा