December 9, 2024, Monday
२०८१ मंसिर २४, सोमबार

आमाको माया

एउटा गाँउमा समुद्रपारि घना जङ्गलका बिचमा एउटा सानो झुप्रो घर थियो । त्यो घरमा आमा र ४ महिनाको सानो एउटा छोरो बस्थे । बुवा धेरैको वर्षदेखि विदेशमा हुनुहुन्थ्यो । आमाले नै छोराको स्याहारसुसार गरिराख्नुभएको थियो ।
एकदिन आमा छोरालाई दुध खुवाएर कोक्रामा राखी भान्सामा जानुभयो। बाहिर पानी परिरहेको थियो । त्यो मौसममा बाहिर एक जना बुढो बटुवाले ढोका ढक्ढक्यायो । आमाले बाहिर आएर ढोका खोलेर आगन्तुकको शुभनाम, आएको ठाउँलगायत विभिन्न प्रश्न सोध्नुभयो । आमा आगन्तकका लागि भित्र पानी लिन जानुभयो ।पानी लिएर बाहिर आउँदा न छोरालाई देख्नुभयो न त्यो बुढो मान्छेलाई ।
त्यो बुढो मान्छे त राक्षस रहेछ । आफ्नो भोक मेटाउन आमालाई भुल्याएर त्यो सानो बालकलाई लगेछ । आमा भने छोरालाई खोज्न भनेर खाली खुट्टै रुदै हिँड्न थल्नुभयो । छोरालाई खोज्न त्यो घना जङ्गलमा एक्लै हिँड्दै जाँदा एउटा ठुलो काँडाको रुखले बाटो छेक्यो । आमाले रुँदै भन्नुभयो, “कृपया दया गरेर मेरा लागि बाटो छोडिदिनुहोस् ।” तब रूखले भन्यो, “सुनेको छु आमाको अँगालो न्यानो हुन्छ । मलाई पनि अँगालो हालेर मेरो यो सुकेको र भिजेको शरिरलाई न्यानो पारिदेऊ अनि म जान दिन्छु ।” यो सुनेपछि आमाले आफ्नो छोराका निम्ति भनेर काँडाको त्यो तिखो पीडा सहँदै काँडाको रूखलाई अँगालो हाल्नुभयो । काँडाले घोचेर पूरै रगताम्मे भए पनि निरन्तर अँगालो हालेपछि रूखमा फूलका कोपिलाहरू देखिन थाले । त्यसपछि आमाले रूख छोड्नुभयो । अनि रुखले भन्यो, “तिम्रो बच्चालाई त्यो राक्षसले समुद्रपारिका गाउँमा लगेको छ । यहाँबाट सिधै जाऊ तर तिमीले तिम्रो छोरालाई पाउन धेरै कठिनाइहरुको सामना गर्नुपर्छ ।
त्यसपछि आमाले रगताम्मे भए पनि आफ्ना पाइला अगाडि बढाउनुभयो । हिँड्दै जादा १० मिनेटको दूरीपछि ठुलो समुद्रनजिक पुग्नुभयो । आमा समुद्र तर्न अगाडि बढ्नुभयो तर समुद्री देवी बाहिर निस्केर हप्काउन थालिन्, “तिमीलाई कस्तो डर नलागेको ! यत्रो ठुलो समुद्रका बिचसम्म नआऊ खुरुक्क फर्किहाल !” त्यसपछि आमाले नम्र हुँदै भन्नुभयो, “हजुर डर त लाग्छ नि यत्रो ठुलो समु्द्र देख्दा तर मेरा छोराका अगाडि यो समुद्र केही होइन मेरा लागि । कृपया मेरो बाटो छोडिदिनुहोस् । तब समुद्री देवीले भनिन्, “त्यसो भए मलाई तिमीसँग भएका ती अमूल्य रत्नहरू देऊ अनि बाटो दिन्छु ।” आमाले छक्क पर्दै सोध्नुभयो, “के छ र मसँग त्यस्तो अमूल्य रत्न ??” समुद्री देवीले जवाफ दिइन्, “ती चम्किला तिम्रा दुई आँखाहरु ।” आमाले भन्नुभयो, “ठिक छ लिनुहोस् तर मलाई मेरो बाटो छोडिदिनुहोस् ।” जोडले रुँदै आखाहरु त्यहीँ छाडेर आमा अगाडि बढ्नुभयो ।
आँखा नै नभएपछि आमालाई हिँड्न अप्ठ्यारो भयो । तैपनि यताउता धरमरिँदै, झाडीहरू समाउँदै रुँदै हिड्नुभयो । उहाँले रुँदै एक्लै बरबरराउँदै भन्नुभयो, “मेरो बाबु मलाई माफ गर । मैले तिम्रो राम्ररी हेरचाह गर्न सकिनँ । माफ गर बाबु ! माफ गर !” भुईँमा घुँडा टेकेर ठुलो स्वरमा रुँदै हुहुन्थ्यो । यत्तिकैमा एउटी कुरूप र बुढी बोक्सी आमाका अगाडि प्रकट भई । ऊ आमाको यौवन देखेर जल् थाली । उसले आमालाई सोधी, “कता हिँडिराखेकी ! अब तेरो छोरालाई त ती राक्षसहरुले भोजन बनाइसके । बेकारको कष्ट नगरी घर फर्केर गए हुन्छ ।” आमाले हात जोड्दै भन्नुभयो, “त्यसो नभन्नुहोस् । मलाई मेरो छोँरा कहा छ भनिदिनुहोस् ।” अनि बोक्सीले भनी, “त्यसो भए मैले भनेको मानछेस् त? मान्छेस भने भन्दिन्छु ।” आमाले “हुन्छ, मान्छु” भन्नुभयो । बोक्सीले भनी, “मलाई तेरो यो लोभलाग्दो जवानी दे ।” आमाले “हुन्छ, लिनू” भन्नुभयो । अनि बोक्सीले आफ्नो शक्ति प्रयोग गरेर आफूलाई जवान र आमालाई बुढी बनाई । त्यसपछि बोक्सीले भनी,”यहाँबाट १० मिनेट टाढा तेरो छोरो छ । तेरो शरीर बुढो छ । तेरो छोरो बचाउन सक्छेस् भने जा बचा ।” बोक्सीले आमालाई लात्ताले हानेर लडाई । आमा घिस्रिँदै “बाबु” भन्दै जानुभयो । अलि पर बच्चा रोएको आवाज सुनियो । आमा “पर्ख बाबु म आ उदै छु ।” भन्दै बच्चाको आवाजलाई पछ्याउदै जानुभयो । उहाँले बच्चाका नजिक पुगेर राक्षसलाई भन्नुभयो, “मेरो छोरा मलाइ फिर्ता गर् । मेरो छोरा सानै छ । उसलाई नमार् बरु तँलाई तेरो पेट भर्नु छ भने मलाई मार् । मरो मासुले तेरो पेट भर् ।” राक्षसले भनयो, “मलाई यो बच्चाको कलिलो मासु मिठो लाग्छ त्यसैले म यही बच्चालाई खान्छु ।”
राक्षसको कुरा सुनेपछि आमा र राक्षसबिच ठुलो युद्ध भयो । अनेक जुक्ति लगाएर आमाले राक्षसलाई जित्नुभयो । आखिरमा आमाले आफ्नो छोरो भेट्नुभयो । छोरालाई पाएपछि खुसी हुँदै उहाँले चुम्बन गर्नुभयो ।