मेरो सुख्य देशमा छिमेकी छन्
जसको मनमा मेरो बारीको कान्ला
मेरो धारापानी पधेंरो रूखापात
मेरो सन्तति कसरी हत्याएर कब्जाउने
भन्ने ध्याउन्नले ग्रसित छन् ।
म एउटा अल्पज्ञानी तर चतुरे
राजनीतिज्ञको चेलो, लट्ठक बनेर
उसैको लहैलहमा लागेर ‘हो नि हो नि’ भन्दै
आफ्नो सर्वस्व गुमाइरहँदा र भिक्षाटन गर्दै
उसैको स्तुतिगानमा निर्लिप्त बन्दा
जुठो पुरोको आशामा आशामुखी बनेर
गुजारा चलाउन लालायित लाचार प्राणी
ती छिमेकीले मेरो बारीको कान्ला तासे
मालिकको सेवामा केही बोलिएन
जल, जङ्गल र जवानी खरिद गर्न आए
बलवुताले भ्याएसम्म ‘हवस’ भनेको सुने मैले
म लठ्ठक चेलो गुरुको स्तुति गाउँदै बसेँ
गुरु त छिमेकीको पाकशालाको पुरो उठाउँदाछन्
उसैको स्तुतिगानमा मस्त छन्
मलाई चै मेरो माटो लुटिएकोमा पीडा छ
आमाको अस्मिता लुटिएकोमा
मजस्ता मेरा भाइबन्धु, साथी सहृदयीलाई चिन्ता छ
तर पुरो उठाउनेहरू आज आफैँ
दशीप्रमाण लुकाउँदै ती छिमेकीका पछि लागेर हाँस्दै छन्
यी हाम्रो देशका न एता न उता नेताको चेत
खोलिदेऊ पशुपतिनाथ, नत्र हामी हुन्छौँ अनाथ ।
माथ्लाघरे व्यापारी मेरो छिमेकीको चर्तिकला हेरेर
चोमोलोङ्गमा आफ्नो पोल्टामा हाल्न उद्दत छ,
धिक्कार छ मेरा यी छिमेकीलाई
जसले सिक्किम र तिब्बत निलेर, नेपाल ताक्दैछन् ।
अब म के आशा गरूँ
मेरो मुलुकको अस्मिता बचाउन
छिमेकीले ताछेका ‘गरा’ सम्याउन
एक पटक जागौँ नागरिक भएर सबै जना
किनभने हामीले हन्डी खाएका छैनौँ भनेर
छातीमा हात राखेर वीर गोर्खालीको सुझबुझले
अस्मिता जोगाऊँ साथीहरू । जोगाऊ ।
लेखकको सम्वन्धमा