January 14, 2025, Tuesday
२०८१ माघ १, मंगलवार

बिर्सिन नसकिएको फागुन १४ र दिलबहादुर रम्तेल

कुनै काल्पनिक कथा नभएर वास्तविक घटना थियो र पात्रहरू कुनै काल्पनिक नभएर वास्तविक नै थिए । एउटा अकल्पनीय र अवर्णनीय घटना जुन २०५२ साल फागुन १४ गतेको थियो । आजका दिनसम्म पनि भयभीत बनाउने त्यो घटना एउटा अलिखित डरलाग्दो र पीडादायी इतिहास हो भन्ने लाग्छ । गोरखा सदरमुकामबाट उत्तरी भागमा अवस्थित प्राकृतिक रूपमा सुन्दर, बहुजातीय, बहुभाषिक र विभिन्न सांस्कृतिक र सामाजिक परम्परा रहेको रमणीय साविक ताकुकोट गाविस हाल बारपाक सुलीकोट गाउँपालिका–६ मा अवस्थित सूर्यज्योति मावि २०५२ साल फागुन १४ गते एकाएक रणभूमि बन्यो । हुन त राष्ट्रिय राजनीतिक परिवर्तन र उथलपुथल भएसँगै घटनालाई आआफ्नै तरिकाले रङ भर्ने काम भएका होलान् तथापि तत्कालीन घटनाको प्रत्यक्षदर्शी भएका कारण घटनाको वास्तविकतालाई उजागर गर्ने प्रयास गरिएको छ ।

सूर्यज्योति मावि त्यस क्षेत्रमा स्रोत विद्यालय थियो र जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरूको रोजाइमा पर्ने कारण तत्कालीन समयमा करिब सात सय विद्यार्थी भएको अब्बल माविका रूपमा पहिचान बनाउन सफल थियो । घटना तत्कालीन प्रअ वीरबहादुर गुरुङसँग जोडिएको जस्तो देखिन्थ्यो । तत्कालीन प्रअ गुरुङ विद्यार्थीहरू र त्यस भेगका जनताहरूको प्रिय पात्र हुनुहुन्थ्यो । वीरबहादुर गुरुङ र तत्कालीन शिक्षक, स्टाफको लगनसिलताबाट विद्यालयले सफलता हासिल गरेको थियो भन्दा अत्युक्ति हुँदैन । प्रअ गुरुङलाई गिरफ्तार गर्नका लागि भनेर पचासदेखि साठी जनाको सशस्त्र प्रहरी जत्था विद्यालयहाताभित्र प्रवेश गर्छ र एकाएक विद्यालय लडाइँको मैदानजस्तो बन्न पुग्छ । पाँचौँ घण्टी सकेर सबै शिक्षकहरू स्टाफरुममा पुग्न नभ्याउँदै प्रअलाई हतकडी लगाएर उहाँको आफ्नै गाउँको बाटो गरेर लाँदैगर्दा विद्यार्थीहरू असह्य चीत्कारसँगै ढुङ्गा बर्साउँदै पछि पछि दगुर्छन् । गाउँका किसानहरू मेलो छाडेर प्रहरीका पछि कुद्दै हुन्छन् र हामी शिक्षकहरू मूक दर्शक भएर हेर्न वाध्य हुन्छौँ । प्रहरीको जत्था गोली बर्साउँदै गोरखा सदरमुकाम जाने नियमित बाटो नभई प्रअको गाउँको बाटो लागेको हुन्छ र उहाँको आफ्नै गाउँ पन्द्रुङ, जराङ्गकै व्रह्माचारिणी निमाविका भाइबहिनीहरू रमिते भएर घटनातिर नियाल्दै गर्दा साना एघार वर्षीय अबोध बालक दिलबहादुर रम्तेल गोली लागेर ढल्छन् । अर्का भाइ रामप्रसाद भट्ट पनि गोली लागेर ढलेका हुन्छन् । दिलबहादुर घ्याम्पेसाल स्वास्थ्य चौकी लग्दैगर्दा बाटामा नै मृत्यु वरण गर्न पुग्छन् भने रामप्रसाद भट्ट गोली निकालेर हालसम्म पनि हुनुहुन्छ ।

दिलबहादुर रम्तेल

तत्कालीन नेकपा माओवादीले सुरु गरेको सशस्त्र जनयुद्धका नाममा यो घटना तत्कालीन सरकारको नाङ्गो दमन थियो, निकृष्टताको पराकाष्ठा थियो र सिधासाधा जनता र अबोध जनतामाथि गरिएको निन्दनीय घटना थियो । शिक्षा हासिल गरेर असल, योग्य र सक्षम नागरिक बनाउने हेतुले छोराछोरी विद्यालय पढाउने ती अभिभावक र अबोध र अनभिज्ञ कलिला भाइ दिलबहादुर रम्तेल र उनका सहपाठीहरू न कुनै जनयुद्धलाई बुझ्न सक्थे न देशको राजनीतिक परिवर्तनका कुरा । सूर्यज्योति माविदेखि व्रह्मचारिणी निमाविसम्म भएको त्यो भिडन्तमा बर्सिएका गोलीका आवाजहरू आज पनि कानमा ताजै छन् । दशकौँ हुँदा पनि त्यस दिनको त्रासदीपूर्ण याद मेटिएको छैन र कतै त्यो घटना सम्झन पुग्दा एक पटक गला अवरुद्ध हुन पुग्छ । सूर्यज्योति माविकै विद्यार्थी र तत्कालीन समयमा भरखर भरखर सेवा प्रवेश गरेको शिक्षक भएका कारण घटना र वास्तविकतालाई नियाल्दा अव्यक्त र असह्य पीडा हुनु स्वभाविक पनि लाग्छ ।

तत्कालीन नेकपा माओवादीले सशस्त्र युद्धको सुरुवात गरेको घोषणा गरेका कारण यो घटना घटाइनु तत्कालीन सरकारको निन्दनीय कार्य थियो । निज प्रअ नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको गोरखा जिल्ला अध्यक्ष हुनुहुन्थ्यो । उहाँको गिरफ्तारी त्यास शैलीमा गर्नुपर्ने आवश्यकता नै थिएन । पटक पटक सदरमुकाम जाने एउटा वैधानिक पद धारण गरेको व्यक्तिलाई बहाना बनाएर सारा डाँडापाखा र गाउँबस्ती स्तव्ध गर्ने रणनीति अवलम्बन गरेर निर्दोष व्यक्तिहरूलाई जबरजस्ती युद्धमा  धकेल्ने काम तत्कालीन सरकारले गर्‍यो । तत्पश्चात् पनि विद्यालयमा अध्यापनरत शिक्षकहरूलाई झुटा मुद्दा लगाउने काम सुरु गरियो । कलिला भाइबहिनीहरू एकपछि अर्को युद्धमा होमिने र मृत्यु वरण गर्ने क्रम सुरु भयो । सूर्यज्योति माविकै विद्यार्थीहरू इन्द्रा थापा, विमला भट्ट, कमला भट्ट, प्रेम ढकाल, कौशिला गुरुङजस्ता धेरै विद्यार्थीहरू पछि जनयुद्धका सहिदका सूचीमा सूचीकृत हुन पुगे । शिक्षकहरू आशाकाजी श्रेष्ठ, गुणनिधि देवकोटाहरूले पनि सहादत प्राप्त गर्नुभयो । २०५५ साल असार २४ गते शिक्षक गुणनिधि देवकोटा जो सूर्यज्योति माविमा वहालवाला शिक्षक हुनुहुन्थ्यो सशस्त्र आर्मीका जत्थाले निवासबाट लगेर मार्नु अन्यायको पराकाष्ठ नै थियो । आज पनि यो घटना उहाँका परिवारजन, विद्यार्थीहरू र त्यस भेगका जनताहरूका लागि असह्य छ, अमान्य छ र घोरभर्त्सनायोग्य छ । विद्यालयमा कार्यरत रहेकै बखत एउटा बौद्धिक व्यक्तित्व सरकारको सशस्त्रको फौजद्वारा अपहरण गरी मारिएको यो सायदै घटना होला ।

राष्ट्रि राजनीतिक, सामाजिक, आर्थिक परिवर्तनका लागि भनिएका यस्ता प्रकृतिका घटनाहरूले भयभीत गाउँका निमुखा जनताहरू र ती साना फुल्न र फक्रनै नपाई निमोठिएका कोपिलाहरूको सपना कहिले पूरा होलान् ? संसारमा जन्मिएपछि बाँच्न पाउने, हाँस्न, खेल्न र फुल्न, फक्रन पाउने स्वतन्त्रता हाम्रा प्यारा भाइबहिनीहरूले कहिले पाउलान् ? ज्यादै सोचनीय र गम्भीर विषय बन्न थालेको छ । आर्थिक अभावका बाबजुद जसोतसो शिक्षा लिन पुगेका यस्ता बालबालिकाहरू चाहे दिलबहादुर रम्तेल, रामप्रसाद भट्ट हुन् चाहे अन्य बाहनामा लुटिएका निर्मला पन्त, सम्झना विक, भागीरथा भट्ट जोसुकैको बाँच्न पाउने अधिकार सुनिश्चित गर्नतिर सम्पूर्ण पक्षको ध्यानाकर्षण हुनु जरुरी छ ।

उल्लिखित विभिन्न प्रकारका हिंसा पुनः दोहोरिन नदिनका लागि सरोकारवाला पक्षहरू गम्भीर हुन अत्यावश्यक छ । आज रमतेल भाइको घटना घटेको २५ वर्ष पुगिसकेको छ । घटनाको सत्यतथ्य र वास्तविकता पत्ता लगाएर सच्चाइमा जाने सम्बन्धमा कुनै पनि प्रक्रिया अघि बढेको सुन्नमा नआउनु दुःखद र निन्दनीय छ । यस्ताखालका अमानवीय घटना जसले मानवअधिकार र बालअधिकारलाई सिधै हनन गरेको छ, जुन आगामी दिनका लागि गम्भीर पाठ बनोस् । अन्तमा फुल्न र फक्रन नपाई निमोठिएका अबोध बालक, विद्यार्थी दिलबहादुर रम्तेल र उहाँजस्तै कलिलो उमेरमा विभिन्न बहानामा मृत्यु वरण गर्न पुगेका सम्पूर्ण विद्यार्थीहरूको आत्माको चिर शान्तिको कामना गर्दछु । आज फागुन चौधकै दिन भाइलाई पुनः सम्झन चाहन्छु ।