February 10, 2025, Monday
२०८१ माघ २८, सोमबार

अवचेतनभित्रको एउटा पात्रलाई नियाल्दा

परिचय

वि.सं. २००३ चैत २८ गते तेह्रथुम जिल्लाको छातेढुङ्गा–४ मा दाताराम र लक्ष्मीदेवी प्रसाईंका सुपुत्रका रूपमा जन्मिएका यज्ञराज प्रसाईंले आफ्नो मुख्य कर्मथलो झापा जिल्लालाई बनाए । झापाको मेचीनगर नगरपालिका–७, इटाभट्टामा बसोबास गर्ने प्रसाईंले जीवनयापनका क्रममा शिक्षण र खेतीकिसानीलाई मुख्य पेसा बनाउँदै आफूलाई राजनीति तथा समाजसेवाका क्षेत्रमा सक्रिय बनाए । २०२० को दशकमा चलेको झापा विद्रोहदेखि नै नेपाली राजनीतिमा आफूलाई समाहित गरी परिवर्तनको आकाङ्क्षा राख्ने प्रसाईं सधैँभरि निम्न वर्गीय किसान, मजदुर तथा निमुखा जनताका पक्षमा आवाज उठाउने वर्गीय चेतना भएका सशक्त व्यक्ति हुन् । विभिन्न साहित्यिक संस्थाहरूमा आबद्ध भई साहित्य रचना तथा साहित्यिक/गैरसाहित्यिक पत्रपत्रिका/कृतिहरूको सम्पादनका क्षेत्रमा उल्लेख्य भूमिका निर्वाह गरी नेपाली भाषा-साहित्यको श्रीवृद्धिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने प्रसाईंले नेपाल प्रज्ञाप्रतिष्ठानको प्राज्ञसभा सदस्यसमेत भई नेपाली भाषासाहित्यको सेवा गरेका छन् । जीवनका सात दशक हिउँद-बर्खा छिचोलिसकेका प्रसाईंका लेखनीबाट अझै पनि सशक्त साहित्यिक कृतिहरूको रचना भइरहेको छ । प्रस्तुत आलेखमा उनकै पछिल्लो प्रकाशित कृति अवचेतनभित्रको एउटा पात्र (कथा सङ्ग्रह)–२०७६ लाई सरसर्ती हेर्ने प्रयत्न गरिएको छ ।

विषय प्रवेश

दश प्रिलिमिनरी र १०० मूल पृष्ठ गरी जम्मा ११० पृष्ठमा संरचित उक्त कृतिका पछिल्ला दुई पृष्ठ खाली रहेकाले जम्मा ९८ पृष्ठमा एघार कथा विस्तारित भएका छन् । पवित्रा प्रसाईंले प्रकाशनको अभिभारा निर्वाह गरेको उक्त मध्यम आयामको कृति बुद्ध अफसेट प्रेस बिर्तामोडले मुद्रण, कमला भट्टराई पराजुलीले लेआउट डिजाइन र पवन राजवंशीले आवरण चित्र निर्माण गरेका हुन् । दौरा, सुरुवाल र शिरमा ढाका टोपी लगाएका लेखक हातमा कलम र अपूर्ण लेखन भएको कपी लिई दाहिने कुइनो सिरानमा राखी गम्भीर बनेर जल्दै गरेको नेपालको मानचित्र नियालिरहेको आवरण चित्रका छेउमा लेखकको नाम यज्ञराज प्रसाई लेखिएको छ र सबैभन्दा माथि पुस्तकको नाम (अचेतनभित्रको एउटा पात्र) लेखी पुस्तकको विधा (कथा) पनि खुलाइएको छ । यस सुन्दर चित्रात्मक प्रस्तुतिमा नै सङ्कलित सम्पूर्ण कथाको सार झल्किन्छ । अर्थात् कथाले देशमा विगतदेखि वर्तमानसम्म अनेकौँ पीडाको ज्वाला दन्किरहेको, त्यो ज्वालालाई कसरी शान्त पार्ने भनी लेखक चिन्तित बनिरहेको अथवा त्यही प्रज्ज्वलित पीडाको टिपोट गरिएको कथात्मक प्रस्तुतिले प्रबुद्ध पाठकहरूको हृदय स्पर्श गरी राष्ट्रिय यर्थार्थ बोध गराउने प्रयत्न गरिरहेको आभास हुन्छ । समग्रमा आवरण चित्र सम्पूर्ण कथाको भाव व्यक्त गर्न सार्थक देखिन्छ । पछिल्लो आवरण पृष्ठमा लेखकपरिचयका साथै लेखक र प्रकाशकको तस्बिरले स्थान पाएका छन् । लेखकपरिचयमा भएको पत्नीको नाम र प्रकाशकको नाम एउटै (पवित्रा प्रसाईं) भएकाले पतिले लेखेका कथा पत्नीले प्रकाशन गरेको हो भन्ने बुझिन्छ । तर लेखकपरिचयका लागि त्यति धेरै शब्द खर्चँदा प्रकाशक–परिचय किन दुई शब्दे नाममा समेटिएको होला भन्ने लाग्न सक्छ । प्रकाशकको सामाजिक, राजनीतिक, साहित्यिक आदि पहिचान नभए पनि व्यक्तिगत तथा पारिवारिक पहिचान त अवश्य नै हुन्छ । तर पनि किन त्यो पहिचान खुलाइएन ? हुन त पुस्तकको बाहिरी पृष्ठमा प्रकाशकको नाम नै लेख्ने प्रचलन नभएको अवस्थामा लेखकले आफ्नै पत्नीलाई प्रकाशक बनाई प्रकाशकको हँसिलो तस्बिर र मुन्तिर सुनौला अक्षरले नामाङ्कन गर्नुबाट लेखकको नारीसम्बन्धी सकारात्मक चिन्तन प्रतीकात्मक रूपमा प्रकट भएको छ भन्न सकिन्छ । हो, प्रस्तुत पुस्तकभित्र पनि यस्तै सामाजिक, राजनीतिक, साहित्यिकलगायत अन्य कुनै पनि विशिष्ट पहिचान बनाउन नसकेका आवाज र पहिचानविहीन नारीहरूका दुःख, पीडा, व्यथा र वेदनाले छटपटाइरहेका तर सग्ला र जीवन्त तस्बिर यत्रतत्र पाउन सकिन्छ ।

पुस्तकको नामकरण

सङ्कलित एघारमध्ये नवौँ स्थानमा पुस्तकको शीर्ष कथा अचेतनभित्रको एउटा पात्रले स्थान पाएको छ । अभिधा अर्थमा सोही शीर्षकथाका आधारमा सिङ्गो पुस्तकको शीर्षक राखिएको बोध भए पनि लक्षणा अर्थले शीर्षकथाभित्रको एक पात्र प्रसिद्ध हास्यव्यङ्ग्य निबन्धकार भैरव अर्याल प्रवृत्तिका कलमवीर पात्र (जसका कलमले सामाजिक-राजनीतिक कुसंस्कार, कुरीति, अनियमितता, बेथिति आदिलाई परास्त गर्न सकोस् ।) को अपेक्षा गरेको देखिन्छ । व्यञ्जना अर्थ अझ पर पुग्छ र लेखकले आफू स्वयमलाई, आफ्ना प्रत्येक पाठकलाई प्रत्येक व्यक्ति र नागरिकलाई राष्ट्रियताप्रति सचेत, जुझारु, सक्षम र योग्य पात्रका रूपमा हेर्न चाहेको अर्थ प्रेषण गर्दछ । वास्तवमा यथार्थमा आइनसके पनि मानसपटलभित्र सलबलाइरहेको एउटा त्यस्तै आशालाग्दो पात्रको अपेक्षार्थ प्रस्तुत पुस्तकको शीर्षक राखिएको छ । 

विषयवस्तु

प्रस्तुत कथासङ्ग्रहले नेपाली सामाजका विविध पक्षलाई विषयवस्तु बनाई जीवन्त चित्रण गरेको छ ।

मुख्य रूपमा नारी हिंसा र आंशिक रूपमा नारी सङ्घर्ष प्रस्तुत सङ्ग्रहले उठान गरेको एउटा सशक्त विषयवस्तु हो । आडम्बर कथामा आफन्त ठानिएकाहरूबाट नै नारीहरूले बलात्किृत हुनुपर्ने अवस्था उजागर गरिएको छ । यस कथामा प्रगतिवादी भनी कहलिएका पुरुषले नै गरेको अपराधको सजाय नारीले भोग्नुपरेको विवस अवस्था विनिताका माध्यमबाट देखिएको छ । नारी पुरुषबाट मात्र हिंसामा परेका होइनन्; स्वयम् नारीहरू पनि नारीहिंसामा लागिपरेका छन् भन्ने अभिव्यक्ति छातीभित्रको घाउ कथामा पाइन्छ । पति र सौताबाट प्राप्त पीडाको कारुणिक चित्रण प्रस्तुत कथाकी पात्र जेठी भाउजूका माध्यमबाट गरिएको छ । नारीहरू बाबुआमाजस्ता परिवारका सदस्यहरूबाट पनि पीडित बन्ने गरेको दृष्टान्त गरिबको मोल कथामा पाइन्छ । यस कथामा छोरीको भौतिक सुखका लागि बाबुआमाले हार्दिक सुख कुल्चिदिएका छन् । छोरी सङ्गीताले राजीखुसी देवान सरसँग गरेको वैवाहिक सम्बन्धलाई वर्गीय असमानताको कारण देखाई माइतीले अवरोध प्रकट गरेका छन् । सङ्गीता माइतीको इच्छाअनुसार आफ्नो खुसी मार्न र आफ्नो प्यारो पतिलाई बिर्सँदै अर्कै पुरुषसँग दोस्रो विवाह गर्न बाध्य बनाइएकी छ । यस कथामा नारी मात्र नभई पुरुष पनि पीतिड बनेको देखिन्छ । यो हिंसामा एकातिर लैङ्गिक र अर्कातिर वर्गीय असमानता मुख्य कारक बनेका छन् । ज्यानमाराको छोरो कथामा पुरुषको अहङ्कार, लहड, गैरजिम्मेवारी, कुकृत्य आदिका कारण नारीले पीडा भोग्नुपरेको छ । भत्केका घरहरू कथामा नारी र पुरुषका बिचमा द्वन्द्व देखिएको छ । विदेशमा पत्नीले रगत र पसिना बगाएर कमाई पठाएको पैसा परस्त्री गमनमा पतिले उडाएको, मौका दिँदा पनि पति नसुध्रिएको र आखिरमा पत्नीले पतिसँग पारपाचुके गरी दोस्रो विवाह गरेको देखिन्छ । यस कथामा पुरुषकै कारण नारीले पीडा भोग्नुपर्ने हुन सक्छ त्यसैले नारीहरू आवश्यक सङ्घर्ष र विद्रोहका लागि तयार गर्नुपर्छ भन्ने सन्देश पाइन्छ । अचेतनभित्रको एउटा पात्र कथामा एउटी एकल महिलाले गरेको सङ्घर्ष चित्रण गरिएको छ ।

राजनीतिक विकृति सिङ्गो पुस्तकले समेटेको अर्को मुख्य विषयवस्तु हो । २०२० का दशकको झापा विद्रोह, २०४६ सालको राजनीतिक परिवर्तन, माओवादी द्वन्द्व, गणतन्त्रको आगमनसँग सम्बन्धित राजनीतिक सन्दर्भ, तीप्रति जनताको आशा र नेतृत्ववर्गको उपेक्षाका कारण देखिएको निराशाजस्ता विषयले मुख्य स्थान पाएका छन् । रित्तो हात र अन्तर्सम्बन्ध कथामा क्रान्तिका बेला अनेक चुनौती स्वीकार गरी क्रन्तिकारी योद्धाहरूलाई आश्रय दिने निरीह किसानहरूका अनुहारमा रानीतिक परिवर्तनपछि पनि कुनै चमक आएको छैन । बरु त्यस्ता भूमिहीन मोही किसानहरू मालिक, जमिनदारहरूबाट ठगिइरएको अवस्था देखाइएको छ । यो नेपाली समाजको एउटा यथार्थ पनि हो । विस्थापित बस्ती कथामा पनि यसै प्रकारको विषयवस्तु समेटिएको छ । कम्युनिस्टका नाममा पुरानै सामन्ती संस्कार हावी भएको, गरिब, किसान, मोहीहरूको उद्धार गर्छु भनी बनेका नेताहरूले नै भूमिहीन किसान, मजदुरहरूले आश्रय लिएर बसेको जमिन आफ्ना नाममा दर्ता गराएको तितो यथार्थ प्रस्तुत कथामा देखिन्छ । वामराजनीतिका नाममा भएको लुटतन्त्रको पर्दाफास हो अपहरण कथा । व्यवसायमा अंशियारहरूले सोझा, सिधा, मिहिनेती, इमान्दार अंशियारलाई ठग्ने, कमरेडहरूले कमरेडहरूलाई नै ठग्ने, अपहरण गर्ने अत्यन्तै कहालिलाग्दो अवस्थाको उद्घाटन यस कथाले गरेको छ । विगतदेखि वर्तमानसम्मका नेतृत्ववर्गमा देखिएका अकर्मन्यहरूलाई प्रस्तुत सङ्ग्रहको शीर्ष कथा अचेतनभित्रको एउटा पात्र कथाले उद्घाटन गरेको छ । भैरव अर्याललाई पात्रीकरण गरिएको प्रस्तुत कथामा नेताहरूलाई झक्झक्याई राजनीतिक विकृतिलाई सही स्थानमा ल्याउन भैरव अर्यालजस्ता सशक्त लेखकहरूको अपेक्षा गरिएको छ । माओवादी द्वन्द्वलाई माओवादी योद्धाकै दृष्टिकोणबाट हेरी राज्यसत्ताले गरेको हिंसा र दमनको यथार्थ चित्रण रगतको पाइलामा गरिएको छ । समाज परिवर्तन र समृद्धिका लागि गरिएको जनयुद्धको महत्त्व गणतन्त्र स्थापनापछि स्खलित भई उपलब्धिविहीन भएको गुनासो यस कथामा छ । दुर्दशामा बाँचेको बेहोस मान्छे कथामा राजनीतिक, साम्प्रदायिक द्वन्द्वका झलक र पीडाहरू तथा तिनको परिणमस्वरूप देखिएको मानसिक विकारलाई स्थान दिइएको छ । यस कथाको विषय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म विस्तारित छ ।

हुन त हरेक कथामा पात्रको मानसिक अवस्थाको थोरबहुत चित्रण भए पनि मनोवैज्ञानिक विषयसन्दर्भलाई नै स्थान दिई ज्यानमाराको छोरो कथा निर्मित भएको छ । प्रस्तुत कथामा विमलको मानसिक अवस्थाको अध्ययनबाट विगतको यथार्थ पहिचान गर्ने जमर्को गरिएको छ ।

यसरी प्रस्तुत सङ्ग्रहले मुख्य गरी देशको सम्भावित सन्त्रासलाई केन्द्रीय विषयवस्तु बनाएको छ । देश सिरिया, अफगानिस्थान, इरान, सुडानजस्तो उपनिवेश होला भन्ने चिन्ता लेखकले अवचेतनभित्रको एउटा पात्रमा प्रकट गरेका छन् । यो नै लेखकले व्यक्त गर्न चाहेको केन्द्रीय चिन्ता पनि हो र यसका पिरिधिमा अन्यसामाजिक, राजनीतिक र मनोवैज्ञानिक विकृतिजन्य चिन्ताले विषयवस्तुका रूपमा स्थान पाएका छन् ।

निष्कर्ष

वर्णनात्मक शैलीको आधिक्य, संवादात्मक प्रस्तुतिको न्यूनता र एकाध पूर्वदीप्तिको प्रयोग गरी यस सङ्ग्रहका कथा रचना गरिएका छन् । कथाका केही सन्दर्भमा प्रकृतिको सजीव चित्रण पाइन्छ । अधिकांश कथामा झापाको काँकडभिट्टा, धुलाबारीआसपास राजमार्गका छेउछाउको स्थानीय परिवेश चित्रण भए पनि केही कथामा काठमाडौँ र तेह्रथुमका केही स्थानको चर्चासमेत पाइन्छ । कथामा एकान्विति कमजोर छ । विचार छिरोलिएका छन् । एउटै कथामा एकभन्दा बढी प्रसङ्ग र विषयवस्तुले स्थान पाएका छन् । ती सन्दर्भ कथाको परिवेशका रूपमा आएका छन् तर मुख्य कथासँग असम्बन्धित छन् । कतिपय कथामा कथ्य वस्तु यसरी छिरोलिएको छ कि मुख्य कथासन्दर्भ के हो भनी पहिचान गर्न पनि हम्मे पर्छ । कथामा कार्य–कारण सम्बन्ध कमजोर भएको छ जसले कथातन्तु निकै जीर्ण र कमजोर बनेको छ भने वैचारिकता प्रबल छ । सामाजिक विकृतिप्रतिको रोश प्रखर रूपमा प्रकट भएको छ । सबै कथा तृतीय पुरुष दृष्टिबिन्दुमा लेखिएका छन् । प्रत्येक कथामा कुनै न कुनै पात्रलाई कथाकारको मुखपात्र बनाइएको छ । कथा बाचक बाहिर तटस्थझैँ बसे पनि एकाद ठाउँमा चिप्लिएर ‘हामी’, ‘म’ जस्ता प्रथम पुरुष सर्वनाम प्रयोग गरिएको देखिन्छ । यो लेखन तथा सम्पादनका क्रममा भएको त्रुटि हो । प्रस्तुत सङ्ग्रहका कथामा वैचारिक पक्ष जति सशक्त छ प्रस्तुति त्यति सशक्त हुन सकेको छैन । पुरानै वर्णविन्यासको प्रयोग हुँदा आजका सन्र्दभमा देखिने भाषिक अशुद्धि पनि प्रस्तुत सङ्ग्रहको विचारणीय पक्ष हो । सिङ्गो पुस्तकको सार द्वन्द्व र हिंसारहित समृद्ध र मानवीय मूल्यमान्यतामा आधारित समाजको निर्माणमा केन्द्रित रहेको देखिन्छ । भ्रष्टहरूको उछितो काड्नुका साथै शासकको नालायकीपनलाई समेत कथोपकथनको परिधिमै रहेर गहन वैचारिक झापड हानिएको छ ।