मिर्मिरे उज्यालोमा उठ्नासाथ सधैँ झ्यालबाट,
दक्षिणपश्चिम दिशामा,
एक जटाजुटधारी हात बाँधेर,
एक खुट्टामा उभिएको गजधम्मको उपस्थिति नै,
मेरो बालापनको अतीतको एक अटुट दृष्य सम्झना,
चन्द्रमा लागेमा केही स्पष्ट,
अन्य दिन अस्पष्ट तर अविस्मरणीय आकृति,
जस्तोसुकै मौसममा पनि,
एक अविचलित अडिग आदरणीय तपस्वीको,
एक अति पावन सामीप्यको आभास,
दर्शन मात्र पनि बिहानीको निर्मलताका लागि पर्याप्त,
सान्निध्य दिनभरिको उल्लासको कारक ।
उनी राधाकृष्णको प्रेमका एकमात्र मूक जीवित साक्षी रे,
आफ्नै जटाभित्र बस्त्र लुकाएर,
कृष्णले गोपिनीहरूको चीरहरण गर्दाका एक मतियार पनि रे,
त्यसैले त आफैँ पनि ‘हरिप्रिया’ नामसमेतले प्रसिद्ध,
कद र कर्म दुवैमा,
एक विशाल कदमको रूख,
हामी सबै गाउँलेको ‘जीवनरेखा’ ।
जेठ असारमा आकाशले आगो ओकल्दा,
सम्पूर्ण राप आफ्नो जटाभित्र समाहित गरी,
आफ्ना शरणार्थीलाई शीतल छहारी,
विष खाएर अमृत दान ।
त्यसैले त,
बुद्धु टुडु सतार डोरीको खाटमा निश्चिन्त पस्रिएका छन्,
छहारीमा मिठो निद्रामा मग्न हुन सकेका छन्,
बिहान हलो तानेर लखतरान गोरुहरू,
अर्को कुनामा बसेर उग्राउन पाएका छन्,
साना केटाकेटीहरूले यताबाट उता उताबाट यता गर्दै,
मिठो मुस्कान छर्न सकेका छन्,
पहेँलो भुईँमा सेतै फुलेको कपाल सरहको गोलो फूलको,
अति मिठो महकमा,
आनन्दविभोर हुन पाएका छन्,
हामीजस्ता केही ठुला केटाकेटी,
रूखका हाँगामा ओहोरदोहोर गरी रमेका छौँ,
सम्पूर्ण गाउँ नै,
उनको घनीभूत छत्रछायामा,
निश्चिन्त विचरण गर्छ,
गर्मीलाई विस्मरण गर्दछ ।
चराहरूलाई समेत राम्रोसँग थाहा छ,
गुलेली लिएर हिँड्ने व्याधा पनि,
यिनको पवित्रतम उपस्थितिका अगाडि,
नतमस्तक भएर आफ्नो सिकारी मनलाई विश्राम दिन्छन्,
त्यसैले,
सयौँ ‘दर्जीचरा’ले यिनको जटाको टुप्पोमा,
छपक्कै गुँड लगाएर,
हिजोआजको कपालको टुप्पो रङाउने चलनजस्तै,
टुप्पो सेतै पारिदिएका छन्, सिँगारिदिएका छन्,
रुपी र ढुक्कुरले भित्री हाँगामा,
आफना बचेरा कोरलेका छन्,
तब त !,
नवजीवनको मिठासयुक्त बोली रूखैभरि रङ्मगिन्छ,
टाउको भन्दा ठुलो मुख बाएर,
बचेराहरू खान पुगेन भनी घुर्की लाउँछन्,
‘च्याँ......च्याँ... च्याँ......च्याँ...,’
माउहरू निश्चिन्त चारा खोजेर ल्याउँछन्,
एक वृक्षको मूक अभयदानको पहिचानले...,,।
दसैँ आयो, चिन्तै छैन,
सदाझैँ पूर्वोत्तर हाँगो पिङ हाल्न उपयुक्त छ,
चचहै............चचहै..........
सम्पूर्ण गाउँलाई उल्लासमय,
शरदीय वातावरणको सृजना,
अमिलो गुलियो मिस्रित,
पाकेको फलको कोसेली पनि,
चरा र केटाकेटीलाई,
हाम्रो गाउँको यस्ता ‘तपस्वी’को
एक पवित्र उपस्थितिको सुस्मरण ।
२०७७ फाल्गुण ५ गते
स्वआश्रम ।
लेखकको सम्वन्धमा