आरुको बोट, प्रकृति र भ्रमर

 धेरै वर्षदेखि म देख्दै छु
 हरेक वसन्तमा पाउला हाल्ने
 ती आरुका बोटहरू
 फुल्दा बग्रेल्ती फूल झार्दै भुईँमा
 लहलह देख्दा
 त्यो प्राकृतिक सौन्दर्य र छटासमेत
 लठ्ठिएको देखेर,
 मन उद्विग्न बन्छ निरन्तर धर्तीमा ।
 लाग्छ त्यो आरुको बोटले 
 एउटा इतिहास पस्किरहेछ 
 फेदैमा उभिएर एउटा बटुवा
 टोलाइरहेछ त्यो रूखतिर फर्केर
 सायद जीवनको परिभाषा पहिल्याउन खोजेर हो
 वा जीउने कलाको खोजमा 
 ऊ अरगज्ज बनेर एकोहोरिएको जस्तो छ ।
 त्यहीँ पर अर्को बोटमा
 आरूका चिचिलाहरूसँग फूलको रसमा लालायित
 ती भ्रमरहरू यत्रतत्र भुनभुनाइरहेछन्
 उमेर पुगेका हुन्–नहुन्
 तिनको ध्येय रस चुस्नु मात्र भएको जस्तो
 अलपत्र पाराले प्रकृतिलाई
 आफ्नो स्वत्वमा चल्न नदिने जमर्कोमा
 भौँतारिइरहेछन् लगातारको यात्रामा ।