January 19, 2025, Sunday
२०८१ माघ ७, सोमबार

पाँचथर समाजको पूर्ण बैठक

काठमाडौँ, माघ १७

पाँचथर समाज काठमाडौँको दोस्रो पूर्ण बैठक समाजका का. वा. अध्यक्ष सुरेन्द्र तिम्सिनाको अध्यक्षता र महासचिव लक्ष्मीराज लिम्बू तावाको सञ्चालनमा गौशाला, विजयचोकस्थित श्री बाबा बाटिका बोर्डिङ स्कुलमा सम्पन्न भयो ।

बैठकमा प्रस्तुत प्रस्तावमाथि सम्पूर्ण सहभागी पदाधिकारी एवम् सदस्यहरूबाट व्यापक छलफल गरी सौहार्दपूर्ण वातावरणमा समाजको सुदृढीकरण र विकासका लागि केही महत्त्वपूर्ण निर्णय गरियो ।

समाजमा रिक्त पदाधिकारी र सदस्यहरूको पदपूर्ती गर्न १३ सदस्यीय सचिवालय (कार्य सम्पादन समिति) गठन गर्ने निर्णय भयो । विशेष साधारण सभा चाँडै (चैत्र महिनामा) गरी रिक्त रहेको अध्यक्ष पद पूर्ति गर्ने, समाजको सुदृढीकरणका लागि साधारण सभाअगावै व्यापक रूपमा साधारण तथा आजीवन सदस्यता वितरण गर्ने, समाजको आवश्यकताअनुसार सचिवालयको बैठक बसी निर्णय गर्ने निर्णय भएको जानकारी समाजका सदस्य वासुदेव अधिकारीले दिए ।

पाँचथर जिल्लाबाट काठमाडौँ आई बसोबास गर्ने सम्पूर्ण पाँचथरबासी तथा सम्पूर्ण पाँचथरेली जनताहरूलाई शिक्षा, स्वास्थलगायत विभिन्न आपतकालीन अवस्थामा सेवा गर्ने उद्देश्यले खगेन्द्र जबेगूको अध्यक्षतामा २०६८ सालमा काठमाडौँ जि. प्र .का. मा संस्था दर्ता भएको थियो ।

संस्थापक अध्यक्ष जबेगूको असामयिक निधनपछिको पहिलो पूर्ण बैठकले सुरेन्द्र तिम्सिनालाई का. वा. अध्यक्ष बनाएको थियो ।