एकादेशमा
एक विर पुरुषले
एक औँला हावामा ठड्याउँदै
देखाइदिए सारा जगत्लाई
'एक'को तागत।
एक ज्यानले
पाएको एकै जिन्दगीलाई
बनाइदिए टाँस्ने सरेस
र जोड्न लगाए
छरिएका कयौं टुक्राटाक्री
अनि भयो हिसाबकिताब
तब एकमा कयौं एक जोड्दा
जम्मा हिसाब विशाल एक भयो ।
एक सासले
हारे पनि पटकपटक
निभ्न दिएनन् 'एक'को सपना
फुकिरहे हिम्मतले भुङ्ग्रो
बालि छाडे एकताको आगो
र निभेनन् स-साना झिल्का।
यसरी नै सिक्नु हार नमान्न ।
एकले बनाइदियो विशाल एक
र त्यही एकमाथि
आज तिमी गर्व साथ उभिएर
गाइरहेछौ राष्ट्रियगान
र बेलाबेला पोख्न पाइरहेछौ राष्ट्रियता
यस कथाको एकादेशलाई भन्न पाएको छौ
-मेरो देश
सान देखाउँदै लगाउन पाएको छौ
शिरमा टोपी
काँधमा बक्खु
कम्मरमा धोति
तिमी छौ किन कि विशाल एक छ
विशाल एक छ किन कि एक थिए।
आज विशाल एक भएको यतिका वर्षपछि
कहिले कहिले
कोहिले कोहिले
त्यसरिनै एक औँला हावामा
तर अरुतिर देखाउँदै
तँ र म , तेरो र मेरो गरेको देख्दा
सार्है दुख लाग्छ छोरा
एकताको तागत धेरै हुन्छ
राष्ट्र र राष्ट्रियता महान् छ
नबिर्सनु!
तिमी, म , ऊ , हामी
सबै सबैमा अंश छ
त्यस एक विर पुरुषको
त्यसैले फुटाउन नदेउ यस विशाल एकलाई।
सुत छोरा
आज कथा यतिनै
भोलि फेरि हुनेछ एक नयाँ बिहानी
मनमा राख्दै एक पुरुषलाई
लाग्नु तिमी एकताको बाटो
रच्न सक्छौ एक नयाँ इतिहास
र यसरी नै भन्न सक्छ कसैले तिम्रो कथा-
"एकादेशमा
एक 'एक' प्रेमी थिए !"
लेखकको सम्वन्धमा