April 25, 2024, Thursday
२०८१ बैशाख १४, शुक्रबार

फेरि जङ्गबहादुर जन्मेलान्!

 स्वाभिमान गुमाएका 
 ए जिउँदा लासहरूहो !
 कसैको इसारामा गति बढाउने
 स्वाधीन राष्ट्रका
 ए बुख्याँचाहरूहो !
 आज देश दुख्दा किन दुखेनन् तिम्रा मनहरू !
 ए राष्ट्रवादको जाली खोस्टा ओढ्नेहरूहो !
 आज देश भुमरी झाकिँदा किन काँपेनन् तिम्रा ओठहरू?
 किन उर्लिएनन् ज्वारभाटाहरू?
 तर मलाई थाहा छ 
 तिमीहरू मुक्त ढुङ्गा हौ !
 न मस्तिष्क छ न आत्मा छ।
 तर खबरदार !
 हामीलाई निर्धो नसम्झनू
 न हाम्रो तिम्रो झैँ परजीवी सोच छ
 न कायर मस्तिष्क नै
 बगेको खोलो नफर्केला अनि
 नपर्खेला समयले
 धिक्कार्लान् अग्रजका विरासतले
 सराप्लान् अनुजका आत्माहरूले 
 अनि धिक्कार्ला त्यो सालिन इतिहासले ! 
 त्यसैले,
 समय सधैं मेरै हुन्छ भन्ने नसोच्नू
 अर्को जङ्गबहादुर जन्माउने बिउको नछर्नू,
 होइन भने 
 जाग्लान् तराईहरू
 जुर्मुराउलान् पहाडहरू 
 र अग्लिएलान् हिमालहरू 
 अनि जन्मेला अर्को युगका नयाँ जङ्गबहादुर !