April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

गणतन्त्रका सहिद दुर्गानन्द झा

विद्यार्थीको सिर्जनात्मक क्षमता प्रवर्धन गर्ने अभिप्रायले कक्षा ११ को नेपाली विषयको एउटा अभ्यासलाई यस लेखका रूपमा प्रस्तुत गरिएको हुँदा स्रोत नखुलाई अन्य कसैका लेखका अंश वा विचार परेका भए पनि बालबालिकाको सामान्य सिकाइ प्रक्रियाका रूपमा लिनुहुन अनुरोध गरिन्छ । – विषय शिक्षक, मनोहर माध्यमिक विद्यालय, टोखा ।

दुर्गानन्द झाको जन्म वि.सं. १९९९ वैशाख १४ गते  सिरहा जिल्लाको जटही भन्ने गाउँमा भएको थियो । उनी पिता देवनारायण झा र माता सुकुमारीदेवीका एक्लो सन्तान थिए । उनी बालक हुँदै उनका पिताको मृत्यु भएको थियो।  बाल्यकालमा राम्रो गायक र फुटबल खेलाडीका रूपमा परिचित झाले प्राथमिक शिक्षा जटहीमा नै पूरा गरेका थिए  भने थप अध्ययनका लागि भारतको एक विद्यालयमा भर्ना भएकाा थिए । 

प्रजातान्त्रका पक्षपाति दुर्गानन्द झा राजाको निरङ्कुश शासनको विरोधी थिए । पञ्चायत कालमा राजा महेन्द्र सवार गाडीमा गोली प्रहार गरेका १८ बर्से दुर्गानन्दले आफ्नो हिम्मत पञ्चायीति व्यवस्थाप्रतिको आक्रोश र लोकतन्त्रप्रतिको प्रेम दर्साएका थिए । उनले नै पहिलो पटक नेपालमा राजाबिनाको गणतान्त्रिक शासनको कल्पना गरेका थिए र देशमा गणतन्त्र स्थापनाका लागि उनले आफ्नो ज्यानको आहुति दिए । २०१८  साल माघ ९ गतेको उक्त आक्रमणमा तत्कालीन राजा महेन्द्र बाँच्न सफल भए भने झा भागेर भारत पुगे । सो बमकाण्डको आरोपमा ५ दर्जनभन्दा बढी व्यक्तिलाई पक्राउ गरी सरकारले यातना दिन थाल्यो, त्यसबेला उनी भारत निर्वासनमा थिए । आफूले गरेको आक्रमणको कारण अन्यलाई यातना दिएपछि उनले जे परिणाम भए पनि नेपाल फर्किने निर्णय गरे। उनले तत्कालीन सरकारलाई चिट्ठी लेख्दै गिरफ्तारी दिएपछि एकरात जलेस्वरमा र त्यसपछि सुनधारा जेल ल्याइएको थियो । के भनिन्छ भने राजा महेन्द्रले सो कार्य गरेकोमा दर्गानन्दले माफी मागेमा उनलाई मृत्युदण्ड नदिने भनेका थिए । तर दुर्गानन्दले ठाडै सो प्रस्ताव अस्वीकार गरी बरु प्रजातान्त्रका लागि  ज्यान उत्सर्ग गरेका हजारौंको बलिदानीको उपहास गरेकाले राजाले माफी माग्नुपर्छ भनेका थिए । बमकाण्ड छानबिनका लागि एक समिति गठन गरिए पनि २०१९ साल भदौ १९ गते कुनै सुनुवाइको मौका नदिईकनै मृत्युदण्डको सजाय तोकिएको थियो । ब्राह्मणलाई मृत्युदण्ड नदिने भनेर लेखिएको मुलुकी ऐन संशोधन   पनि त्यसै समयमा गरिएको थियो । मनुस्मृतिमा उल्लेख भएअनुसार धार्मिक दृष्टिले ब्राह्मण, जोगी, सन्यासी र महिलालाई मृत्युदण्डको सजाय दिनु महा पाप हो । उनी ब्राह्मण समुदायमा पहिलो पटक मृत्युदण्ड पाउने सहिद पनि हुन् ।

उनलाई मृत्युदण्ड दिनुभन्दा एकदिनअघि उनकी आमा र श्रीमतीसँग उनलाई केहीबेर भेट गर्न दिइएको थियो । केहीबेरको भेटमा उनले आमालाई भने, ‘नरुनुहोस् आमा, कुनै दिन तपाईंलाई दुर्गानन्दकी आमा भनेर सबैले गर्व गरेर हेर्नेछन् ।’ श्रिमतीलाई पनि यसैगरी सान्त्वना दिँदै आमाको हेरचाह गर्न भनेका थिए। ` म दीर्घयात्रामा गए पनि लोकतन्त्रलाई कसैले रोक्न सक्दैन´ मृत्युदण्डअघि उनले भनेका थिए ।  २१ वर्षको उमेरमा जेलमा राखिएको १८ महिनापछि २०२० साल माघ १५ गते मध्यरातमा उनलाई फाँसी दिइएको थियो । २४० वर्षसम्म नेपालमा शासन गरेको शाह वंशीय  राजतन्त्रको उन्मुलन गर्ने सपना बोकेका दुर्गानन्दको लक्ष ४४ वर्षपछि पूरा भयो । मधेसवादी दल र नेताहरूका साथै मधेस का बुद्धिजीवी र जनताहरुले उनलाई सहिद घोषणा गर्न पटक पटक माग गरेका थिए  । उनको मृत्युको ५२ वर्षपछि नेपाल सरकारले उनलाई सहिद  घोषणा गरे पनि मधेसमा भने उनलाई धेरै पहिलेदेखि गणतन्त्रवादी सहिद र प्रजातन्त्रवादी योद्धाका रूपमा सम्मान छ । हरेक वर्ष माघ १५ गते उनलाई सम्झँदै उनको बलिदानी दिवसका रूपमा मनाइन्छ ।