एउटा भूगोल
हिमालझैं अटल
आत्मसम्मानको शिर
वीरताको गाथा ओडेर
खोज्दै छ अस्मिता आज मेरो देश।
सपूतको देन
अटल स्वाभिमान
दासत्व फालेर
खोज्दै छ कोइलामा हिरा आज मेरो देश।
तुहिएको गर्भ र कुहिएको बुद्धि
देखाई नाङ्गो आँङ
खोज्दै छ फरिया आज मेरो देश।
बुद्धभूमिको पठार
रक्तबीजको नाङ्गो नाच
भएर वाक्क देवता
खोज्दै छ चण्डी र काली आज मेरो देश।
देखेर भष्मासुर
भयभीत शिवजी
गरेर पश्चातप
खोज्दै छ सुन्दरी आज मेरो देश।
जुवाको खाल
परेर फन्दा शकुनि पासो
हारेर इन्द्रप्रस्थ
खोज्दै छ हस्तिनापुर आज मेरो देश।
कस्तूरी पसिना
उर्वर माटो
हराएर स्वर्ग
खोज्दै छ रछ्यानमा अत्तर आज मेरो देश।
लेखकको सम्वन्धमा