प्रिये !
म तिम्रो साह्रै ठुलो प्रशंसक हुँ,
अझ प्रस्ट भन्दा एक प्रेमी हुँ, एक अनुयायी हुँ,
तिमीलाई थाहै छ,
मलाई फुर्सदका क्षण तिमीसँगै कुराकानी गरी बिताउने तृष्णा रहिरहन्छ,
तिम्रो रूपरङ्ग खानपान बानी व्यहोरा,
रिट्ठो नबिराई नियाल्ने कोसिस सदा रहिरहन्छ ।
नरिसाऊ है,
तिम्रो शुभचिन्तक भएकैले,
सोझै भन्ने धृष्टता गर्दै छु,
हिजोआज तिम्रो चालमा पहिलेको गरिमा,
कता कता हराएजस्तो छ,
त्यस्तो शालीन, शान्त मुहार, गाँठो परेर विकृत भएको छ,
मुख नबङ्ग्याई शव्दै निस्कँदैन,
निधारमा त्रिपुण्डधारीको जस्तो ठाडा धर्साले,
स्थायी डेरा जमाएको देख्दछु,
बोल्दा पुरातन ड्रागनको जस्तो,
मुखबाट हुरहुर आगो ओकलिन्छ ।
अस्ति गाउँ गइछ्यौ,
खाली खुट्टा, भोको पेट र नाङ्गो तनको,
कथा, व्यथा बोकेर आइछ्यौ,
हो त्यो पनि एक पाटो पक्कै हो, तर त्यति मात्र हो र ?
पहिले त ग्राम्य जीवनका लागि
‘अहा क्या मजा मिल्दछ यो जिन्दगीमा’
भन्दै, गाउँदै, उफ्रिँदै, नाच्दै हिँडेको मेरै आँखाले देखेको हुँ,
ती शब्द हराए त हिजोआज,
दसैँको व्याख्यामा, साहु र ऋणी, भोकभोकै परेको, अप्ठ्यारो परेको,
मात्र चित्रित हुन्छ,
‘हट्यो सारा धुलो मैलो, हरायो पानीको वर्षा’
जस्ता उत्साहित उद्धरण,
फगत भूतकालका साक्षी मात्र हुने भए अब ?
व्यङ्ग्य नै मात्र तिम्रो जिजीविषाका खुराक भएका छन्,
सामाजिक व्यङ्ग्य, आर्थिक व्यङ्ग्य, राजनीतिक व्यङ्ग्य,
कृपया तिम्रा यी व्यङ्ग्यको एकोहोरो बहुलट्ठीपन,
चिरेर त हेर,
तिमीले आफ्नो त भयो नै,
मजस्ता प्रशंसकको समेत निद्रा बिथोलेकी छ्यौ,
यस्तै भइरहेमा,
तिम्रो कल्पवृक्षरूपी सम्पूर्णताको तुणिरमा,
केवल र केवल व्यङ्ग्यवाण मात्र रहन कत्ति बेर छैन,
र तिमी,
कविताबाट ‘व्यङ्ग्यिता’मा परिणत हुन ।
लेखकको सम्वन्धमा