February 8, 2025, Saturday
२०८१ माघ २६, शनिबार

ईर्श्यालु बादल

अहा ! क्या अलौकिक प्रतीत हुने मिलन,
न सङ्कोच, न अप्ठ्यारो,
न विचलन, न द्विविधा,
प्रेमीको आलिङ्गनमा मदमस्त,
संसार नै विस्मृत ।
 
सदायौवना हिमशिखर,
सधैँझैँ पर्खेर बसेकी,
बिहानको सूर्यरश्मी प्रेमीलाई,
रातभरिको समिरको वेगवान थपेडाले समेत,
अडिग, अचल, अविचलित,
यस मिलनका साक्षी हामी सारा,
प्रेमी प्रेमिका एकाकार,
मुस्कानको चमक आँखा नै तिर्मिर्‍याउने,
भेट्नेबित्तिकै सारा शरीर नै,
बलेर धपक्कै स्वर्णिम ।
 
ए   ए   ए बादल !
तँ कहाँ जान लागेको ? पख्....पख्,
यो पराशर मत्स्यगन्धा मिलन होइन,
कुहिरो बनेर छोप्नु पर्ने,
यो वासनायुक्त शारीरिक मिलन होइन,
 अपितु आत्मिक हो,
र प्रत्येक बिहानी यस मिलनको साक्षी बस्न,
प्राणी, रूख बिरुवा, नदी, पहाड, आतुरीका साथ पर्खेका हुन्छन्,
तँ मात्र यस मिलनको विरोधी नबनेस् ....बाबै.....।
पहिले त तँ प्रेमको, मिलनको,
हिमायती थिइस् रे त !
त्यसैले त कवि कालिदासले तँलाई,
बिछोडिएको प्रेमीको सन्देश पुर्‍याउन,
सम्पूर्ण तथा अटुट विश्वासका साथ,
दूत बनाएको ‘मेघदूत’ तैँ हैनस् र ?
 
तँ पनि त प्रत्येक वर्षामा,
प्रेमीका पृथ्वीलाई आफ्नो आलिङ्गनद्वारा,
अभिभूत गराउन चुक्दैनस्,
मिलन पश्चात्को पुनर्गर्भवती हरित वसुन्धरालाई,
मन्त्रमुग्ध झुमेको हेर्न,
सबै उत्तिकै लालायित हुन्छौँ त !
हिमशिखरले तँलाई अरूतिर भट्किन नदिई,
प्रत्येक वर्ष फर्काउँछन् यतैतिर मिलनका लागि,
कि त्यसैको ईर्श्यालु बदला हो ?