December 9, 2024, Monday
२०८१ मंसिर २४, सोमबार

बाधक नबनोस् संस्कार

समाजलाई बुझ्ने र बदल्ने सर्वोत्कृष्ट र सर्वमान्य माक्र्सवादी पार्टी र मातहतको सरकार हुदाँको बखत उक्त पार्टीभित्र देखिएको अन्तर्सङ्र्घष सतहमा छताछुल्ल भएको छ । धेरै त्याग र बलिदानको परिणाम एक थान अग्रगामी र समाजवादोन्मुख संविधान नेपाली जनताले पाएका छन् ।

       गरिबी, रोग र भोकले आक्र्र्रान्त भएरै पनि राष्ट्रप्रतिको बफादारी र राष्ट्रभक्ति नेपाली जनताका सम्मानजनक विशेषता हुन् । जुन विश्वजगतमा उदाहरणीय र सराहनीय छ । राजनीतिक, सैद्धातिक र दार्शनिक चेतनास्तर जहाँ र जस्तो भए पनि लाखौंको सङ्ख्यामा नेपाली जनताहरू कम्युनिस्ट पार्टीको वरिपरि गोलबन्द बन्दै गए । यसरी गोलबन्द हुनुको कारण जनमानसमा कम्युनिस्ट पार्टीले सबै प्रकारका शोषण, दमन, अन्याय, अत्याचार र उत्पीडनबाट मुक्तिका लागि सङ्घर्षको नेतृत्व गर्न सक्छ भन्ने बुझाइ नै मुख्य हो । हालको कम्युनिस्ट पार्टीको सङ्ख्यात्मक पक्षलाई हेर्दा समानता र न्यायको पक्षमा निडर रूपमा आफूलाई उभ्याई निश्चित दिशाबोध गर्न सक्ने स्थानमा ने.क.पा छ भन्ने कुरा प्रस्ट देख्न सकिन्छ । जनताको इमान्दारीता, त्याग र बलिदानीको कुरा गर्दा दश बर्से शसस्त्र जनयुद्ध, मधेस आन्दोलन, उन्नाइस दिने जनआन्दोलन र अन्य विविध आन्दोलनको कारण आज ने.क.पा यो अवस्थामा आइपुगेको कुरा सबैका सामु छर्लङ्ग छ ।

       जुनसुकै कार्य कुशलतापूर्वक सञ्चालन गर्नका लागि विधि प्रक्रिया र पद्धति अत्यन्त महत्त्वपूर्ण हुन्छ । अन्यथा अपेक्षाकृत उपलब्धि हासिल हुँदैन । जुनसुकै राजनैतिक सैद्धान्तिक धरातलमा रहेका पार्टी मातहतको सरकारको पनि उस्तै खालको कार्यविधि, प्रक्रिया र पद्धति रहिरह्यो र देश यथास्थितिमा अल्मलिइ नै रह्यो । पार्टीका सर्वोच्च नेतृत्वदेखि कार्यकर्ता तहसम्म विधि र प्रक्रियालाई उपेक्षा गर्ने र आत्माकेन्द्रित निर्णयहरू गर्दै जाने, आफू अनुकूलताका मात्र नीति र विधिहरू बनाउँदै जाने क्रम बढेर गयो । पार्टी, मातहतका जनवर्गीय सङ्गठनहरूमा समेत जिम्मेवारी, जवाफदेहीता र इमान्दारीता हराउँदै गयो । जसको परिणाम पार्र्टी, सङ्गठन, राज्य र राज्य मातहतका निकायहरू असफलतातिर उन्मुख भए । जनताको बलिदानी र त्याग फिक्का हुँदै गयो । पात्रहरू फेरिइरहे तर प्रक्रिया, विधि र पद्धति यथावत रह्यो । राजाको सवारीमा बिछयाइने कार्पेट मन्त्री र प्रधानमन्त्रीको सवारीमा बिछयाइयो । कार्यलयका अगाडि टाँगिएका बोर्डहरूमा नाम सच्चाइए । कार्यलयमा काम गर्ने कर्मचारीको राजकीय शैली कहिल्यै फेरिएनन् । संविधानमा सार्वभौमसत्ता सम्पन्न भनिएका जनताहरू सधै रैतिका रूपमा रहिरहे । पार्टी सङ्गठन र साङ्गठनिक मूल्यमान्यता अनि नैतिकतालाई बेवास्ता गर्ने र शीर्ष नेतृत्वसँग मात्र सामीप्यता बढाउँदै जाने राजकीय प्रवृत्तिले सङ्गठनहरू जीर्ण बन्दै गए । नेतृत्वका सामीप्यताका एकाध कार्यकर्ताहरूको आर्थिक समृद्धि हुने र जीवनशैली परिवर्तन हुने प्रक्रियाले निरन्तरता पाइनै रह्यो ।

राज्य मातहतका कार्यालयका कार्यशैलीहरू यथावत नै रहे । परिर्वतनका आशा र चाहना बोकेको थुप्रै नेपाली जनताहरू जनताले अनुभूत गर्न सक्ने खालको परिर्वतनको पर्खाइमा तड्पि नै रहे । कर्मचारीहरू एक ठाउँबाट अर्को ठाँउ सर्ने काम पालैपालो भैरहेको देखियो तर राजकीय सम्मान र पुरानै कार्यशैलीका कारण मूर्त रूपमा परिर्वतन आउन सकेन । यसो भन्दै गर्दा तत्कालीन ऊर्जामन्त्री जनार्जन शर्माले आफू ऊर्जामन्त्री हुदँै गर्दा भन्नुभएका शब्दहरूले मेरो मन छोएका थियो “१८ घण्टा लोडसेडिङको तालिका थमाइएको यो परिस्थितिमा म लोडसेडिङ मन्त्री होइन, ऊर्जामन्त्री बन्न चाहान्छु ।” सायद उहाँहरूको इच्छाशक्ति र जवाफदेहिता अनि तत्कालीन विधुत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान धिसिङ्को इमान्दारीताको कारणले आज ऊर्जा क्षेत्रमा आम जनताहरूले अनुभूत गर्ने गरी परिर्वतन आएको छ । तत्कालीन ऊर्जामन्त्री जनार्जन शर्मा (प्रभाकर) र कार्यकारी निर्देशक कुलमान घिसिङ्को वहिर्गमन सँगसँगै जनताका भावना विभिन्न पत्रपत्रिका, मिडिया र सडकसम्म छताछुल्ल भएर पोखिए । सम्बन्धित पक्षको इमान्दारीता र जवाफदेहिताको कारण आम नेपाली जनताले परिवर्तनको अनुभूति गर्न पाए । जसका लागि शब्दरूपी गुच्छाहरूको माध्यमबाट हृदयदेखि सम्मान गर्न चाहान्छु । हालको प्राकृतिक सङ्कट (कोभिड १९) र बत्तीको उपलबधता साँच्चै सान्र्दभिक र प्रशंसनीय छ । अझै ऊर्जामन्त्रालय प्राधिकरण र सम्बन्धित निकायले ऊर्जा क्षेत्रमा गर्नुपर्ने धेरै कामहरू छन् । अलपत्र झुन्डिएका तारहरूलाई अन्डरग्राउन्ड गर्ने कुरा, ट्रान्समिटर र बिजुलीका पोलहरूलाई व्यवस्थित गर्ने कुरा, विधुत् क्षमता वृद्धि गर्ने आदि कुराले निरन्तरता पाइरहनुपर्ने हो । जुन अनुभूति गर्न सक्ने गरी भैरहेको छैन । जनता फेरि जर्नादन शर्मा र कुलमान घिसिङ्को वहिर्गमनसँग सशङ्कित हुन थालेको आभास हुन्छ ।

       एकातिर जनताको जीविकासँग सम्बन्धित सम्र्पूण क्षेत्रमा भएका अस्तव्यस्तको कारण जनताहरूको नेतृत्व र पार्टीसँग असन्तुष्टि बढ्दै गएको छ । अर्कोतिर नेतृत्वहरूको आत्मकेन्द्रित राजकीय शैली र प्रवृतिको पराकाष्ट पार्टीभित्र लाइन सङ्घर्षले चरम रूप लिइएको छ । जुन परिस्थिति हिजोका दिनदेखि पार्टीलाई नजिकबाट देख्ने विश्वास गर्ने र माया गर्ने इमानदार कार्यकर्ताहरूका लागि पीडादायी बनेको छ । सङ्ख्यात्मक रूपमा विश्वसमूदायबिच एउटा ठुलो कम्युनिस्ट पार्टी र मतहतको सरकार बनेको यो परिस्थितिमा नेतृत्व, कार्यकर्ता र जनताका सहकार्यबाट देश र जनतालाई मुक्तिको दिशातर्फ उन्मुख गर्नुपर्ने यो सङ्गिन मोडमा पार्टी जुन अराजकतातिर मोडिएको छ, त्यो नेपाल र नेपालीको हितमा छैन ।

              शिक्षा, स्वास्थ्यजस्ता जनताका आधारभूत क्षेत्रमा व्यापारीकरण र भ्रष्टीकरण प्रस्ट देख्ने मात्र होइन, सरकार र सर्वसाधारणको पहुँचबाट नै ती क्षेत्रहरू बाहिर पुगेको आभास हुन थालेको छ । होनाहार इमानदार नेपाली जनताको बलिदानीपश्चात देशमा आलिसान निजी विद्यालयहरू ठडिए, यहाँका एकाघबाहेक सामुदायिक विद्यालयका विधार्थी, विद्यालयको भौतिक अवस्था र त्यहाँका शिक्षक, कर्मचारीको अवस्था फेरिएनन् । २०२८ को शिक्षा ऐन २०४९ मा संशोधन भएपश्चात् हालसम्म शिक्षामा ठोस ऐन नियम आउन नसक्नु विडम्वनाको कुरा हो । हालको कोभिड–१९ को सङ्कटको अवस्थासम्म आइपुग्दा सरकारी शिक्षकहरू अन्योल र अस्तव्यस्त अवस्थामा छन् भने निजीका शिक्षकहरू जागिरबिहीन बनाइएका छन् । यसमा राज्यको जवाफदेहीता कत्ति पनि देखिएको छैन । यो सबै हुनुको कारण मन्त्रालय, मातहतका निकाय र कर्मचारीहरूको नफेरिएको राजकीय शैली अनि राजनैतिक एकाध कार्यकर्ताहरूको नेतामुखी प्रवृत्ति नै हो ।

  सरकारी अस्पतालहरूमा पर्याप्त शैय्या र स्वास्थ्य सामाग्री नहुँदा अस्पतालको गेटमा बिरामीको  चित्कार सुन्नु परेको छ । सरकारी भनिएका अस्पतालमा पैसा तिरेरै उपचार गर्न खोज्दा ठुला नेताको पँहुच हुनुपर्ने अवस्था आज सिर्जना भएको छ । आफ्ना ढङ्गले सञ्चालित निजी अस्पतालहरू जनताको पहँुचबाट टाढा छन्  । सरकार र स्वास्थ्य मन्त्रालय सामाग्री खरिदमा भष्ट्राचार प्रकरण र कमिसनको खेलमा हराएको छ । जनतासँग संवेदनशील र उत्तरदायी छैन । सरकार जिम्मेवार र जवाफदेही नहँदा आम जनतामा निराशा बढेर गएको छ ।

       जनताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकारका क्षेत्रहरू आपूर्ति, खानेपानीजस्ता क्षेत्रहरूमा त्यस्तै व्यापारीकरण भएको छ । बिरामीले ढुक्कसँग दुध किनेर खान सकेका छैनन् । सँगै अखाद्य पदार्थ खाएको अनुभूत गर्नुपरेको छ । नेपालका दूरदराजका जनताहरूले घण्टौं पिउने पानीका लागि समय छुट्टयाएर बाँच्नुपरेको छ । काठमाडौंजस्ता सहरहरूमा घरमा पानीको धारो जोडेर राजश्व  बुझाउने अनि ट्याङकरको पानी किनेर जीविकोपार्जन गर्ने बाध्यतामा जनता छन् । तै पनि मन्त्री र मातहतका कर्मचारीहरू फेरिँदा फूलमाला र अबिर जात्रा गर्नेको घुँइचो घटेको छैन् । कार्यकर्ताको पन्छाइ नसक्ने भिडले होला सायद मन्त्री र उच्च पदस्थ कर्मचारीहरूले जिम्मेवारी र जवाफदेहीता भुसुक्कै भुलेका छन् ।            

       सामाजिक संस्कारको पाटो त्यस्तै अस्तव्यस्त छ । महिला, बालबालिका र ज्येष्ठ नागरिक मन्त्रालय, मन्त्री अनि पात्रहरू पनि फेरिइनै रहेका छन् । निर्मलाजस्ता चेलीबेटीहरूको बलत्कार हुने र न्याय नपाउने अवस्था यथावत नै छ । बलत्कार गर्नेहरूको बेइज्जति नहुने र बलात्कृत बालिकाको बेइज्जति हुन्छ भनेर बुझने सामाजिक चिन्तन र मानसिकतामा परिवर्तन आउन नसक्दा यहाँ बलात्कृतहरू र बेचबिखनमा पारिएका चेलिबेटीहरू उजुरी गर्नै नसक्ने अवस्थामा छन् भने उजुरी गर्नेहरूलाई न्यायलयले अल्मलाएको अवस्था छ ।

       न्यायलयहरूमा राजनीति हुँदा पीडितका पक्षमा निर्णयहरू हुन सकेको अवस्था छैन । रोजगारीका लागि बिदेसिएका युवायुवतीहरू देशमा सुशासन र अमनचयन, न्याय, स्वतन्त्रता र समानता भएको हेर्ने पर्खाइमा वर्षौँ नारकीय जीवन बिताउन बाध्य छन् । यी सारा अवस्थाहरूमा परिवर्तन नआएसम्म जुनसुकै अवस्था आए पनि राज्य, सरकार र मातहतका निकायहरू जीर्ण हुँदै जाने निश्चित छ । जब एउटा समुन्नत राष्ट्रको कल्पना गर्न सकिँदैन, त्यसभित्रका पार्टी सङ्गठन, वर्गीय सङ्गठन र कार्यकर्ताहरूको भविष्य अन्योल हुने कुरा निश्चित नै हुन्छ ।        राज्यसत्ता र सरकार राजनीतिक विचार र दर्शनबाट बाहिरिएको आभास आम नेपाली जनता र इमानदार राजनीतिक कार्यकर्ताहरूलाई हुन थालेको छ । आफूलाई पद, पैसा र प्रतिष्ठामा हराउन सक्ने एकाध कार्यकर्ताहरूबाहेक थुप्रै कम्युनिस्ट विचार र राजनीतिक पक्षहरूमा निराशाको बादल मडारिन थालेको छ । राष्ट्र, राष्ट्रियता र जनताप्रति उत्तरदायी नेतृत्व पङ्क्तिमा पनि यो परिस्थितिले चोट पु¥याएकै हुनुपर्छ । विधि, प्रक्रिया, पद्धति अनि साङ्गठनिक मूल्य र नैतिकतालाई बिर्सेर बढी रोमाञ्चित हुँदै जानुको कारण आज सिङ्गो कम्युनिस्ट पार्टी यो विचलनमा आइपुगेको हो । इमान्दार र निष्ठावन् कार्यकर्तालाई जोगाउनका लागि जनताको मन जित्नका लागि, कम्युनिस्ट पार्टीमातहतको सरकारले पनि केही गरेन भन्ने लघुताभास जनताबाट हटाउन पार्टीभित्र सुदृढीकरण गर्न आवश्यक भएको छ । पार्टीभित्र भएको अन्तर्सङ्घर्ष द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणले विश्लेषण गर्दै अन्तर्सङ्घर्षबाट नयाँ शक्ति पैदा गरेर पार्टीलाई गति प्रदान गर्नु आजको आवश्यकता हो । सुखी नेपाली सम्वृद्ध नेपाल भन्ने नारालाई सार्थकता दिनका लागि राजनैतिक, सामाजिक, सांस्कृतिक संस्कारमा परिवर्तन आउनुपर्ने टड्कोरा आवश्यकता छ । नेपालको समृद्धिका लागि यहाँको संस्कार बाधक बन्नु हुँदैन भन्ने मान्यतालाई सम्पूर्ण नेतृत्व, कार्यकर्ता र जनताले मनैदेखि आत्मसात् गर्न जरुरी छ ।