April 25, 2024, Thursday
२०८१ बैशाख १४, शुक्रबार

मंगलमानको हाँसो

ठुलो ग्राउन्ड, थुप्रै प्रतिस्पर्धी मुखमा गुच्चासहितको चम्चा च्यापेर एकर्कालाई उछिन्ने प्रतिस्पर्धामा छन् । अघिल्लो प्रतिस्पर्धामा सबभन्दा अगाडि गन्तव्यमा पुगेर पनि हारेको मंगलमान मुसुमुसु हाँस्दै प्रतिस्पर्धीहरूको भिडलाई नियालिरहेछ ।

एकैछिनमा प्रतिस्पर्धीहरू गन्तव्यमा पुग्न सुरु गर्छन् तँछाड् र मछाड् गर्दै तर जित कसैको हात पर्दैन किनकि जितको अन्तर्वस्तुप्रति उनीहरू कसैको पनि ध्यान पुग्न सकेन दौडाइको सिलसिलामा । त्यो अन्तर्वस्तु भनेको चम्चामा गुच्चा अड्याएर गन्तव्यमा पुग्नु थियो तर दौडने क्रममा कति बेला गुच्चा खस्यो, गन्तव्य केन्द्रित प्रतिस्पर्धीहरूको हारको कारण त्यही बन्न पुग्दछ ।

हो, उक्त प्रतिस्पर्धा हुबहु हाम्रो जीवनसँग मेल खाएको छ आजको समयमा । नाम, दाम र रबाफका पछि हामी यसरी दौडिरहेका छौं, मलाई ठ्याक्कै डेड दशकअघि विश्वविद्यालयको विद्यार्थी छँदा सामुएल वेकेटका नाटकहरू पढ्दा नाटकका विषयवस्तुप्रति आफू अचम्मित भएको सम्झेर आफ्नो त्यो बेलाको अबोधपनबारे हाँसो लागिरहन्छ । ‘वेटिङ फर गोदो’मा पर्खनेको एब्सर्डिटी देखेर अचम्म लाग्थ्यो भने ‘के्रप्स लास्ट टेर्प’ मा टेपको आवाज सुन्दा झर्को लाग्थ्यो अनि ‘मर्फी’ मा मर्फीको चाला देख्दा हैरान पर्ने गर्थेँ । तर आजकल आफ्ना, हाम्रा दौंतरीहरूको र पछिल्ला पिढीको जीवनचर्या देख्दा विभिन्न क्षणहरूमा सामुएल वेकेटको विश्लेषण क्षमताप्रति नतमस्तक हुन पुग्दछु ।

आफ्नै उदाहरण दिऊँ, अहिले कोरोना सङ्क्रमणका कारण स्कुलहरू बन्द भएको अवस्थामा छोराहरूको अनलाइन कक्षा सञ्चालनको समय बिहान । श्रीमान् शिक्षण पेसामा आबद्ध हुनुभएको हुँदा बिहान उहाँ पनि आफ्ना कक्षाहरू पढाउनमा व्यस्त रहनुहुन्छ । ठुलो छोरो त जसोतसो बस्ने गर्छ ल्याप्टपअगाडि तर सानो छोरोलाई काखमा लिएर नबसे शिक्षकको शिक्षणतर्फ उसको सिकाइ केन्द्रित हुनै सक्दैन । बिहान दुई पिरियडको कक्षामा पनि उसको ध्यान केन्द्रित गरेर पढाउन नसकेका दिन अविभावक हुनुको कर्तव्य निर्वाह गर्न नसकेको हीनता बोधले त्यत्तिकै थिच्छ । तर बिहानको त्यही समय किचनले पनि आफूलाई खोजेकै हुन्छ । आफ्नो पढ्ने लतका लागि पनि त्यही बिहानको समय उपयुक्त हुने । दिउसो हात मुख जोर्ने दैनन्दिन रुटिनमा अभ्यस्त हुनैप¥यो । बेलुकी थाकेको शरीर र मनले के नै गर्न सक्छ र । सकी–नसकी कार्य जिम्मेवारी पूरा गर्न खोज्दा कुनै न कुनै सूची त चित्त नबुझ्दो हुन्छै हुन्छ । कि त स्वास्थ्यलाई ध्यानमा राखेर पकाउनुपर्ने खाना झारो टारेर पाक्छ कि छोराको कक्षा छुट्छ या त आफ्नो पढाइको लत पूरा नभएर मन पोल्न थाल्छ । अनि त्यो बेला पुनः सामुएल वेकेटका नाटकहरूका चरित्रहरूसँग एकाकार हुन पुगेको अनुभूति गर्दछु ।

यो त मेरो आफ्नो भोगाइको उदाहरण । आजका कैयौँ मानिसको अवस्था मेरोभन्दा बढी नै एब्सर्डजस्तो लाग्ने गर्छ  । मेरो समस्या त सोच्दासोच्दै पनि बिग्रन गएको हो त दर्शक बनेर हेर्ने हो भने कैयौँ मानिस यसरी दौडेका छन् कि जुन खुसी उनीहरूको गन्तव्य हो, दौडाइको क्रममा तिनै खुसीको तिलाञ्जली दिइसकेको पत्तै पाएका हुँदैनन्, ठ्याक्कै चम्चाको गुच्चाजस्तै । अनि सबैभन्दा एब्सर्ड कुरोचैं के भइराखेको छ भनेर सोच्न पनि भ्याएका हुँदैनन् ।

आज विश्वका कैयौं मानिस डिप्रेसनको सिकार भएका छन् किनकि आफ्ना लागि भनेर छुट्याउने समय नै छैन उनीहरूसँग । अरूको देखेर त्यसै गर्ने भागदौडमा अमूल्य पलहरू कता विलुप्त हुन्छन् कता । हरेक व्यक्ति विशिष्ट चरित्र बोकेर बाँचेको हुन्छ तर मानिसले आफूलाई अरूसँग तुलना गर्दै आफ्नो विशेषता आँफै अनदेखा गर्दा जीवनको सार गुमेको थाहा पाए त वेकेटका नाटकका चरित्रजस्तो लाग्ने नै थिएन जीवन ।

सन्तानका लागि ज्यान दिन सक्ने मानिस आफ्ना सोचबिहीन व्यस्तताले सन्तान बिगारिरहेको पत्तै पाँउदैन । भौतिक स्ट्यान्डर्ड व्यवस्थापन गर्न  चुक्दैन तर मानसिक स्ट्यान्डर्डको आवश्यक्तामा आँखा चिम्लिरहेको हुन्छ । मान्छेका मनमा धेरै कुरा खेल्ने समस्याको जड भनेकै मनलाई निरन्तर काममा खटाइराख्नु अर्थात् आवश्यकभन्दा धेरै कुरा सोच्नु हो । अधिक व्यस्तताका कारण यस्ता विषयहरूका बारेमा सोच्न नभ्याउनु डिप्रेसनका कारणमध्ये मुख्य एकमा पर्दछ भनेर विभिन्न अध्ययनहरूले प्रमाणित गरिसकेकै छन्  । अनि अहिले त झन् कोरोना भाइरसबाट हुने कोभिड–१९ को भयावह वातावरणबाट जित–हारको गन्तव्यमा नपुग्दै बाटैमा मुर्र्र्र्र्झाएको लज्जावती झारझैं बन्न पुगेको छ मानिसको जीवन । तब त झन् जीवन वेकेटका नाटकहरूजस्तो नबनेर के नै बन्छ र ?

हो, परिस्थिति सँधै आफ्नो अनुकुल नहुन पनि सक्छ तर शरीर र मनलाई स्वस्थ राखेर आफ्नो खुसीका लागि कर्म गर्न सक्नुपर्दछ । हरेक विषम परिस्थिति मानिसका लागि चुनौती हो । हाम्रा सन्दर्भमा चाहे त्यो भूकम्पको बेला होस् या अहिलेको महामारीमा, अप्ठ्यारालाई गाली गर्नेभन्दा पनि धैर्यका साथ सामना गरेर आफ्नो खुसी बचाउँदै सकारात्मक सोचका साथ अघि बढ्नुचैं जीवन दौडका प्रतिद्वन्द्विहरूको बुद्धिमानी हो ।

चम्चाका गुच्चा जोगाएर दौडमा सहभागी बनेका मानिसहरूलाई हेर्दै मुसुमुसु हाँसिरहेको मंगलमानजस्तै हामी पनि समय घर्किसकेपछि मात्रै कुरो बुझ्ने भयौं भने त्यसै गरी भावी प्रतिस्पर्धीहरूको हार–जितको कथा हेरेर मुस्कुराउनु पर्ने स्थिति पक्कै सिर्जना हुने छ । अनि त क्रेप, मर्फी, र गोदोहरू हामीलाई हेरेर नाटकबाट बाहिर निस्केरै हामीलाई गिज्याउन आइनपुग्लान भन्न सकिन्न !