ए नारीहरू हो उठौं न अब त एकजुट सारा बनी
हाम्रै निम्ति उदाई भूमितलमा लाली छरेको छ नि ।।
खोली नेत्र झल्याँस्स ब्युँझिन यहाँ नारीहरू हो सब
पासो बन्धनको फुकाईकन त बाटो समाऊँ अब ।।
दाजुभाइहरू लडी लडी यहाँ अंशै फुटाई लिने
दिदी बहिनीहरू पराधीन भई दासी कमारी हुने ।।
एउटै छन् जननी धरातल विषे छोरा र छोरी हुने
छोरी दासी हुने अनेक विधिले छोरोचैं अंशै लिने ।।
साँच्चै नै रचेछन् अघि पुरुषले आफ्नै भलाइ हुने
धेरै पाप र धर्मका नियमले नारी कजाई लिने ।।
नारी मर्न गए भने पुरुषलाई लाग्दैन जुठो रति
स्वामी मर्न गए भने ती सतीले भोग्ने कति हो कति ।।
नारीनिम्ति रचे अघि पुरुषले सब धर्मशास्त्रै पनि
स्वामी भक्त रहे अनेक दुख सहे पुगिन्छ स्वर्गै भनी ।।
लाग्ला पाप कहाँ छ धर्म कति त त्यो स्वर्गलोकै कहाँ
झुटो बातमा भुलेर दिन दिन बस्नु परेको यहाँ ।।
खुम्ची बस्नु हुँदैन यो बखतमा हामी अगाडी बढौं
न्यायका पछि लागी सबले अन्याय मास्नै लडौं ।।
धेरै बुद्धि छ हामीमा पनि सधैं स्वार्थी बनेका किन !
पाना पल्टिरहेछ नि दिनदिनै स्वतन्त्र इच्छा लिन ।।
नारीको मन खिन्न ब्याकुल सधैं यो विश्वका माझमा
सङ्घर्ष गरी जित ल्याउनु छ है एउटा ठुलो साँझमा ।।
विश्मा कति नारीले हक लिए स्वतन्त्र इच्छामा
हामीचैँ दिनरात कर्म भजदै दासी बनेका यहाँ ।।
नारीको जय होस् भनेर सबले आवाज चर्को छरी
बोकौं बन्दुक नै खुँडाहरू यहाँ गोली र गट्ठा गरी ।।
नारीले रणचण्डिको रूप लिई उठ्ने छिन् भोलि यहाँ
झन्डा विजयको लिईकन फिरौं स्वतन्त्र नेपालमा ।।
लेखकको सम्वन्धमा