बेइज्जत गर्ने होइन

ए ! जनता, 
सरकारले भनेको बन्दै नटेर्ने
कस्ता थेत्तरा तिमीहरु
किन मातिएका यस्तरी
खानै नपाए जस्तो गर्ने
एक थाल भात हसुर्ने
के के न भेटे जस्तो गर्ने।
 
ए ! जनता,
किन आतिएका 
तिम्रा भाते कार्यक्रममा
क्यामेरा लिएर पुग्नेहरु,
हँ ?
किन तातिएका 
तिम्रो भोक मार्ने अभियान भन्दै
अभिनय गर्न पुग्नेहरु
के तिमीलाई लाज लाग्दैन
पहाडका बारीका पाटामा
जन्ते बाख्रो खान बसे जस्तो
टुडिखेलमा टड्कारो रूपमा
खुल्ला मञ्चमा खुलेआम रूपमा
लहरै बसेर
धुवाँ, धुलो, मैलो केही नहेरी
कोरोनाको कहरलाई नटेरी  
प्लास्टिकका थालमा थापेर
एक थाल भात खानेहरू
के तिमीलई लाज लाग्दैन ?
 
ए, जनता। 
यहाँ तिम्रो सरकारलाइई लाजमर्नु भाछ
खाइ नपाइ घाम पानी केही नभनी
तिम्रो आफ्नै हातले भोट हालेर
जिताएर पठाएको
तिम्रो आफ्नै सरकार
अग्रगामी बाटोमा गतिमान्
सरकार
तिम्रो हर्कतले भुतुक्क भा'छ
लाजले बडेमानको शिर निहुरिएको छ 
देशको बेइज्जत गर्ने तिमीहरू ?
ए, जनता। 
के यो देश 
खान नपाउनेहरूको जस्तो छ ?
यो कान्तिपुरी नगरी
माग्नेहरूको महानगर हो ?
के यो सरकार
मगन्तेको जस्तो देखिन्छ  ?
हाम्ले कहिल्लै तिम्ले जस्तो
मागेर भुँडी भर्या छौँ ?
सार्बजानिक ठाउँमा
मागेर खाने
अनि उल्टै हाम्लाई
लाज मर्नुपार्ने ?
यो देश त सङ्घीय देश हो
कत्रो त्याग तपस्या बलिदानीबाट
ल्याएको राज्य सत्ता हो यो
सात सात ओटा राज्य छन्
सरकार छन्
गाउँ गाउँमा सिंहदरबार छन्
अनि के खोज्दै राजधानीको
माझ आग्नामा बसेर भात माग्न पर्या ?
माग्नै परे आफ्नै घर दैलाका
सरकारसँग माग्ने नि।
 
ए जनता। 
कति लाग्न सक्या
अनिकालमा भोक पनि
कोरोनामा काम पनि केही छैन
बस्यो खायो, खायो बस्यो,
धन्न जुनीचाहिँ लिई आएकै रहेछौ ?
कसरी खाँदा रहेछौ
भोलिदेखि देखाम्ला
कसले कसले खुवाउँदा रहेछौ
हामी पनि हेरम्ला
सरकारलाई हेप्ने, नटेर्ने
बेइज्जत गर्ने,
खानै परे
आफ्नै घरमा खानु नि
खुवाउनेले पनि 
आफ्नै घरमा खुवाउनु नि,
तिनको मेजमान
टुडिखेलमा के को रमिता हो
तिमीहरूको के तमासा हो यो ?
खुल्लमखुल्ला चुनौती दिने
कम्युनिस्ट सरकारलाई ?
 
ए, जनता। 
यहाँ ढुकुटी रित्तिएर
सरकारलाई कति टेन्सन छ
तलब, भत्ता, पेन्सन, खानै पर्यो
गाडी, घोडा, उपचार, गराउनै पर्यो
विकासका नाममा
पैसा छरछार पार्नै पर्यो
कसरी धान्नु व्ययभार
तिमीहरूले कहिल्लै सोचेका छौ
सधैँ 'यो भएन,  ऊ भएन
त्यो गरेन, यो गरेन' भन्या छ,
उफ्र्याछ,
गनगनाको छ,
फनफनाको छ
हद हुन्छ नि यार
सरकारलाई टेन्सन मात्र दिने,
इज्जत छैन हाम्रो
बेइज्जत मात्रै गर्ने ?
खबरदार ! अब आइन्दा
खुल्लामञ्चमा भात खाने होइन
सरकारको बेइज्जत गर्ने होइन।