September 26, 2023, Tuesday
२०८० आश्विन ९, मंगलवार

भ्रमित म

'कोरोना !' भन्छन् सबै, डराउँछु म पनि,
मन बलियो बनाउँदाको समय,
"नथिङ ह्यप्पन्स्" भन्छु ...
तर...
मन डडेलो लागेको बेला, फेरि तर्सन्छु ।।
 
म नभए पनि संसार चल्छ, यथार्थ जान्दाजान्दै,
स्नेहको परिमाण होला, 'लौन कसो होला' भन्दै,
घाँटीनेर नदेखिने गाँठो अनुभव गर्छु ।।
आफ्नै कमजोरी जानाजान सुधार्न सक्दिनँ,
अरूका कमजोरी नसुध्रेकोमा चिन्तित बन्छु,
"हे कलियुग !  के के देख्नुपर्छ यहाँ" भन्दै,
बेस्सरी चिन्तित बन्छु ।
टुङ्गै नभएको यो जीवन कतिबेला भुस हुन्छ थाहा छैन,
तर पनि के के न भोलिको, चिन्ताले सताइन्छु ।।
 
बेतोडले मन दुखेपछि, झरेको आँसु सम्हाल्न,
'ध्यान' आवश्यक ठान्छु,
अनि आफूले अपेक्षा बढी गरेर मन दुखेको तथ्य आफैं थाहा पाएपछि,
मूर्खता आफैमा देख्छु ।।