February 10, 2026, Tuesday
२०८२ माघ २७, मंगलवार

गजल

एकातिर बेरोजगार छु, अर्कातिर कोरोना महामारी छ
घरको खर्च कसरी धानिएला पिर मनमा भारी छ।
 
एकतिर खाने, बस्नेको चिन्ता, अर्कातिर ऋण, साहु सिकारी छ,
बिजुलीको बिल, शुल्क स्कुलको तिरुँ कसरी, आर्थिक बोझ भारी छ।
 
काम नपाएर गोजीमा दाम छैन, सबैतिर त्राहिमाम छ,
अभावै-अभावमा चाडबाड बित्ला, घरमा दिन्हुँ खटपट जारी छ।
अरबको मरुभूमिबाट फर्केको छु, नेताको पुच्छरलाई याहाँ रोजगारी छ
धेरै लुटे थोरै बाँडे, बालुवामा पानि खन्याए झैं, राहत सरकारी छ।
 
खेतमा धान रोपी आषाढ बित्यो, सुनौलो बाला झुल्दै छ
देशकै माटोमा पसिना पोखियो, करेसाबारीमा तरकारी छ।
 
एकातिर बेरोजगार छु, अर्कातिर कोरोना महामारी छ
मनमा जिउने आशा मरेको छैन, लड्दैछु प्रयास जारी छ।