October 3, 2023, Tuesday
२०८० आश्विन १६, मंगलवार

म केही पनि गर्दिनँ

लेख्न खोज्छु अनि बन्छु सोचमग्न,
अरूले कति धेरै पढ्छन् र पो लेख्छन् उत्कृष्ट,
पढ्न खोज्छु तर थाँती लाग्छन् थुप्रै पुस्तक अनि
डाउन्लोड भर्सनहरू,
 मेरो पढ्ने समयको पालो कुरेर ।।
 
'हरेक कुरामा अपडेट बन' भन्छ समय,
तर त्यसका लागि पनि त चाहिन्छ समय,
योजना कुँजिएको छ त्यही समयको पावन्दीभित्र,
जीवन अन्योलताको पक्षधर बनेको छ ।।
 
हिजो मात्रै,
बुवा: "सनम......।"
सनमः " हजुर.....।"
बुवा: "कत्तिको मेहनत गर्दैछौ लक्ष्य प्राप्तिको लागि??"
सनमः "सकेको जति....।"
उत्तरसँगै सक्नुको अपर्याप्तता झल्याँस्स हुन्छ ।
बिहान मात्रै
स्पाउजः "सनम....।"
सनमः "हजुर....।"
स्पाउजः घरमा अलि समय दिनु पर्यो के...
सनमः "हुन्छ...।"
म केलाई समय खर्चिरा'छु कुन्नि आँफैभित्र अन्योलता छाउँछ ।
 
दिउँसो...अफिसमा...
सनम जी... "
हजुर....।"
 "यो काम यो हप्तामा जसै सिध्याउनु पर्छ है !"
"हस....।"
कतिबेला गर्ने फेरि अन्योलता छाँउछ ।
 
हो, मैले केही गरेको छैन  
तर पर्याप्त निद्रा र भोक पनि मेटेको छैन  
किनकि केही नगरी म अचाक्ली व्यस्त बन्न विवश छु ।