December 2, 2023, Saturday
२०८० मंसिर १६, शनिबार

किन मृत्युदण्ड ?

मेरा ‘बा’ लाई 
किन मृत्युदण्ड ?
हामीलाई किन मृत्युदण्ड ? 
हे मनुवा हो,
तिमी त संसारका 
सर्वश्रेष्ठ प्राणी रे 
भगवान्‌का तिमी 
उत्कृष्ट रचना रे 
दुख, सुःख, कष्ट, 
पीडा सबथोक बोध गर्न सक्ने 
सबैलाई माया र ममता दिने 
बोल्न सक्ने, 
चल्न सक्ने, 
हिँड्न सक्ने 
सोच, विचार गर्न सक्ने 
सही र गलत 
पाप र धर्म 
छुट्याउन सक्ने 
को होला र तिम्लाई चुनौती दिने ?
ठुला ठुला 
बाघ, भालु, हाती, गैडालाई 
त 
सदाएर तिमी 
आफ्नो बसमा पार्न सक्छौ 
उनकै पिठ्युँमा बसेर 
वनबिहार, जलबिहार 
गर्न सक्छौ 
तर अफसोच ! 
किन तिमी यति बिघ्न 
कृतघ्न हाम्रा लागि ?
के बिगारेका थियौँ र हामीले, 
तिम्रो अनि तिम्रा परिवारको ? 
परारका साल जिजुबा र हजुरबा 
पोहोर दसैंमा ‘बा’
अस्ति भर्खर साउने सङ्क्रान्तिमा
सानाबा र काका 
अनि अहिले 
पालो मेरो आए जस्तो छ
किन अनाहकमा 
दिन्छौ मृत्युदण्ड ?
कुन कसुरमा हो 
यस्तो कठोर सजाय पाउने हामीले ? 
तिम्रो दुनियामा
मान्छेले मान्छे मार्दा त 
मृत्युदण्ड हुँदैन भने 
किन मनुज तिमी 
यस्तो फैसला गर्छौ ? 
एक पटक सोचिहेर त 
त्यो दसैंको नयाँ लुगा लाएर 
पिङ्गमा खेलिरहेको तिम्रो छोरो 
अनि फेरि सम्झ त 
वर्ष पनि नपुगेकी 
कोक्रामा मस्त सुतेकी छोरी 
के तिमी तिनलाई दिन सक्छौ 
तिम्रा अबोध र निर्जीव 
भगवान् रुपी पत्थरका सामु 
च्वाट्ट पारी बलि ? 
यदि छैन त्यति हिम्मत भने 
किन रेट्छौ त गला हाम्रो ? 
के तिमीलाई माया लाग्दैन हाम्रो ? 
आफ्नो जुठो खुवाएर 
दानापानी, घास, पात दिएर 
छोराछोरीसरह हुर्काएर 
कसरी सक्छौ हाम्रो गर्धन चुडाउँन ? 
के तिम्रो मन दुख्दैन ? 
कसरी सक्छौ 
हाम्रो मुटु कलेजो चपाचप चपाउन ? 
के तिमीलाई हाम्रो माया लाग्दैन, 
के हामीबिना तिम्रो चाड आउँदैन ?