पालनहारले हालेको किम्मुको पात खाएर
मोटाउने अनि आफैँलाई
बाहिरबाट रेसमको कोकुनले बाँधेर जकड्दै
मालिकको दयामायामा, उसैको सदाशयतामा
बचाए बाँच्ने, मारे मर्ने
न आफ्नो इच्छा न आकाङ्क्षा
न कुद्ने खुट्टा, न उड्ने पखेटा
इन्तु न चिन्तु !
कुनै कालखण्डमा हाम्रो पनि स्वतन्त्र इच्छा हुन्थ्यो रे !
आफैँ आफ्नै किम्मुको बोटमा छानी छानी पात खान्थ्यौँ रे !
आफ्नै रनवन घुम्थ्यौँ रे, गुन्गुनाउँदै रम्दै
न रोकटोक, न किचकिच, न अर्काको आश
स्वच्छन्द, उदात्त, उन्मुक्त
तल धर्ती माथि आकाश !
रेसमको धागोमा जेलिनु
लाचारी नभई
हाम्रो आफ्नै सुरक्षा कवच हुन्थ्यो रे !
अब त बाँकी छ, सम्झनाको पेटारो मात्र !
खान्छौँ मोटाएर पालनकर्तालाई धेरैभन्दा धेरै
रेसमको धागो दिनलाई
मरी मरी दिनरात नभनी खान्छौँ
मख्ख पर्छौं पात खान पाउँदा
तर पात खाएर रेसम धागो ओकल्छौँ
जुन हाम्रो सुरक्षा कवच त हैन
काल हुन पुग्छ
इच्छा आकाङ्क्षा उन्मुक्तताको
आफैँले स्वस्फूर्त आफूलाई जेलेर !
आश्विन २७ गते,
स्वआश्रम ।
लेखकको सम्वन्धमा