अन्तरद्वन्द्व

अच्युत विक्रम थापा
सिन्धुपाल्चोक

मेरा मनका बुद्धहरूले बन्दुक बोकिरहँदा

मेरा आत्माले क्रान्तिका रक्तिम गीतहरू गाइरहँदा

म आफैले आफैलाई चै ‘नुनु बाबु नुनु’ भनिरहेछु

मेरो आफ्नै शान्त्वनाले आफैलाई पिरोलिरहँदा

मभित्रको द्वन्द्व अझै चरम भैरहँदा

समाधिको उल्टो दिनहरु, एक दुई गर्दै गनिरहेछु

म आफैले आफैलाई चै ‘नुनु बाबु नुनु’ भनिरहेछु

मेरो लडाइँ, मेरै जित, मेरै हार भइरहँदा

अन्योल गन्तव्य, अन्धाधुन्ध अन्धकारमा गइरहँदा

म आफैले आफैलाई चै ‘ताते बाबु’ ताते भनिरहेछु

मेरो यात्रामा काँडाहरूले अबिरल खुट्टा खोपिरहँदा

निस्पट्ट झरीले शरीरका सबै अवयव भिज्नेगरी चुटिरहँदा

स्मशानको बाटो, एक दुई गर्दै पाइलाहरू गनिरहेछु

म आफैले आफैलाई चै ‘ताते बाबु ताते’ भनिरहेछु

रहरको मलामी जाँदा, मनको भोकले चित्त खाइरहँदा

अशान्त मन अनि विक्षिप्त आत्माले हरेस खाइरहँदा

म आफैले आफैलाई चै ‘कोखाइ बाबु कोखाइ’ भनिरहेछु

सङ्घर्षले थाकेको यो शरीरले एक निमेष आराम मागिरहँदा

आफ्नै असन्तुष्टिको भोक आफैबाट भागिरहँदा

मेरो उन्मुक्तिको भनौं वा मेरो अन्त्यको विष, म आफै बनिरहेछु

म आफैले आफैलाई चै ‘कोखाइ बाबु कोखाइ’ भनिरहेछु।