शिवका भूमिमा कृष्णको खोजी

वृहत् राष्ट्र खडा गर्ने पृथ्वीको सपनापछि ।
अभियान चल्यो दोस्रो पुस्तासम्म बढीचढी ।।
तेस्रो पुग्दानपुग्दैमा सत्तास्वार्थ भई सुरु ।
सतलज तथा टिष्टा पुगेकै गुमियो बरु ।।१।।
 
सुगौली सन्धिमा बन्द अभियान भएपछि ।
नेतृत्व भुलियो पूरा सत्ताको स्वार्थका पछि ।।
निचोरी जनता सक्तो मुठीभित्र कसीकसी ।
खाएर खुनको होली खेले मात्र बसीबसी ।।२।।
 
मिसाएर छिमेकी ‘नि नृशंस यस खेलमा ।
अन्धकार घनाबीच बिताए दिन झेलमा ।।
लथालिङ्ग भयो देश बेथिति–ज्यादती बढ्यो ।
चौतारो चोरले पायो साधुलाई सुली भयो ।।३।।
अभाव र असन्तुष्ट, निरुद्देश्य भई जन ।
विदेश नोकरी खोज्दै हुन थाले पलायन ।।
सुधार यसमा हैन भयो प्रोत्साहनै बरु ।
दाह्रानङ\ग्रा छिमेकीचैँ गयो धस्तै खुरूखुरू ।।४।।
 
अरक्षित गरी आफ्नो रक्षा गर्ने पराइको ।।
बाँझो–बन्जर होस् आफ्नो हरियाली पराइको ।।
ज्यालाका भरमा बाँच्ने अपमान सहीसही ।
आदर्श, गतिलो  शिक्षा र संस्कार भयो यही ।।५।।
 
इखहीन तथा सोझा करोडौँ जनको कथा ।
रगत, पसिना, आँसु भोक र प्यासको कथा ।
निर्लज्ज बेइमानीको र नित्य छलको कथा ।।
सुकिलामुकिला मुट्ठीभरका प्रभुको कथा ।।६।।
 
जो जो र जसले बुझ्ने प्रयास गर्न खोज्छ यो ।
यसका अन्त्यको स्वप्न देख्ने गर्छ प्रयास जो ।।
उही बन्छ कथा तारा झर्दाझर्दै बिलाउने ।
शिवका देशमा कृष्ण पनि लाग्छ नआउने !।।७।।