December 9, 2024, Monday
२०८१ मंसिर २४, सोमबार

ऊ फेरि जन्मिन्छे

आहा, कति सुन्दर छे ऊ
विशाल सपनाले सजिएका ती मृगनयनी आँखाहरू
खुसीका तरङ्गहरू छरिएको त्यो चम्किलो मुहार
बोलेर कहिल्यै नथाक्ने ती पीपलपाते ओठहरु
प्रगतिपथमा नडगमगाई अघि बढ्ने ती निडर पाइलाहरू
मानौं, ईश्वरको कुनै खास वरदान पाएकी छे।
 
तर आज ऊ मौन छे
अनायासै बन्द छन् उसका नयनहरु
झरेको फूलजस्तै ओइलाएको छ उसको मुहार
कहिल्यै नथाक्ने ती ओठहरु लखतरान छन् आज
झन् उसका पाइलाहरु त खम्बाजस्तै अडिएका छन्
मानौं, उसको अस्तित्व नै समाप्त भएको छ।
उसलाई मौन गराइएको रहेछ
रुँदा रुँदै आँसु रित्तिएर बन्द रहेछन् ती आँखाहरू
खुसीका लहरहरु सोसिएर ओइलाएको रहेछ त्यो मुहार
चिच्याउँदा चिच्याउँदै थाकेर चुप रहेछन् ती ओठहरु
र भाग्दाभाग्दै सबै सामर्थ्य सकिएर स्थिर रहेछन् ती पाइलाहरु
मानौं,  कुनै पापीले आफ्नो पापको सजाय उसलाई दिएर गएको छ।
 
अझै पनि ऊ भित्रभित्रै छट्पटाइरहेकी छे
उसलाई रुवाउनेका ती आँखाहरू अझै पनि ओभानै छन्
उसको खुसी लुट्नेको त्यो मुहार अझै पनि उज्यालै छ
उसको मुस्कान खोस्नेका ती ओठहरुमा अझै पनि हाँसोको कल्कलाहट सुनिन्छ
उसको सामर्थ्य रित्याउनेका ती पाइलाहरु अझै पनि लड्खडाएका छैनन्
मानौं, अपराध त्यो दुष्टले हैन उसले गरेकी छे।
 
अब त ऊ आश्चर्यचकित छे
यो समाजको रीति देखेर यो देशको स्थिति देखेर
पावर र पैसामा झुकेको यो देशको दुर्गति देखेर
कानुनको भेदभाव देखेर लापरवाही देखेर
लाखौं करोडौंको आवाज पनि सजिलै दबाइएको देखेर
मानौं, कानुनको नजरमा लाएको त्यो पट्टीले यसैलाई सङ्केत गरिरहेको छ।
 
तर उसले हार कहाँ मानेकी छे र
उसको तन त खरानी भयो तर मन मरेको छैन
उसका सपना त चक्नाचुर भए तर हौसला टुटेको छैन
फेरि जन्म लिन्छे ऊ कुनै न कुनै रूपमा
देशको यो काहालीलाग्दो दृश्य उसले हेर्न सकेकी छैन
मानौं,
कुनै देवीकी स्वरूप हो ऊ जसलाई कसैले चिन्न सकेको छैन।