छैन हाँसो सहरमा

    १
सहरमा
छ त केवल
विशाल विशाल
सुपर मार्केट
विद्यालय, विश्वविद्यालय !
फराकिलो सडक
आएपछि भाउ बडेका
बासी तरकारी !
 
मिसिएको कच्चा लवज
लुकेर गरिने
सरकारी निर्णय !
 
अलपत्र नागरिक आन्दोलन
जन दमनको सुन्दर उदाहरण
लाज पचेका कार्यकारी !
 
          २
छैन हाँसो सजिलो
एक्लै हाँस्न सकिन्न
बेग्लै बस्न पनि त सकिन्न
यहाँ त केवल
सेल्फी खिच्ने बेला
हाँसिने किच्च हाँसो
अनि
फोटो ग्राफरले 'चिज'
भनेपछि खुल्ने ओठ ।
 
          ३
सहर सभय छ
सहर भव्य छ
तर के गर्नु ?
हाँसो विनाको सहर
टेलिभिजनमा बोल्ने
महामहिमको ओठमा मात्र
झलमल्ल छ।
किनकि उनी मात्र हुन्
व्यवस्थाका असली रक्षक !