December 8, 2024, Sunday
२०८१ मंसिर २४, सोमबार

हामी मान्छे

इमान जमान खै ! भन्छौ तर भन्ने एउटा गर्ने अर्कै तिमी बेइमान होइन ?
गफ हैन काम खै ! भन्छौ तर पछि पछि गफ ठोक्ने आफैं तिमी होइन ?
बोल्ने गर्ने ढङ्ग खै ! भन्छौ तर वाक्क दिक्क बनाउने को हो ? तिमी होइन ?
सत्य वचन खै ! भन्छौ तर घुमाईघुमाई चिथोरिरहने तिमी असत् होइन ?
इमान्दारिता खै ! भन्छौ तर फोहोर त्यो राजनीतिमा डुब्ने तिमी होइन ?
पवित्रता बानीमा खै ! भन्छौ तर बाग्मतीको रछ्यानभन्दा गन्हाउने तिमी होइन ?
काममा ध्यान खै ! भन्छौ तर काम नगरी गरें भन्ने ठग तिमी होइन ?
विद्वता र सिप खै ! भन्छौ तर आफू भित्रै पिल्सिरहने लास तिमी होइन ?
शील र संस्कार खै ! भन्छौ तर तुच्छ व्यवाहारको प्रतिमूर्ति तिमी होइन ?
लगाब र त्याग खै ! भन्छौ तर केही नगरी सबै गरें भन्ने तिमी होइन ?
बाआमाको सेवा खै ! भन्छौ तर फलफूल किन्न मर्न खोज्ने लाछी तिमी होइन ?
फराकिलो छाती खै ! भन्छौ तर पाइपाइ हिसाब जोख्ने रकमी तिमी होइन ?
महान् सोच खै ! भन्छौ तर पीडा बुझ्न मन नगर्ने खुनी तिमी होइन ?
जनताको सेवा खै ! भन्छौ तर झुक्याउँदै धन भकारी भर्ने तिमी होइन ?
मन इमान्दारिता खै ! भन्छौ तर भ्रष्ट आचार यात्रा रोज्ने किर्ते तिमी होइन ?
प्ररेणा र ऊर्जा खै ! भन्छौ तर आलोचनाले हिर्काइरहने प्रेरक तिमी होइन ?
सक्षम र तेज खै ! भन्छौ तर चिप्लिएर माथि चढ्ने चाप्लुस तिमी होइन ?
कदर अरूको खै ! भन्छौ तर निर्णय आफ्ना पुङ्माङको गर्ने तिमी होइन ?
माया हेरचाह खै ! भन्छौ तर भित्र छुरा लाउने दुष्ट पापी तिमी होइन ?
मर्दापर्दा काँध खै ! भन्छौ तर परे पिठयुँ फर्काउने कोढी तिमी होइन ?
रणनैतिक चेत खै ! भन्छौ तर नीति बिर्सी कुर्सी प्यार गर्ने तिमी होइन ?
लोकतन्त्र आको खै ! भन्छौ तर उठ्दा बस्दै सोध्नुपर्छ भन्ने तिमी होइन ?
बाँच्न गाह्रो हुने खै ! भन्छौ तर दिनेबेला छैन भन्ने लाचार तिमी होइन ?