November 5, 2024, Tuesday
२०८१ कार्तिक २०, मंगलवार

तर्साउने सोच

बा !  एकछिन खेल्छु ?  
जाँच कहिले हो ?
आमा भोक लाग्यो ?
एक घण्टा पर्ख !
दादा मोबाइल देऊ न ?
अस्ति फेल भ'को होइन ?
दिदी यो अभ्यास कसरी गर्ने ?
म टिचर हो र ?
भाइ कमेडी हेरौं है !
अहिले होइन !
बहिनी किचेनमा सघाऊ है !
मेरो कत्ति पढ्नु छ !
हाकिम एक दिन अपर्झट बिदा पाँऊ।
आधा दिन हाँजिर हुनु !
मालिक घर चलेन ।
चल्ने काम खोज्नू !
बोस बिरामी परें ।
आउँदा पुर्जी लिएर आउनू !
महोदय ३ दिन बिदा नभई भएन ।
एक दिन लिनू !
महाशय मेरो आफ्नै विवाह हो ।
सार्वजनिक बिदामा पार्नू !
हाकिम सञ्चो भएन ।
जसोतसो कार्यस्थल आइपुग्नू !
मालिक तलब बढाउनुपर्‌यो ।
थप काम गर्नुपर्छ नि !
बोस रिफ्रेसमेन्ट खै ?
प्रोफेसनालिजम् खै ?
महोदय बिदा बढाऔं ।
शनिबार मिटिङ राखिन्छ अब !
महाशय सानो काम गरेर आइहाल्छु है ।
छडके आउँदैछ !
हाकिम डेराभाडा तिर्न गाह्रो भो ।
एउटा कोठा भए हुन्न ?
मालिक बालबच्चा कसरी पढाउने ?
सरकारी स्कुलमा सस्तो छ नि !
बोस मेहेनतअनुसार तलब पाँऊ ।
तलब अनुसार मेहेनत खै ?
महोदय अर्को नि केही नगरी बाँचिन्न ।
त्याग र सेवा भाव खै ?
महाशय मेहेनत बढ्यो ज्याला उही ?
अझै गर, एकदिन बढ्छ !
सर होमवर्क छैन ।
बाहिर निस्की !
गुरू घरमा बा बिरामी हुनुभो ।
सोधेको आएन भने !
म्याम निबन्ध लेख्न आएन ।
तैं फेल हुन्छस् !
गुरूआमा तपाईँ नि फेल हुनुभयो ?
म सँधै फस्ट हो !
बोस गफ दिन कसरी सिक्ने हो ?
तिमीहरूले बोल्ने होइन !
सिस्टर नभन्नू है ?
ऊ हेडसर !
मलिक्नी एउटा गिलास फुट्यो ?
दुइटा तिर !
साहेब्नी स्कुल जान्छु न !
भाँडा धुन डिग्री चाहिन्छ ?
मालिक आइरन गाढा बसेछ ।
गालामा दल्दिँऊ !
साहेब काम भ्याइनँ ।
पैसा नपाउलिस् !
हजुर्नी घर जानुछ ।
के यो वन हो ?
हजुर के खाइसिन्छ ?
बोल्छेस्, खुरूक्क ले !
हाकिम साब समयमा हाँजिर हुने कि ?
कति काम, मिटिङ्ग भ्याई नभ्याई छ ।
महोदय आज म अलिकति ढिलो भएँ  है !
एक एक सेकेन्डको नि महत्व छ, यो पाराले जागिर खाइन्छ ?
महाशय यहाँले गरेका कामको लिस्ट बनाऊँ है त ?
यी सबै परिणाम देखिएका मैले नै गरेका काम त हुन् नि !
हजुर साप मैले गरेका परिणाम सुनाऊँ न त है ?
धत् यी त सबै संस्थाका उपलब्धि पो हुन् त !
जो मेरा नाममा दर्ज छन् ।