September 15, 2024, Sunday
२०८१ भाद्र ३०, आईतवार

दानव समाज !

तोडेर सबै महानताका सीमा
छोडेर सत्कर्मको मार्ग
धर्मको आडमा दुष्कर्म गरी
मानव रूपी दानव बढाउँदै छ
आधुनिक समाज ।
 
 
सिर्जिएका थिए समृद्धि फैलाउन
फैलाउँदै छन् हिंसा शान्तिका नाममा
सिकाइएको थियो नारीलाई सत्कार गर्न
हुँदै छ नारीमाथि हिंसा सहर–गाउँमा ।
 
धर्म, आस्था र विविध आडमा
फैलाउँदै भेदभाव
विविधता र संस्कृतिका कुरा गर्दागर्दै
बिर्सिएको छ सद्भाव यहाँ ।
 
बल र घमन्डको प्रदर्शनी लगाउँछन्
हातहतियारले गर्न खोज्छन् समाज परिवर्तन
आधुनिकताका नाममा अमानवीय कर्तुत गर्दा
हराउँदै गएको छ पुर्खाको अस्तित्व ।
 
अनैतिकताको बाटो हिँड्न अपनाउँछन्
आदिम पशुको व्यवहार
असहायलाई सधैँ लुटी लुटी
पैलँदै छ समाजमा भ्रष्ट्राचार ।
 
स्वार्थी यतिसम्म कि यी मानव
निर्दोष पशुपंक्षी बली चढाउँछन् चाडपर्वमा
दिनरात पाप र दुष्कर्ममा फैलाउँदै
गर्व गरिरहेछन् आजका मानिस ।
 
प्रकृति विनाशमा दिनरात संलग्न
गरिसके स्वार्थका खेतीको सुरुवात
प्रकृति आफैले जब जब याद दिलाउँछ
तब तब पर्छ यी दानवरूपी मानवलाई ठुलो आघात ।
 
सानले सर्वश्रेष्ठ प्राणी कहलाउँछन्
छैन मानवीय दायित्वको बोध
‘ईश्वर’ शब्दमाथि नै प्रहार गरी
बन्दै छ मानवरूपी दानव समाज ।