December 9, 2024, Monday
२०८१ मंसिर २४, सोमबार

मेरो नेपाल

ढकमक्क गुराँस फुल्छन् वन पाखा भरी
कल्कल् गर्ने खोलानाला चिर्बिर् गर्ने चरी 
सिर्रसिर्र बतासले धान गहुँ झुल्ने
वन भरी जताततै लाखौं फूल फुल्ने ।
 
असङ्ख्य छन् हिमाल र पहाडका ताँती
अनेकौं छन् भाषा धर्म अनेकौं नै जाति
छङ्छङ् गर्ने झरना छन्, नागबेली खोला 
हाम्रो जस्तो सुन्दर देश अन्त कहाँ होला ?
 
प्यारो लाग्छ जन्मभूमि आफ्नै लोक भाका 
नाचगान, मौलिकता, पुर्खाका यी गाथा 
मित्रता र भाइचारा, आत्मीयतापना 
कमजोर होइन, शक्तिशाली बनौँ सबैजना।
 
मठमन्दिर, देवल, मण्डप, देवी देउराली 
कामना छ, वन्दना छ, तिमीलाई खाली
शान्ति छाओस् यो देशमा बनौं आज्ञाकारी 
विकासले फलोस्-फुलोस्, बढोस् रोजगारी।
 
प्रतिष्ठित ज्ञानभूमि मूल हाम्रो शुद्ध 
अमरसिंह, बलभद्र, जनक र बुद्ध 
स्वाभिमान दिन्नौँ, बरू एकाकार भै लड्छौँ 
सगरमाथा शिरमा राखी सधैँ अघि बढ्छौँ।