अबका दिनमा शिक्षकको भूमिका

विद्यार्थीको जीवनमा सकारात्मक परिवर्तन ल्याउने प्रक्रिया शिक्षण हो । शिक्षण भनेको विद्यार्थीहरूलाई सहज र सफल जीवनयापनका लागि सहयोग गर्नु पनि हो । विद्यार्थीहरूलाई विद्यालय र विश्वविद्यालयका परीक्षामा उत्तीर्ण गराउनु मात्र शिक्षणको उद्देश्य होइन । उनीहरूलाई सहज र सफल  जीवनयापनका लागि आवश्यक व्यवहारिक ज्ञान, सिप र कला आर्जन गर्ने अवसर प्रदान गर्नु नै शिक्षणको साँचो उद्देश्य हो ।

फरक फरक सिकाइ आवश्यकता भएका व्यक्तिहरूलाई उनीहरूको चाहनाअनुसारको सिकाइ वातावरण सिर्जना गर्नुपर्ने भएकाले शिक्षण जटिल कर्म हो तर आफूले जीवनयापन गर्ने सिलसिलामा आर्जन गरेका अमूल्य ज्ञान, सिप र अनुभवहरूको अधिकतम उपयोग गर्न पाउने अवसर पनि हो शिक्षण । यो एउटा प्राज्ञिक र पवित्र पेसा हो । जीवनका बहुमूल्य भोगाइहरू प्रत्यक्ष आदानप्रदान गर्ने दुर्लव अवसर शिक्षण पेसामा मात्र सम्भव हुन्छ ।

शिक्षणजस्तो पवित्र र प्राज्ञिक कर्म गर्ने अवसर शिक्षकलाई नै छ । समयसँगै शिक्षकको भूमिका पनि बदलिरहन्छ तर जुन समय भए पनि  शिक्षक विद्यार्थीका भरोसाको विश्वासिलो पात्र हो, शिक्षक उनीहरूको भाग्य विधाता हो ।

पहिला जुन शिक्षकले कक्षाकोठामा आफ्नो प्रवेशसँगै विद्यार्थीहरूलाई शान्त बनाउन सक्छ उही नै सफल मानिन्थ्यो । शिक्षक देख्दा डरले विद्यार्थी थर थर भए भने उही शिक्षक वाह वाह हुने समय पनि थियो । जुन शिक्षकले विद्यार्थीलाई धेरै पाठ रटाउनसक्छ उही शिक्षक सफल हुने समय पनि हामीले भोगेकै  हौं ।

वास्तवमा सफल उही शिक्षक हो जसले विद्यार्थीको लक्ष्य प्राप्तिमा सहयोग गर्नसक्छ । विद्यार्थीको जीवन सुखी, खुसी र सहज बनाउन आवश्यक सिकाइ वातावरण सिर्जना गर्ने शिक्षक नै सफल शिक्षक हो । शिक्षकको बौद्धिकता, प्राज्ञिकता र सफलताको मूल्याङ्कन विद्यार्थीको सफलता वा लक्ष्य प्राप्तिका आधारमा गरिन्छ । सबै शिक्षकलाई सफल शिक्षक बन्न मन हुन्छ । तर कसरी ?

भनिन्छ, ‘A poor teacher explains, an average teacher demonstrates and a good teacher inspires.’ यसबाट एक शिक्षकबाट असल शिक्षक बन्न के कुरा आवश्यक हुन्छ भन्ने स्पष्ट छ । व्यक्तिसँग असीमित सम्भावनाहरू विद्यमान् हुन्छन् । शिक्षकले ती सम्भावना वा प्रतिभाहरू पहिचान गरी र प्रस्फुटनका लागि प्रेरणदायी वातावरण निर्माण गर्नसक्यौँ भने हरेक व्यक्तिले आफ्नो लक्ष्य पहिल्याउँछन् । शिक्षकले विद्यार्थीहरूमा ज्ञान र सिपको भोक जगाइदिन सक्यौँ भने बाँकी  धेरै कुरा उनीहरू आफैले सिक्छन् । शिक्षकसँग भएको चिन्तनशीलता, सिर्जनात्मकता र ऊर्जाको उपयोग गरी विद्यार्थीहरूमा सिकाइप्रति उत्प्रेरणा जगाउनु नै अहिलेको आवश्यकता हो । उत्प्रेरित विद्यार्थीका लागि सिकाइ हुन कक्षा कोठाको आवश्यक पर्दैन । सिकाइ जुनैसुकै समयमा जहाँसुकै पनि हुनसक्छ ।

शिक्षण भनेको शिक्षकले कक्षाकोठामा प्रवेश गरेर आफूसँग भएका ज्ञान विद्यार्थीलाई सुनाउने कार्य मात्र होइन । शिक्षण त विद्यार्थीहरूलाई सिकाइप्रति उत्प्रेरित गर्ने कला हो । यस्तो कला आर्जन गर्नु आजका शिक्षकको आवश्यकता हो ।

भनिन्छ, शिक्षक एउटा बत्ती हो, जो आफू बले मात्र अरूलाई ज्योति दिनसक्छ । बल्नसक्ने गुण नभएको बत्तीले उज्यालो दिनसक्दैन । शिक्षकको प्रज्वलनशीलता भनेको उसको सिर्जनशीलता, उसको ऊर्जा, उसको चिन्तनशीलता र उसको कला हो । शिक्षक जति सिर्जनशील, चिन्तनशील, ऊर्जावान् र कलात्मक बन्नसक्छ, उसले दिने ज्ञानको ज्योति त्यति नै तेजिलो हुन्छ ।

जसरी भुत्ते आराले १० घण्टामा छिनाउने रूख धरिलो आराले २ घण्टामै  छिनाउनसक्छ त्यसै गरी सिर्जनशीलता, चिन्तनशीलता, ऊर्जा र कलाले तिखारिएको शिक्षकले अन्य शिक्षकले १० महिनामा प्रदान गर्ने सिकाइ २ महिनामै प्रदान गर्नसक्छ ।

अहिलेको समय शिक्षकले म कसरी ९ महिनामा सिकाउने कुरा ५ महिनामै सिकाउन सकुँला भनेर घोत्लने समय हो । आफूसँग निदाउन लागेको सिर्जनात्मक र रचनात्मक सीपलाई ब्युँझाउने हो । आफ्ना अमूल्य ज्ञान, सिप र कलाका साधनहरूलाई तिखारेर  धारिलो पार्ने हो ।

शिक्षक कक्षाकोठाभित्रको राजा हो । सेरेमोनियल होइन । कार्यकारी हो ।  आफूसँग भएका सम्पूर्ण ज्ञान, सिप, कला र क्षमताहरूको उचित उपयोग गर्ने एकल अधिकार शिक्षकसँग हुन्छ । यदि उसले आफ्ना एकल अधिकारहरूको इमान्दारितापूर्वक उचित उपयोग गरे परिवर्तन कसो नआउला ? विद्यार्थीलाई कसरी सिकाइप्रति अभिप्रेरित गर्नसक्छु भनेर केहीबेर चिन्तन गरे, कुनै जुक्ति कसो  नफुर्ला ? घर परिवारका र आफ्ना व्याक्तिगत समस्यालाई एकछिन पन्छाएर कुनै नयाँ योजनाको तयारीमा जुटे कुनै उपाय अवश्य निस्कन्छ ।

शिक्षकलाई कुनै रचनात्मक र नयाँ काम गर्न कसैले भनिरहनुपर्दैन । उसले कसैको निर्देशन कुरिरहनु आवश्यक हुँदैन । आफूले विद्यार्थीको सिकाइका लागि अहिलेसम्म गरेका कार्यहरू स्मरण गर्दै इमान्दारपूर्वक तिनीहरूको आत्मसमीक्षा गरौँ । निष्कर्ष निकालौँ । नयाँ योजना तय गरौँ । यसरी तयार गरिएको योजनाले कसरी आफूलाई रूपान्तरण गर्नसकिन्छ सोको सङ्केत गर्नुपर्छ । योजनाले शिक्षणमा प्रविधिको प्रयोगलाई जोड दिनैपर्दछ । शिक्षणमा प्रविधिको प्रयोग फेसन होइन । यो आजका विद्यार्थीलाई सिकाइप्रति अभिप्रेरित गर्ने कडी हो । शैक्षिक सामग्रीको निर्माण र प्रयोग, रचनात्मक शैक्षिक क्रियाकलापहरूको तयारी, विभिन्न शैक्षिक खेलजस्ता विषयहरू पनि योजनाभित्र अनिवार्य समावेश गर्नुपर्दछ  ।

शिक्षकको अबको तयारी के विषयवस्तु सिकाउने भन्ने मात्र होइन । यस प्रकारको तयारी पुरानो भइसक्यो । अबको तयारी भनेको  विद्यार्थीमा विकास गर्नखोजिएको ज्ञान, सिप र अभिवृत्तिलाई कुन तरिका वा विधिले प्रस्तुत गर्नुपर्दछ भन्ने हो । सिकाउन खोजिएका विषयवस्तुलाई जसले कलात्मक ढङ्गले प्रस्तुत गर्नसक्छ ऊ नै सफल शिक्षक हो । कुनै पनि विषयवस्तुलाई रचनात्मक वा कलात्मक ढङ्गले प्रस्तुत गर्दा विद्यार्थीहरू सिकइप्रति आकर्षित हुन्छन्, सिक्न अभिप्रेरित भइरहन्छन्, सिकाइ छिटो मात्र हुँदैन दीर्घकालीन पनि हुन्छ । रचनात्मक र कलात्मक  शिक्षण कौशलहरूको प्रयोग गर्दा विद्यार्थीहरूले पत्तै नपाई धेरै कुरा सिकिरहेका हुन्छन् । अबको शिक्षणयोजना भनेको रचनात्मक र कलात्मक शिक्षण कौशल वा सिपको तयारी हो ।

कोभिड १९ का कारण हाल विद्यालयहरूमा अध्यापनको काम हुननसक्दा शिक्षकहरूमा के गर्ने भन्ने अन्योल देखिएको छ । कतिपय शिक्षकहरूले यो समयलाई राम्ररी नै उपयोग गरेको पाइएको छ । यो समय शिक्षकले आफ्नो ज्ञान, सिप र कलालाई तिखार्ने सुनौलो अवसरका रूपमा उपयोग गर्नसके विद्यार्थीहरूलाई परेको अन्याय कम गर्नसकिन्छ । यो समयमा शिक्षकले आफ्ना शिक्षण कौशल र कलाका साधनहरूमा मेहनेतका साथ रेत लगाएर धारिलो बनाउनु जरूरी छ । यसले  कोभिड १९ का कारण बालबालिकाहरूमा परेको क्षति न्यूनीकरणमा ठुलो सहयोग मिल्ने निश्चित छ ।