April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

अनुवाद : चुनौती र अवसर

परिचय

     अनुवाद १९६० को दशकबाट साहित्यिक लेखनमा प्रयोग भएको पाइन्छ। सुरुवाती कालखण्डमा यसलाई छुट्टै विधाका रूपमा स्विकारिएको थिएन। अनुवादकलाई लेखकको रूपमा नहेरिने र यो त्यति धेरै प्रतिष्ठाको विषयका रूपमा हेरिँदैन थियो। अनुवादलाई दोस्रो दर्जाको लेखन शैलीको रूपमा हेरिँदै गर्दा बिस्तारै यसको महत्त्व साहित्यिक लेखनमा बढेको देखिन्छ। अनुवाद भन्नाले कुनै पर विश्वको नयाँ सांस्कृतिक ज्ञानको लक्षित संस्कृतिमा रचानत्मक सृजना हो। वास्तवमा यो अनेकतामा एकता को सचेतना हो। यो एक विश्व साहित्यको सांस्कृतिक विकासक्रमको साधन हो जसले विचारको आदानप्रधान गर्न मद्दत गर्छ।

  • अनुवादको सैद्धान्तिक विकासक्रम र परिभाषाः

      अनुवादलाई व्याख्यात्मक शिल्पका रूपमा लिएको देखिन्छ । यो एउटा त्यस्तो शिल्पकला हो जसमा स्रोत भाषा र लक्षित भाषाबिचको समज्यस्यताबिच अनुगृहीत हुन्छ । एन्डरे लेफेवेरेले [1]सर्वप्रथम सन् १९७८ मा अनुवाद शास्त्रको प्रयोग अनुवाद सिद्धान्तमा गरेका थिए । यसले स्रोत भाषामा रहेको विषयवस्तुको खोज गर्न उल्लेख्नीय मद्दत गरेको पाइन्छ। प्राकृतिक रूपमा यो भाषिक विज्ञानको भित्री क्रियाकलापको व्याख्याको रूपमा हेर्ने गरिएको छ । कत्फोर्द (१९७८)[2] अनुवादलाई एक भाषिक विषयवस्तुलाई अर्को भाषिक वियवस्तुको रूपमा प्रतिस्थापन गर्ने क्रियाकलापका रूपमा व्याख्या गर्दछन्। यसलाई स्रोत भाषाको अर्थलाई लक्षित भाषामा प्रतिस्थापन हो भनेर व्याख्या गर्छन् । उनी भन्छन्- अनुवाद भनेको भाषिक क्रियाकलापको चिरफारहो । एउटा भाषाको विषयवस्तुलाई अर्को भाषामा लाने प्रक्रिया हो ।  पेटर नेमार्क[3] अनुवादको समस्यालाई व्याख्या गर्दै भन्द्छन कि यसमा स्रोत विषयको केही शब्द र अर्थ  हराउन सक्दछ ।   निडा[4] यसलाई विज्ञानका रूपमा व्याख्या गर्छन् । उनी अनुवादको परिभाषा एकल नहुने र विषयपरक भएर सम्पादन गर्नुपर्ने कुरालाई जोड दिँदै गद्य र पद्य अनुवादको परिभाषा एउटै नभई फरक फरक हुने मत व्यक्त गर्छन् । सुसन ब्यासनेटले[5] अनुवादलाई औधोगिक पुँजीवाद र औपनिवेशको बिस्तारको परिधिमा बसी व्याख्या गरेका छन्। अनुवाद भनेको बौद्धिक क्रियाकलाप हो। यसमा स्रोत विषयले कुनै पनि लक्षित विषयको बारेमा बोल्दछ। गोविन्दराज भट्टराई[6](२००० २) भन्छन्- अनुवाद भनेको स्रोत भाषामा रहेको विषयवस्तुको भावलाई लक्षित भाषामा प्रतिस्थापन गराउने प्रक्रिया हो ।

  • अनुवादका प्रकार
सुसन ब्यसनेट(१९८०;१३) एडवर्डलाई उद्धरणमा लिँदै बन्छन कि सम्भवत संसारका कुनै दुई भाषाहरू समान समाजिक वास्तविकतालाई प्रतिबिम्बित गर्न सकदैनन् । भिन्न समाजिक विश्वहरू एकअर्काका परिपूरक हुन सक्दैन् किनकि ती दुवै आफैमा पूर्ण र भिन्न छन्।

      ब्यसनेटको तर्कलाई आधार मान्ने हो भने  संसारमा  हरेक समाजमा बोलिने भाषा फरक रहने र व्यक्तिहरूले फरक फरक भाषा बोल्ने सत्य कुराको उजागर भएको बुजिन्छ। फरक भाषाको वाक्य संरचना फरक हुने र त्यसको भाव पनि तथ्यगतरूपमा फरक हुन्छ।

      विजय कुमार दास (२००९; २८-२९)[7]जोन ड्राइडनको भनाईलाई उद्धृत  गर्दै भन्दछन् कि अनुवादलाई तीन भगमा विभजन गर्नसकिन्छ। मेटाफ्रेज, प्याराफ्रेज र इमिटेसन (शब्दानुवाद, भावानुवाद र स्थनीयकरण)। त्यस्तै रोमन याकोब्सनको विचार उद्धृत गर्दै दास अनुवादलाई तीन भिन्न प्रकरयाको कुरा गर्छन्। एकल भाषिक अनुवादः  यो अनुवादमा एकल भाषाभित्र भएका सङ्केतलाई त्यही भाषाभित्र रहेको अर्को भाषिक सङ्केतमा रूपान्तरण गरिन्छ।  अन्तर भाषिक अनुवाद भन्नाले एक भाषामा भएको भाषिक सङ्केतलाई अर्को भाषिक सङ्केतमा रूपान्तरण गर्ने प्रक्रिया बुझिन्छ। लाक्षणिक अनुवादमा एक भाषिक काव्यमा रहेको लक्षणालाई केन्द्रबिन्दुमा राखेर अनुवाद गरिन्छ।

  • अनुवादको इतिहास 

      सुसन ब्यासनेट (१९८० ४०-४१) लेख्छन् कि वास्तवमा अनुवादको सुरुवात कसरी भयो यकिनका साथ भन्न सकिँदैन । यद्यपि रोमन सभ्यतामा अनुवादको स्थापना भएको कुरा सिसेरो र होर्यासजास्ता अनुवादकको अस्तित्वले प्रमाणित गर्छ। यसको तात्पर्य  अनुवादको सुरुवात कहिले भएको एकिन नभए तापनि रोमन सभ्यताको पालामा अनुवाद अस्तित्वमा रहेको प्रमाणित हुन्छ। तसर्थ रोमन सभ्यतालाई नै आधिकारिक रूपमा अनुवाद सुरु भएको युगको रूपमा लिनसकिन्छ। त्यसपछि इङ्गल्यान्डमा अनुवादको क्रमिक विकास हुँदै आएको देखिन्छ। वास्तवमा अङ्ग्रेजी साहित्यको सुरुवाती कालखण्डमा अनुवादको उल्लेखनीय भूमिका रहेको छ । राजा  अल्फ्रेडको पालामा एङ्गलो स्याक्सन साहित्यको अनुवाद भएको छ। कविहरूबाट र सरेले इटालियन कविताहरूलाई अङ्ग्रेजीमा अनुवाद गरेका छन्।  यी त केवल प्रतिनिधि पात्र मात्रै हुन्।

  • नेपाली किताबको अङ्ग्रेजी अनुवादको विकासक्रम

        नेपाली साहित्यको अङ्ग्रेजी अनुवादको इतिहास धेरै लामो पाइँदैन।  नेपाली साहित्यको ऐतिहासिक कालखण्डमा भानुभक्तलाई प्रमाणिक अनुवादक मान्नसकिन्छ किनकि संस्कृतमा लेखिएको रामायणलाई नेपालीमा अनुवाद गरेर नेपाली जनजिब्रोमा उक्त महाकाव्यलाई जीवन्त बनाएका थिए। तर पानि नेपाली साहित्यलाई अङ्ग्रेजीमा अनुवाद गर्ने श्रेय हामीले लक्ष्मीप्रसाद देवकोटालाई दिनुपर्छ। उनले २०१३ सालमा भिमदत्त रोक्कालागायत अरू साहित्यकारको सहयोगमा इन्द्रेणी साहित्यिक पत्रिकामा नेपाली कविताहरूको अनुवाद गर्नथालेको देखिन्छ। नेपाली कविता अनुवादको सम्बन्धमा  माधवलाल कर्मचार्य (२००२)[8] लेख्छन्- देवकोटा स्वयमले सन् १९६४ मा शुलोचना महाकाव्यलाई अङ्ग्रेजीमा अनुवाद गरेका थिए। मुनामदन खण्डकाव्यको अङ्ग्रेजीमा अनुवाद सन् १९६९ मा मधुसुधन देवकोटाले गरेका थिए भने सन् १९९७ आनन्द श्रेष्ठले गरेका थिए। पछि उक्त किताब मिचेल जेम्स हटले पनि सन् १९९६ मा अनुवाद गरेक थिए।  देवकोटाले समकालीन साहित्यकारहरूका कृतिलाई पनि अङ्ग्रेजिमा अनुवाद गरेका थिए। उनले  बालकृष्ण समको मृत्युपछिको अभिव्यक्ति को अङ्ग्रेजी अनुवाद गरेका थिए। तीर्थराज तुलाधरले म.बि.बि. शाहका कविताहरूलाई अङ्ग्रेजीमा अनुवाद गरेका थिए। सायद यो नै अङ्ग्रेजीमा अनुवाद भएको पहिलो कविता सङ्ग्रह थियो।  तीर्थराज तुलाधरले सन् १९९४ मा  विजय मल्लका ५६ वटा कविताहरूलाई मेरो इच्छा र अन्य कविताको [9] शीर्षकमा अनुवाद गरेका थिए। माधवलाल कर्मचार्य र अयोध्यप्रसाद प्रधानले संयुक्त रूपमा केदारमान ब्यथितका एकासीवटा कविताहरू अनुवाद गरेका थिए। माधवलाल कर्मचार्यले छिन्नलताका लगभग ७० वटा कविताहरूलाई अङ्ग्रेजीमा अनुवाद गरे। उनले सिद्धिचरणका ६७ वटा कविताहरू पनि अनुवाद गरेका थए। यसरी नेपाली कविताको अनुवादमा कर्मचार्यको विशेष भूमिका रहेको देखिन्छ। डा. तारानाथ शर्माले चाँदनी शाहका कवितालाई अङ्ग्रेजीमा अनुवाद गरेको पाइन्छ।  त्यस्तै पद्म देवकोटाले नेपाली कविताहरूलाई अङ्ग्रेजीमा अनुवाद गरेर नेपाली अनुवादको ऐतिहासिक पर्खालमा योगदानको ईंट्टा थपेका छन् । डेभिड रबिन सायद प्रथम अङ्ग्रेजी मातृ भाषक हुन् जसले नेपाली साहित्यमा विशेष ध्यान दिएको देखिन्छ। लक्ष्मीप्रसाद देवकोटाका कविताहरू रबिनले अनुवाद गरेको देखिन्छ।

            गध्यको  अनुवादको इतिहास पनि पद्य जति नै पुरानो छ। सायद प्रहलाद नाटक नै पहिलो नेपाली नाटक होला जुन अङ्ग्रेजीमा अनुवाद भएको छ। यसलाई मधुसुधन देवकोटाले  अनुवाद गरेका हुन्। त्यसै गरी अस्वस्थामा नाटक पद्मप्रसाद देवकोटाले अनुवाद गरेका थिए। शीरिषको फूल सम्भवत पहिलो नेपाली उपन्यास होला जुन अङ्ग्रेजीमा अनुवाद भएको छ। यो टंक बिलास वर्य र सन्ड्रा जेडिस्टेनले सामूहिक रूपमा सन् १९७२ मा गरेका हुन्।  नेपाल भाषाको प्रथम अनुवाद भएको उपन्यास धुस्व सायमीको ग्रहण हो यसको अनुवादक टि र कंसाकार हुन्। ल्यरी हर्तसेलले शङ्कर कोइरालाको खैरेनीघाट, विजय मल्लको पल्लो घरको झ्याल र लीलबहादुर क्षेत्रीको बसाइँ उपन्यास अनुवाद गरेका छन्।

      अनुवादका सीमा तथा चुनौतीहरू

      अनुवाद भाषिक अर्थको रुपान्तरण र तथा प्रतिस्थापन भएकाले यसका सीमाहरू छन्। सम्पूर्ण भाषिक रुपान्तरण गर्न सम्भव छैन किनकि स्रोत भाषा र लक्षित भाषाबिचमा पूर्ण रूपले समानता पाइँदैन। यसरी असमान भाषिक गुण हुँदा अनुवादमा समस्या आउनसक्छ। सांस्कृतिक शब्दको भावानुवाद पनि अनुवादको समस्या हो। भौगोलिक शब्द आदिको अनुवाद गर्दा पनि त्यसको मर्म नखुलाउन सक्छ। उदारणको लागिः चन्द्रमालाई मुन (moon) भनेर अनुवाद गर्दा मुनले चन्द्रमाको सांस्कृतिक र धार्मिक भावलाई समेट्नसक्दैन। किनकि पूर्वीय दर्शनमा चन्द्रमाको सांस्कृतिक र धार्मिक रूपमा विशेष अर्थ छ। साथै व्याकरणात्मक भिन्नताले पनि अनुवादमा चुनौती ल्याउनेगर्छ। नेपाली वयाकरणमा वाच्य तीन प्रकारका छन् तर अङ्ग्रेजीमा वाच्य केबल दुई प्रकारका मात्र छन्। यसरी भाव वाच्यको वाक्यको अनुवाद गर्दा केही चुनौती आउँन सक्छन्। त्यस्तै सर्वनामको अनुवादमा नि समस्या हुनसक्छ। पुरूषवाचक सर्वनामको प्रयोग आदारअनुसार फरक फरक गर्ने गरिन्छ। जस्तो त, तिमी तपाँईं आदि तर अङ्ग्रेजीमा केबल ‘यु’ को प्रयोग हुन्छ। तँ गृहकार्य गर् । तिमी गृहकार्य गर। तँपाईं गृहकार्य गर्नुहोस्। यी तीन वाक्यको अङ्ग्रेजी अनुवाद you do your home work. हुन्छ। तसर्थ अनुवादमा भाषिक, सांस्कृतिक र व्याकरणात्मक चुनौतीहरू धेरै हुन्छन्। यी चुनौतीहरूलाई अनुवादमा विशेष रूपमा सम्बोधन गर्नुपर्छ।

  • अनुवादको उपयोगिता

      अनुवाद आफैमा चुनौती भए तापनि यसको उपयोगिता धेरै छ। यसले सांस्कृतिक धरातललाई फराकिलो पार्न मद्दत गर्छ। कुनै पनि भाषिक साहित्यलाई अर्को भाषिक पाठकको माझमा पुर्याउन अनुवादको विशेष भूमिका रहेको हुन्छ। यसले भिन्न भाषा समूहको सांस्कृतिक भाषिक समाजिक विचारको आदान प्रदान गर्न विशेष मद्दत गर्छ। त्यस्तै गरेर यो भाषा शिक्षणमा प्रयोग भई भाषिक शिकाइको माध्यमका रूपमा काम गर्छ। यो केबल साहित्यमा मात्र नभई बोलिचालीमा पनि प्रयोग हुन्छ। यसले  व्यवसायिक प्रयोजनमा पनि विशेष सहयोग पुर्याउने देखिन्छ। पर्यटन व्यवसायमा यसको उच्चतम प्रयोग भएको पाइन्छ।

मानव यो ब्रह्माण्डकै सबैभन्दा उत्कृष्त प्राणी हुनुमा उसको बोलाइ लेखाइ पढाइ र ती चिजले उसको आनिबानीमा पारेको प्रभाव र सृजनशीलता आदिको कारण हो। मानव विभिन्न भाषाको प्रयोग गर्ने ल्याकत राख्दछ। भाषिक प्रयोगको क्षमताले गर्दा उसले विगत र वर्तमानबिचको समजस्यता मिलाउन सक्छ। अनुवाद एउटा त्यस्तो साधन हो जसले सम्पूर्ण इतिहास धर्म संस्कृतिका बारमा जानकारी आदानप्रदान गर्न मद्दत गर्छ। यदि अनुवाद विज्ञन नहुँदो हो त

अङ्ग्रेजहरूले ल्याटिनका बारेमा थाहा नै पाउने थएनन् । न त पूर्वीय हरूले पश्चिमि गोलार्धको बारेमा थाहा पाउनेथिए न त पश्चिमीहरूले पूर्वीय गोलार्धका बारेमा थाहा पाउनेथिए। गोविन्दराज भट्टराई (२०००) साहित्यिक अनुवादले हामीलाई विभिन्न देश र भाषिक साहित्यमा चलेका चलन र सैद्धान्तिक वादहरूका बारेमा थाहा दिन मद्दत गर्छ। यसले साहित्यिक ज्ञानको धरातल धेर फराकिलो बनाउन गर्न मद्दत गर्छ। साहित्यका पाठकहरू बढाउनुका साथै भषिक र सांस्कृतिक ज्ञनको धरातल बढाउँछ ।

विजयकुमार दास (1998) अनुवादले विभिन्न कथाहरूका विषय र साहित्यका विधाहरूमा प्रयोग भएका लेखन प्रक्रिया वा रचनात्म लेख्य शिल्प भित्राउन मद्दत गर्छ। महाभारत र रामायणको अनुवादले अनुवाद आफैमा एउटा नयाँ लेखन प्रक्रियाको रूपमा स्थपित गराउन मद्दत गरेको छ। तसर्थ अनुवादले लेखन प्रक्रयामा नयाँ शैलीको बिजारोपण गर्नसक्छ। विगतमा अनुवादको खासै महत्त्व थिएन। अनुवादको प्रमुख उदेश्य दुई भिन्न भाषा समूहको फरकबिचको समाजस्यता हो। आन्ड्रे लफार्भ(२०१०:) अनुवादलाई विश्व साहित्यको ज्ञानको प्रत्यारोपण हो । सांस्कृतिक सम्बन्धको आदानप्रदान गर्नुका साथै परास्परिक भ्रातृत्वको भावना जगाउन अनुवाद सिद्धान्तले मुख्य भूमिका खेलेको छ।

      अनुवादले विश्व साहित्यलाई सछधुरियाएको छ। यसले एउटा निश्चित समूहको संस्कृतिलाई सीमित धेराबाट बाहिर निकालेर विश्वसंस्कृतिको अङ्ग बनएको छ। अनुवाद भन्नाले एउटा भाषिक भावलाई  अर्को भाषाको बिम्बमा लैजाने क्रियाकलाप हो। तर भाषिक बिम्ब भाषापिच्छे फरक हुन्छ। ती फरक बिम्बले संस्कृति र व्याकरणलाई एकअर्काभन्दा फरक बनाउछ। वास्तवमा भाषाको मुख्य  कार्य  विचारको आदानप्रदान हो। भाषिक विचार कुनै पनि भाष्य संस्कारमा निर्भर पर्छ।

  • उपसंहार

अनुवाद शास्त्र एक छुट्टै विधामा स्थापित हुनमा विशेष गरी भाषाविद्हरूको भूमिका रहेको छ। १९६० को दशकबाट यो नयाँ विधाका रूपमा चिनिन थालेको छ। यसका विभिन्न धारहरू विकसित हुँदै गएका छन्। सम्पूर्णरूपले कुनै पानि साहित्यिक कृतिहरू अनुवाद नभए तापनि अनुवादको आवश्यकता अपरिहार्य छ। यसले केबल साहित्यको धरातल मात्र फराकिलो पार्दैन, यसले विभिन्न भौगोलिक परिवेका भाषा साहित्यको ज्ञान र लेखन शैलीलाई परिष्कृत बनाउन मद्दत गरेको छ। पाठकहरूलाई विश्व साहित्यका बारेमा आवश्यक  खुराक पस्किनलाई यो धेरै सहयोगी भएको छ


[1]  Translation/History/Culture. London: Routleadge, 1992. Print. का लेखक

[2]  A Linguistic Theory of Translation. . London: OUP, 1978. Print. का लेखक

[3] A Textbook of Transaltion का लेखक

[4] Contexts in Translating का लेखक

[5] Translation Studies.2nd ed. London: Menthen, 1980 का लेखक

[6] . An Introduction to the Translation Studies. Kathmandu: Ratna Pustak      Bhandar, 2000. Print. का लेखक

[7] A Handbook of Translation Studies.2nd ed. New Delhi: Atlantic, 2009.      Print. का लेखक

[8] . अनुवाद ग्रन्थ सूची. काठमान्डौः नेपाल प्रज्ञा प्रतिष्ठान, 2002. को लेखक। यो पुस्तकले अनुवादित नेपाली किताबहरुको अभिलेखीकरण गरेको छ।

[9] My Desire and Other poem को नेपाली अनुवाद( यस लेखका लेखकको अनुवाद)