March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

खै के भन्नु !

छोरो जन्मदाँ बेलुन फुटाउने मेरो समाज
छोरी जन्मँदा दुःखका आँसु बगाउँछ
खै के भन्नु मेरो समाजलाई
छोरीलाई काखमा लिन डराउँछ
छोराको छैठीमा भाग्य सजाउँछ ।
 
किन बुझ्दैन मेरो समाज
भोलि त्यही छोरीले सृष्टि चलाउँछे
छोरो त पूर्णिमाको रात हो भन्ने
मेरो समाजलाई खै के भन्नु
आखिर दियोमा बत्ती त
छोरीले जलाउँछे ।
 
छोराको आँखामा त आँसु
आउनै दिनुहुँदैन भन्ने मेरो समाज
छोरीका आँखामा त आँसु टुटाउँनै दिँदैन
खै के भन्नु यो समाजलाई
भोलि सृष्टिकर्ता भई सृष्टि चलाउने
छोरीको भविष्य त मनमै लिँदैन ।
 
तेलबिना दियो जलाएर देखाउँछौ भने
हे मेरो समाज ! बोल्दिनँ म
छोरीबिना सृष्टि चलाएर देखाउँछौ भने
छोरीको बिडम्बना, खोल्दिनँ म ।
 
छोराको हातमा किताब राख्दा
छोरीका हातमा कपी राख्छौ भने बोल्दिनँ म
हे मेरो समाज !
छोरीलाई पनि छोराझैँ
उच्च पदमा राख्छौ भने
छोरीको कथाव्यथा कतै खोल्दिनँ म ।
 
छोरो जन्मँदा वंश बढ्यो भन्ने
हे मेरो समाज !
छोरीबिना वंश बढाउँछौ भने
बोल्दिनँ म ।
 
छोरा पाउने आसमा
छोरीलाई बली चढाउँदा
तिम्रो मन जल्दैन भने
छोरीहरूको पिर कसैसामु खोल्दिनँ म ।