November 5, 2024, Tuesday
२०८१ कार्तिक २०, मंगलवार

जितिया पर्व

जितिया पर्व नेपालका तराई भूभागका थारू समुदायले मनाउने विशेष पर्व हो । अचेल यस पर्वको लोकप्रियता बढेका कारण सबै जातजाति सँगै मिलेर हर्षोल्लासका साथ मनाउने गरिन्छ । असोज कृष्ण सप्तमीका दिन सुरु भई नवमीसम्म तीन दिन यो पर्व मनाइन्छ । साधारणतयः बुढापाकाहरूले यस पर्वलाई घटस्थापनाभन्दा दश दिनपहिले मनाइने पर्व भनेर सम्झने गरेका छन् । विवाहित महिलाहरू आफ्ना श्रीमान् र सन्तानको सुख–समृद्धि तथा उन्नति–प्रगतिको कामना गर्दै दीर्घायु जीवनका लागि बडो श्रद्धाभावका साथ जितिया पर्व मनाउने गर्दछन् ।

जितिया पर्व मनाउन विवाहित महिलाहरूलाई माइत बोलाइन्छ । तीन दिनसम्म मनाइने यस पर्वको पहिलो दिन अर्थात् असोज कृष्ण सप्तमीलाई ‘नहा खा’ (नुहाउने र खाने) वा ‘माछ मरुवा’ भनिन्छ । यस विशेष दिनमा व्रत गर्ने महिलाहरू स्नान गर्नका निमित्त पवित्र धर्मकुण्ड, पोखरी वा नदीका किनारमा जानेगर्छन् । स्नान पनि विधिवत तरिकाले नै गर्छन् । स्नान गर्नुपूर्व खरी र तोरीको तेल घिरौँलाका पातमा राखी पानीमा बगाउनेगर्छन् । यसरी ऐतिहासिक मान्यता बोकेका स्यालनी र गिद्धिनीलाई व्रत बस्नका लागि निम्तो दिएको विश्वास गरिन्छ । नुहाई धुवाई गरी घर आइसकेपछि खानामा विशेष रूपमा माछा र मरुवा (कोदो) को रोटी खाने गरिन्छ । यस विधिलाई माछ मरुवा भनिन्छ ।

जितियाको दोस्रो दिनलाई उपास वा व्रत बस्ने दिन भनिन्छ । दिनको सुरुवात हुनुअगावै रातमै व्रत बस्ने महिलाहरूमा दर खाने चलन छ । व्रतालुहरू घिरौँलाको पातमा विशेष गरी दही चिउरा र फलपूmलको भोग काग कराउनुअगावै गर्छन् साथै आफ्ना सन्तानलाई पनि खुवाउने गर्छन् । दिनको सुरुवातसँगै व्रत सुरु हुन्छ । महिलाहरू अष्टमीका बिहानदेखि नवमीका बिहानसम्म निर्जल व्रत बस्ने गर्छन् । गल्तीले जिब्रो पनि टोकियो वा कुनै साधारण वस्तु (घाँस, पराल आदि) पनि तोडियो भने व्रत भङ्ग भएको मानिन्छ । यसै कारणले यस पर्वलाई खर्जितिया पनि भनिन्छ ।

आफ्ना टोलछिमेकमै ‘जितमहान्’ भगवान्‌को मूर्ति बनाई सबै भक्तजन एकीकृत भई पूजा आरधना गर्नेगर्छन् । साथै गाउँका बुढापाकाहरूबाट जितिया पर्वको कथा पनि सुन्नेगर्छन् । पर्वको तेस्रो अथवा अन्तिम दिनलाई पारन भनिन्छ । यस दिन बिहान सबेरै उठी महिलाहरू नदीका किनारमा गई स्नान गर्नेगर्छन् । तत्पश्चात् घर आई पूजामा प्रयोग गरिएका अक्षता, केराउ, नैवद तथा फलपूmल सेवन गरी व्रत टुङ्ग्याउने कार्य गर्दछन् ।

पौराणिक कथाअनुसार सत्य युगमा सालिवहानका पुत्र जितमहान् नाम गरेका एक सत्यवादी राजा थिए । आफ्ना प्रजाको कल्याणका निम्ति उनी कुनै बाधासँग लड्न पछि हट्दैनथे । एक दिन एउटी वृद्धा महिलाले आना छोरालाई भगवान् विष्णुको वाहन गरुडले खाएको हुनाले छोराको जीवन बचाउन राजासमक्ष आग्रह गरिन् । सो बृद्धाको मद्दतका भावले राजा जितमहान्‌ले गरुडसमक्ष पुगी आफ्नो प्राण लिई उक्त व्यक्तिलाई छोड्न आग्रह गरे । राजाको यो सद्भाव देखेर गरुडले राजालाई वरदान दिए साथै उक्त युवकलाई पनि छोडिदिए । यसै घटनादेखि आफ्ना सन्तानको सुरुक्षा र दीर्घायुका निम्ति महिलाहरूले राजा जितमहान्‌को पूजा गर्नथाले ।

भगवान् जितमहान्‌प्रति आस्थाको भाव दर्साउने अझै एउटा घटनाक्रम भक्तजनहरूले कथाका माध्यमबाट सुन्ने गरेका हुन् । नर्मदा नदीका किनारमा स्थापित कणकावती सहरका राजा मलायकेतु थिए । नदीकै किनारमा एउटा पाखरको रूख थियो । सोही रूखका हाँगामा गिद्धिनी र रूखका फेदमा एउटी स्यालनी बस्नेगर्थे । दुबैबिच अपार मित्रता थियो । उक्त नदीकै किनारमा भगवान् जितमहान्‌को पूजा आरधना गर्न सहरका महिलाहरू आउनेगर्थे । यी दुवै सँगिनी पनि व्रत बसे । सोही दिन सहरको एक नामी व्यापारीका छोराको देहान्त भएको रहेछ । लासलाई नर्मदा नदीका किनारमै जलाइयो । जलिरहेको चिता देखेर स्यालनीका मुखमा मासुका रसले पानी भरियो । व्रत भङ्ग गरी उसले चिता निभाई पेटभर मासु खाई । यी सब दृश्य रूखमा बसेकी गद्धिनीले देखिछ । त्यसै वर्ष कुम्भ मेलाका समयमा दुवैको देहान्त भएछ ।

अर्को जन्ममा दुवै सँगिनी एउटा ब्रह्मणका दुई छोरी शिलावती (गिद्धिनी) र कपुरावती (स्यालनी) को रूपमा त्यसै सहरमा जन्मिए । शिलावतीको बिहे बुद्धिसेनसँग र कपुरावतीको बिहे राजा मलायाकेतुका साथ भएछ । दुवै बहिनीका सात सात भइ छोरा भएछन् । पूर्वजन्मका प्रतिफलका कारण शिलावतीका सम्पूर्ण छोरा जीवित नै रहे भने कपुरावतीका सबै छोराहरू मरे । यस कारणले गर्दा कपुरावतीका मनमा क्लेष पैदा भएछ । र राजालाई वचनका जालमा अल्झाई शिलावतीका सात छोराका काटिएका टाउका शिलावतीलाई भेट पठाउने निधो गरिछन् । त्यसपछि शिलावतीको दुःखको समचार बुझ्न रानी कपुरावतीले आफ्नी दासीलई पठाइछन् । तर उनले पठाएका काटिएका टाउका नरिवलमा परिवर्तन भई सात भाइ छोरा जीवित नै भएको कुरा सुन्दा रानी कपुरावती बेहोस भई देह त्याग गरिछन् । यो सब चमत्कार पूर्वजन्मको व्रत सफल भएका कारणले भएको हो भन्ने कुरा जनसमुदायमा ज्ञात हुँदा आस्था र श्रद्धासुमनका साथ महिलाहरूले सन्तानको दीर्घायुका निन्ति जितिया पर्व मनाउन थाले ।

जितिया पर्व मनाउँनाले श्रीमान् र सन्तानको रक्षा जितमहान्‌ले गर्ने विश्वास समाजमा प्रचलित छ । कुनै बालबालिका कुनै घटनामा परी भाग्यवश बाँचेमा आमाले खरजितिया पर्व गरेको आस्था देखिन्छ । त्यसकारणले तराई भेगमा यस पर्वलाई बडो हर्षोल्लासका साथ मनाइन्छ । भगवान् जितमहान्‌का साथसाथै अन्य देवी देवताको पनि मूर्ति बनाई मेला लगाइन्छ । मेलामा विभिन्न साँस्कृतिक कार्यक्रमका साथसाथै नाचगान पनि गरिन्छ । श्रद्धालु भक्तजनको त मेलामा लस्करै लागेको हुन्छ ।

जितिया पर्व मनाउने परम्परागत दृष्टिकोण जुन घटनासँग सम्बन्धित भए पनि यस पर्वले समाज र परिवारमा सुख तथा समृद्धि ल्याउने भएकाले जितियाको लोकप्रियता अरू समुदायमा पनि बढ्दै गएको  छ । पहाडी क्षेत्रका साथै उपत्यकाका महिलाहरू पनि उत्तिकै उत्साहका साथ यो पर्व मनाउने गर्छन् । यस पर्वले भिन्न भिन्न साँस्कृतिक सम्प्रदायबाट आएका व्यक्तिलाई जोडी साँस्कृतिक विविधताबाट एकता कायम गराउने कार्यमा ठुलो योगदान पु¥याएको छ ।