राखेर मनमा घमन्ड भकारी
पाई सबैको पियार डकारी
अर्ती उपदेश हुँदै जान्छ भारी
खुल्दैन चेत आफैं भुङ्ग्रोमा नपरी।।
मै हुँ जान्ने बुझ्ने मै हुँ एक विद्वान्
मबाहेक कसैमा छैन कुनै ज्ञान
व्यर्थै फाल्न उद्दत अमूल्य ज्यान
कुन पाठशालामा फलेछ अभिमान !
मै हुँ सत्यवादी अरू सब झुठा हुन्
मै हुँ भारी डोको अरू एक मुठा हुन्
मै मात्र ज्ञानी अरू सब गुँइठा हुन्
म छु जति बाठो अरू के बाठा छन् !
आफू भए खुसी अरू हुन् जेसुकै
मै खान्छु पेटभरि अरू हुन् भोकै
आजका नवमा बस्यो रोग यस्तै
वास्ता छैन कसैको आफूभित्र मस्तै।।
सबैलाई चिन्छन् हेरेरै यिनले
तर चिन्दैनन् आफैंलाई आफैंले
आफनै कर्ममा विश्वास नगरी
हिडिरहेछन् भाग्यको भर परी।।
आफैंलाई नबदली समाज बदल्ने
हावा पनि यिनकै इसारामा चल्ने
तर छैन कहीँ यिनको दाल गल्ने
रोपी विष कसरी ओखती हो फल्ने।।
न छ जान्नु केही न छ मान्नु भनेको
न त छ अरूलाई मान्छे गनेको
न छ चैन मनमा न छ कुनै त्रास
न आशा, भरोशा मात्र छ निराशा ।।
ठानी बाघ सुरो गर्जने घरमा
भई लुम्सो बिल्ली तर्सने परमा
बहादुर भनूँ कि बिचरा भनूँ म
देखेर रमिता बिलखबन्द परें म।।
खुच्चिङ्ग मार्न कैले पाउँला भनेर
बसेका छन् बैरी दिन गनेर
चरी गयो कठै आगोमा परेर
हर्ष मनाए सबले आँशु झारेर।।
पस्छ भने कोही पाङ्ग्रामुनि गाडीमा
जानी जानी किन पस्छन् बाढीमा
काँध थाम्ने कतिन्जेल बचाऊँ भनेर
रमिता जो हेर्छन् 'राम राम' भनेर ।।
लेखकको सम्वन्धमा