April 18, 2024, Thursday
२०८१ बैशाख ६, बिहीबार

ज्ञानी छोरी

एक पटक बुबा साह्रै बिरामी हुनुभयो । आमाले बुबालाई उपचार गर्न अस्पताल लग्नुभयो । अस्पतालमा डाक्टरले भने, ‘उहाँले आराम गर्नुपर्छ र पोषिलो खाना खानुपर्छ । नत्र भने उहाँको बिराम बढिरहने छ । उहाँ धेरै कमजोर भइसकन्नुभएको छ ।’

आमा र बुबाले काम गरेका दिन मात्र पैसा पाउनुहुन्थ्यो । बुबा घर बनाउने काम गर्नुहुन्थ्यो तर हाम्रो घर भने थोत्रो भइसकेको थियो । बुबाआमाको कमाइले हाम्रो राम्रो घर बनाउन पुग्दैनथ्यो । आमा सकडकपेटीमा मकै पोलेर बेच्नुहुन्थ्यो ।

आमाले मकै बेच्ने काम छाडेर बुबाको स्याहार गर्नथाल्नुभयो । आमाबुबाले नै काम गर्न छाडेपछि घरमा खाना खान नै पुग्न छाड्यो । बुबालाई औषधि र पोषिलो खानेकुरा खुवाउन नै सकिएन । चिन्ताले मलाई रातभरि निद्रा लागेन । मैले राभरि कसरी समस्या समाधान गर्ने भन्ने कुरा सोचिरहेँ । भोलिपल्ट बिहान मैले आमालाई भनेँ, ‘आमा ! एक पटक सहकारी जाऊँ न । केही पैसा रहेछ भने बुबाको उपचार गर्न र खान पुग्थ्यो होला ।’

आमाले तीन वर्षअगाडि मेरो जन्मदिनको अवसर पारेर सहकारीमा खाता खोलिदिनुभएको थियो । तर, त्यसपछि आमाले सहकारीमा पैसा राखिदिन सक्नुभएको थिएन किनभने बुबाआमाको कमाइले हामीलाई खान, लाउन र मेरो स्कुल फी तिर्न पनि कठिन पथ्र्यो । त्यसैले सुरुमा त आमाले भन्नुभयो, ‘सहकारीमा पैसा होला र नानी !’

मैले आमालाई फकाउँदै भनेँ, ‘एक पटक गएर त हेरौँ । पैसा नभए पनि कुनै उपाय त होला नि ।’

आमाले अप्ठ्यारो मान्दै ‘हुन्छ ।’ भन्नुभयो ।

आमा र म बुबालाई घरमा छाडेर सहकारी गयौँ । आमाले सहकारीकी दिदीलाई ‘मेरी छोरीका खातामा कति पैसा छ, बहिनी ?’ भनेर सोध्नुभयो । सहकारीकी दिदीले खातामा भएको पैसा भन्दा त आमा तीन छक्क पर्नुभयो । किनभने खातामा आमाले सोचेभन्दा धेरै बढी पैसा रहेछ । आमाको अनुहार जूनजस्तै उज्यालो भयो । मैले पहिलो पटक आमालाई त्यति खुसी भएको देखेकी थिएँ ।

आमाले सहकारीकी दिदीलाई सोध्नुभयो, ‘कसरी यस्तो भयो बहिनी ? झुक्किएर कसैको पैसा यहाँ परेको त हैन ?’

सहकारीकी दिदीले भन्नुभयो, ‘हैन दिदी, यी नानीले…’

सहकारीकी दिदीको कुरा टुङ्गिन नपाउँदै आमाले रिसाउँदै मलाई भन्नुभयो, ‘के तैले कसैको पैसा चोरेर त ल्याइनस् ?’

म अक्मकिँदै बोल्नथालेँ, ‘हो…हो…हो…होइन…’ आमाको रिसाएको अनुहार देख्दा म डराएकी पनि थिएँ ।

सहकारीकी दिदीले मेरो कुरा टुङ्गिन नपाउँदै भन्नुभयो, ‘यी नानी स्कुलमा खाजा खाने पैसा बचाएर दिनै जम्मा गर्थिन् ।’

आमाका आँखाबाट बर्रर आँसु झरे । आमाले मलाई अँगालो मार्नुभयो ।

एकछिनपछि मैले आमालाई भनेँ, ‘मैले जन्मदिन, दसैँ आदिमा पाएको पैसा पनि यहीँ जम्मा गर्ने गरेकी थिएँ ।’

त्यस दिन आमा ‘मेरी ज्ञानी छोरी !’ भन्दै रुन थाल्नुभयो ।

सहकारीकी दिदीले भन्नुभयो, ‘अरूका छोराछोरी पनि यस्तै ज्ञानी होउन् ।’