जहाँ नजरको हुन्छ मेल, आफू त्यो गाउँको केटो
जहाँ नजरले छुन्छ मुहार, आफू त्यो ठाउँको ठिटो
डुब्न दिऊँ म मनलाई मेरो, झिलझैँ आखाँमा हजुरको
हजुरकै आखाँले सौन्दर्य के हो ? नशा के हो ? बुझाएको ।
भौँतारिन्छन् सब जगतमा, छ सौन्दर्य केमा ? आफ्नै आखाँमा
पिउँछन् सब नशामा डुब्छन्, छ नशा केमा ? मनको प्रेममा
खोज्छन् सब ऐनामा, अतीत या भविष्यमा, म को हुँ ? आफ्नै चेतना
जीवन हो के ? वर्तमानको प्रबेग हो, यात्रा यो अनन्तको पथमा ।
मन आफूसित एक, अनेकौँ कुरामा कसरी लागोस्
मुटु आफूसित एक, अनेकौँ नाउँमा कसरी धड्कोस् ।
न अर्को नशामा डुब्नु छ, हजुरलाई आत्मामा लेख्नु छ
फरक बाटो हिँडे नि अहिले, सँगै अनन्तको बाटो हिँड्नु छ
उडी छुन चन्द्र एक दिन लक्ष्य सम्झिरहनु छ, मनमा
हातमा हात समाई, साथ पाई, बाँच्न मन छ, हजुरकै प्रेममा ।
कुरा छन् अनेकौँ, खोज्नलाई, खोज्दै म अनन्त, हजुरमा
रोजेँ हजुरलाई मैले, रोज्नु नै माया हो भने, मेरी माया ।
लेखकको सम्वन्धमा