शिक्षा र समृद्धि
मानिसमा भएको अज्ञानलाई हटाएर ज्ञानको ज्योति छर्नु शिक्षा हो । शिक्षा व्यक्तिको सोच्ने, बुझ्ने र अन्ततः व्यवहार गर्ने सिपमा आउने सकारात्मक परिवर्तन हो । शिक्षा प्राप्त गर्नु भनेको कुनै सिद्धान्त, नियम अथवा सूत्र कण्ठस्त पार्नु होइन । न त शास्त्री, आचार्य वा विद्यावारिधिको उपाधि हासिल गर्नु मात्र नै हो । शिक्षा त व्यक्तिमा हुने आन्तरिक प्रक्रिया हो जसको सम्बन्ध उसको व्यवहारको रूपान्तरणसँग रहन्छ । शिक्षाको व्याक्तिगत उद्देश्य मानिसलाई आर्थिक समृद्धि र सामाजिक प्रतिष्ठाको माध्यमद्वारा सन्तुष्टि प्रदान गर्नु हो । व्यक्तिलाई सफल र असल बनाउनु शिक्षाको लक्ष्य हो । त्यसैले शिक्षा हासिल गर्नु भनेको व्यक्तिलाई सफल र असल बनाउन आवश्यक सिप प्राप्त गर्नु हो ।
शिक्षाविद हर्वट स्पेनसर भन्छन्,’पूर्ण जीवनको तयारी नै शिक्षा हो ।’ उनका अनुसार, ‘शिक्षा भनेको व्यक्तिहरुका असल नैतिक चरित्रहरूको विकास गर्नु हो ।'(Education is the development of good moral character )। प्रसिद्ध दार्शनिक रुसोका शब्दमा ‘शिक्षा अरू केही होइन, बानीहरूको निर्माण मात्र हो ।’ (Education is nothing but formation of habit)।
यी भनाइहरूबाट के बुझिन्छ भने, शिक्षाको निकटतम् सम्बन्ध विद्यालय,पुस्तक र शिक्षकसँग होइन जीवनसँग हुन्छ । जीवन भोगाइलाई सहज,सुखी र खुसी बनाउनका लागि चाहिने नैतिक गुण तथा व्यवहारिक सिपको आर्जन गर्नुु नै शिक्षा हासिल गर्नु हो ।
संसारमा धेरै असल र सपmल भएका मानिसको इतिहास हेर्ने हो भने उनीहरू सबैभन्दा धेरै शैक्षिक उपाधि हासिल गरेका वा सबैभन्दा धेरै किताबी ज्ञान प्राप्त गरेका व्यक्ति कदापि होइनन् । माहात्मा गान्धी, बिल गेट्स, पारिजात, अल्वर्ट आइन्सटाइन, सेक्सपियर, स्टेफन हकिङ्स आदि परिचित नाम हुन् । यी व्यक्तिको नाम र ख्यातिको कारण उनीहरूले विद्यालय र विश्वविद्यालयबाट प्राप्त गरेको उपाधि होइन । यो त उनीहरूको वैयक्तिक प्रवृत्तिको उपहार हो । उनीहरूको आचरण, लगनशीलता, सिर्जनशीलता, दृढता र इमान्दारितको परिणाम हो । अनि पुरस्कार हो ।
सामाजिक प्रतिष्ठा र पद, आर्थिक समृद्धि र सन्तुष्टिको चाहना मानवीय स्वभाव हो । यसको प्राप्ति व्यक्तिको लक्ष्य पनि हो । शिक्षाको उद्देश्य व्यक्तिको लक्ष्य प्राप्तिमा सहयोग गर्नु हो । तर आखिर कुनै व्यक्तिको प्रसिद्धि र समृद्धि उसले हासिल गरेको शैक्षिक उपाधिको उपज होइन भने के हो त उसको प्रसिद्धिको कारण ?
कुनै व्यक्तिले सामाजिक प्रतिष्ठा र पदसँगै आर्थिक समृद्धि प्राप्त गरको छ भने हामी उसैलाई सफल व्यतिm भन्छौँ । तर उसको सफलता उसले हासिल गरेको शैक्षिक उपाधिको परिणाम नभई उसको आचरण वा स्वभावको उपज हो । आचरण वा स्वभावअन्र्तगत व्यक्तिका धेरै गुणहरू पर्दछन् । करुणा, प्रेम, सहानुभूति, आत्मानुभूति, मिलनसारिता, सहनशीलता, मृदुभाषी, इमान्दारिता, दृढता, लगनशीलता , उत्सुकता र नेतृत्व सिपजस्ता आधारभूत वैयक्तिक गुणहरू (जसलाई हामी सफ्ट स्किल भन्छौँ) नै व्यक्तिका सफलताका कारण हुन् ।
यस्ता वैयक्तिक गुण तथा सफ्ट स्किलहरू अमूर्त र अभौतिक हुन्छन् । यिनीहरूलाई वस्तुनिष्ठ ढङ्गले मापन गर्न पनि सकिँदैन । यद्यपि व्यक्तिको सफलतामा यिनकै मुख्य प्रभाव रहन्छ । अब प्रश्न उठ्छ, यस्ता सफ्ट स्किलहरू कहाँबाट,कसरी हासिल गर्ने ?
घर हेरक मानिसको पहिलो शिक्षालय हो । हामीले घरबाट प्राप्त गर्ने जीवनोपयोगी शिक्षा विद्यालय वा विश्वविद्यालयबाट हासिल गर्ने शिक्षाभन्दा धेरै उपयोगी हुन्छ । व्यक्तिको व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन आवश्यक आधारभूत ज्ञान, सिप र अभिवृत्ति घरबाटै सिकिन्छ । व्यक्तिलाई समाजमा समायोजन हुन सिकाउने मुख्य थलो पनि घर नै हो । मानिस जतिसुकै उच्च उपाधि हासिल गरको भएपनि यदि उसका व्यवहारहरू असामाजिक छन् भने उसले सामाजिक स्वीकृति पाउँदैन । सामाजिक रूपमा अस्वीकृत व्यक्तिले न त पद र प्रतिष्ठा पाउन सक्छ न त सन्तुष्टि नै ।
प्रेम, मिलनसारिता, सहानुभूति, आत्मानुभूति, शिष्टता, इमान्दरिता, समयनिष्ठता, लगनशिलता, उत्सुकता, सिर्जनशीलताजस्ता आधारभूत सिपहरू व्यक्तिले घरमै सिक्नसक्छ । यस्ता सिपको विकास गर्नु नै साँचो अर्थमा शिक्षा हासिल गर्नु हो । अनि असल र सफल हुनु पनि हो ।
बालबालिकाहरूमा उल्लिखित सिपको विकाससँगै अलिकति उत्सुकता र सिर्जनशीलता थपिदिन सके आफ्ना घर र समुदाय नै विद्यालय र विश्वविद्यालय बन्न सक्छन् । घरमा हुने दैनिक क्रियकलाप नै उनीहरूका लागि खुला पुस्तक बन्न सक्छन् । परिवार र समुदायका सदस्यहरू नै उनीहरूका महान् गुरु बन्न सक्छन् ।आफ्नै समाजमा विद्यमान व्यक्तित्वहरुका प्रेरणादायी जिवनी र कथाहरू उनीहरुका जीवनका लागि मार्गदर्शक सिद्धान्त बन्न सक्छन् ।
घर र समुदायमा हुने हरेक क्रियाकलापमा विद्यार्थीहरूको जिज्ञासा र सिर्जनात्मक सिपको उपयोग गराउने हो भने अङ्ग्रेजी व्याकरण मात्र होइन गणितका समीकरण र विज्ञानका नियमहरू पनि घरमै सिकाउन सकिन्छ । घरमा हुने साना साना क्रियाकलापहरूमा पनि बालबालिकाहरूलाई समालोचनात्मक ढङ्गले हेर्न लगाउन सके उनीहरूमा सिर्जनशीलता र चिन्तनशीलता सिपको विकास सम्भव हुन्छ ।त्यसैले सामाजिक मूल्य मान्यतासहितको नैतिक आचरण सिक्ने सर्वोत्तम निकाय स्वयम् व्यक्तिको घरबाहेक अरू हुन सक्दैन ।साथै यसले उनीहरुलाई आत्मानुशासित मात्र नभई आत्मविश्वासी पनि बनाउँछ ।
शिक्षा भनेको व्यक्तिलाई असल र सफल हुन चाहिने आवश्यक सिप, दक्षता, क्षमता र अभिवृत्तिको विकास गर्नु हो । कुनै योग्यता वा उपाधि मात्र हासिल गर्नु शिक्षा होइन । यस्ता दुर्लभ सिप प्राप्त गर्ने प्रमुख स्थल घर र समुदाय नै हो । हाल देशैभरका विद्यालयहरू नियमित रूपमा सञ्चालन हुन नसकिरहेको अवस्थामा हाम्रा घर र समुदायलाई नै मुख्य शिक्षालयका रूपमा उपयोग गर्न सके बालबालिकाहरूलाई उनीहरूको सिक्न पाउने अधिकार सुनिश्चित गर्नसकिन्छ र सिकिन्छ ।यो आजका समयको पनि आवश्यकता हो ।
लेखकको सम्वन्धमा