November 28, 2023, Tuesday
२०८० मंसिर १२, मंगलवार

इन्द्रजात्रा

इन्द्रजात्रा वर्षा र सहकालका देवता इन्द्रको पूजा आरधना गरी परम्परागत रूपमा नेवार समुदायका मानिसहरुले मनाउने पर्व हो । इन्द्रजात्रा पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलान्चोकलगायत दोलखासम्म पनि मनाउने चलन छ । इन्द्रजात्रा काठमाडौँमा मनाइने विभिन्न जात्राहरुमध्ये एउटा रमाइलो र महत्त्वपूर्ण जात्रा हो । प्रत्येक वर्ष भाद्रशुक्ल चतुर्दशीका दिन पर्ने इन्द्रजात्रा पर्व भाद्रशुक्ल द्वादशीका दिन हनुमानढोकाअगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याएपछि सुरु हुन्छ । इन्द्रजात्राको प्रमुख कार्य नै लिङ्गो स्थापना गर्नु हो ।

इन्द्रजात्रामा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठदिनसम्म मनाउने चलन रहिआएको छ । इन्द्रध्वजाको लिङ्गो ठड्याएको आठौँ दिनपछि अर्थात आश्विन कृष्ण चौथीका दिन उक्त लिङगो लडाउने विधिविधान रहेको छ । यसपछि इन्द्रजात्रा पर्व समाप्त भएको मानिन्छ । 

पौराणिक कथनअनुसार स्वर्गलोकका राजा इन्द्रले आफ्नी आमालाई वसुन्धराको व्रतको पूजा गर्नका लागि पृथ्वीलोकको नेपालको काठमाडौं आएर पारिजातको फूल टिप्न लाग्दा तिनलाई देखेर स्थानीय बासिन्दाले चोर भनी नियन्त्रणमा लिएर डोरीले पाता कसी बिच सडकमै जात्रा गरेको दिनको सम्झनामा इन्द्र्रजात्रा पर्व मनाइन्छ । त्यस बन्धनबाट आफ्ना पुत्र इन्द्रलाई बन्धनमुक्त गराउन इन्द्रकी आमा स्वयं काठमाडौं आएर छोराको बदलामा कुहिरो दिने वाचा गरी इन्द्रलाई फर्काएर लग्छिन् । सोही कुहिरोका कारण पानी पर्ने, धान बाली समयमा पाक्ने भएकाले वर्षा र सहकालका देवता भनी इन्द्रको पूजा गरी इन्द्रजात्रा पर्व मनाउने गरेको किम्बदन्ती रहेको पाइन्छ ।

पुराणअनुसार प्राचीन कालमा देवता र असुरहरुबिच ठुलो युद्ध हुँदा त्रिदेव र सम्पूर्ण देवगणहरुले देवराज इन्द्रलाई विजयी गराउन ध्वजा बनाई इन्द्रलाई दिएका थिए रे । उक्त ध्वजालाई नै इन्द्रध्वजा भनियो । त्यो इन्द्रध्वजा लिएर युद्ध गर्दा देवासुरको युद्धमा देवताहरुको विजय भएपछि इन्द्रध्वजाको पूजा गर्न थालियो । स्वर्गलोक र पृथ्वीलोक दुवैमा इन्द्रध्वजाको पूजा गरी युद्ध गरेमा सजिलै विजय हासिल गर्नसकिन्छ भनेर यो पर्व मनाउने हौसला जागेकाले आफ्नो राज्यमा सुख, समृद्धिकालागि इन्द्रध्वजा स्थापना गरी इन्द्रजात्रा मनाउने परम्परा बस्नथालेको हो ।

तान्त्रिक विधिद्वारा पूजा गरी काभ्रेपलान्चोक जिल्लाको उग्रचण्डी नालाको जङ्गलमा छोडिएको बोकाले छोएको रूख काटी सोही रूखबाट भाद्रशुक्ल एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ । हनुमान ढोका दरबार क्षेत्रमा कालभैरवको मूर्तिअगाडि धार्मिक विधिअनुसार उक्त लिङ्गो ठड्याएपछि इन्द्रजात्रा पर्व सुरु हुन्छ । यसरी ठड्याइएको लिङ्गोलाई इन्द्रध्वजोत्थान भनिन्छ । उक्त लिङ्गोलाई सिँगारेर हात्ती चढेको सुनको जलप लगाइएको इन्द्रको प्रतिमा फेदमा राखेर पूजा गरिन्छ र लिङ्गो ठड्याउँदा नेपाली सेनाको ब्यान्ड, गुरुज्यूको पल्टन र पञ्चेबाजा समूहले मङ्गल धुन बजाउँछन् । इन्द्रजात्रामा इन्द्रध्वजोत्थान गर्ने परम्परा प्रतापसिंह शाहले चलाएका थिए भन्ने कुरा इतिहासमा उल्लेख गरिएको पाइन्छ ।

इन्द्रजात्रामा जीवित देवी कुमारी, गणेश र भैरवको रथयात्रा गर्ने चलन छ । आठ दिनसम्म काठमाडौंका विभिन्न ठाँउको भक्कुनाच, भक्तपुरको महाकाली नाच, लाखे नाच, दशअवतार नाच तथा इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकको रुपमा पुलुकिसी नाच (काठमाडौं उपत्याकाका नेवार समुदायले इन्द्रजात्राको अवसरमा नाच्ने परम्परागत नृत्य) नचाउने गरिन्छ । काठमाडौंबाट पश्चिम पर्ने दहचोकस्थित इन्द्रदहमा रातभर जाग्राम बसी भोलिपल्ट स्नान गरेर मेला भर्ने भक्तजनको घुइँचो लाग्छ । कुमारीघरअगाडि रहेको त्रिलोक नारायण मन्दिरमा विष्णुले लिएका दश अवतार देखाउने परम्परा रहेको छ ।

काठमाडौंका मानन्धर समुदायले बाँसलाई माला उनेर लामो बनाई त्यसमा बत्ती बालेर नगर परिक्रमा गराउँछन् । भाद्रशुक्ल पूर्णिमाका दिन गणेश, भैरव र कुमारीको रथलाई कान्तिपुर नगरीमा परिक्रमा गराइन्छ । त्यसदिन नेवार समुदायका मानिसहरुले समयबजी नामको परिकार बनाएर खाने गर्दछन् । असोज कृष्ण चौथीका दिन गणेश, भैरव र कुमारीको तीनवटै रथलाई नगर परिक्रमा गराई बेलुकीको साइतमा लिङ्गो ढालेर जात्राको समापन गरिन्छ ।

हनुमानढोकाको गद्दी बैठकमा राष्ट्रप्रमुखको उपस्थितिमा गणेश, भैरव र कुमारीको पूजा गरी जात्रा हेर्ने प्रचलन रहेको छ । यो जात्रामा राष्ट्रप्रमुखको उपस्थिति हुने चलन जयप्रकाश मल्लको पालादेखि चलिआएको हो । जयप्रकाश मल्लले नै जीवित देवी कुमारीको रथ जात्रा चलाई आफू स्वयं रथमा बसी नगर परिक्रमा गर्ने गर्दथे भन्ने कथन पनि इतिहासमा पाइन्छ ।

गणेश, भैरव र कुमारीको रथ यात्रा सकिएपछि मरुटोलबाट वर्षभरीमा मृत्यु भएका परिवारका सदस्यले सतबिज छर्दै कान्तिपुर नगर परिक्रमा गर्छन् । काठमाडौंको तिलगङ्गामा रहेको विष्णुविक्रान्त मूर्तिमा पूजाअर्चना गर्ने, दियो दान गर्ने परम्परा पनि रहेको छ । त्यसैगरी घर घरमा झ्यालमा दियो झुन्ड्याई इन्द्रको नाममा बत्ती बाल्ने चलन छ । इन्द्रजात्राकै अवसरमा शाक्य जातकी एक बालिकालाई कुमारी र दुई बालकलाई गणेश र भैरवको स्वरूप मानी बेग्लाबेग्लै रथमा राखी बाजागाजाका साथ नगर र टोलहरू परिक्रमा गराइन्छ । इन्द्रजात्राको अन्तिम दिन वसन्तपुरदेखि प्याफल, नरदेवी, किलागल, असन, इन्द्रचोक हुँदै पुनः वसन्तपुरमै पुर्‌याएर त्यसैरात इन्द्रध्वजा फहराएको लिङ्गो ढाली तानेर बाग्मतीमा लगेर सेलाएपछि इन्द्रजात्रा पर्व सकिन्छ ।

राजा पृथ्वीनारायण शाहले राजा जयप्रकाश मल्ललाई हराई कान्तिपुर विजय इन्द्रजात्राकै दिनमा गरेका थिए । त्यसैले इन्द्रजात्राको विशेष ऐतिहासिक महत्त्व पनि रहेको छ । पराजयमाथि विजयका पर्वको रूपमा मनाइने गरेको इन्द्रजात्रा पर्वले सबैमा सुख, शान्ति र समृद्धि स्थपना गरी कोरोना भाइरसलाई निर्मूल पारी, सबैलाई सामान्य जीवनमा फर्कन सक्ने सामर्थ्य प्रदान गरोस् ।