April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

नेपालका प्राकृतिक सम्पदा

मानिसको श्रमबिना प्रकृतिले दिएका साधन, स्रोत र सम्पदालाई प्राकृतिक सम्पदा भनिन्छ । कुनै ठाउँको प्राकृतिक सम्पदाले त्यस ठाउँको विकास गर्न धेरै मद्दत गर्छ । प्राकृतिक सम्पदाका दृष्टिबाट हेर्दा नेपाल विश्वका सबैभन्दा धनी देशहरुमध्ये एक हो । नेपालको प्रकृतिक सम्पदामा जल सम्पदा, वन सम्पदा र प्राकृतिक सौन्दर्य रहेका छन् । यी प्राकृतिक सम्पदाको उपयोग गर्नसके नेपाल संसारकै सम्पन्न मुलुक बन्नसक्छ ।

नेपालको सर्वप्रथम र महत्त्वपूर्ण प्राकृतिक सम्पदामा जल सम्पदा पर्दछ । विश्वमा भएका सयौँभन्दा बढी देशहरुमध्ये नेपाल सबैभन्दा धेरै जलस्रोत भएको दोस्रो देशमा पर्दछ । नेपालमा हिमालबाट अविरल रूपमा बग्ने कोसी, गण्डकी, कर्णाली, भेरी, नारायणी आदि सयौँ नदीहरु छन् । यहाँ रारा, फेवा, रूपा, बेगनास, तिलिचो आदि विभिन्न तालतलैयाहरू छन् । सयौँ नदीनाला, झरना, ताल तथा खोला र खोल्साहरूले नेपालको अर्थतन्त्रमा सहयोग पुर्याएको छ । नेपालले जलस्रोतलाई उपयोग गरेर कृषि क्षेत्रबाट खाद्यान्न उत्पादन गर्नसक्छ । जलबाट विद्युत् उत्पादन गरी देश–विदेशलाई झलमल्ल पार्नसकिन्छ । आन्तरिक तथा बाह्य पर्यटकहरूलाई नदीनालामा र्‌याफ्टिङ र तालतलैयाहरूमा जलविहार गराएर जल सम्पदाले पर्यटन व्यवसायको विकासमा सहयोग गर्छ । यहाँको जलस्रोतबाट शुद्ध पिउने पानीको प्रयोग बढाएर अभावग्रस्त ठाउँमा पानीको  व्यवस्था गर्न सकिन्छ ।

नेपालको अर्को महत्त्वपूर्ण प्राकृतिक सम्पदा वनजङ्गल हो । यहाँ लगभग २१ प्रतिशत जग्गा वनजङ्गलले भरिएको छ । वनजङ्गल मानिस र पशु–प्राणीका लागि धेरै उपयोगी हुन्छ । मानिसले दाउरा, काठ, जडीबुटी आदिमा वनजङ्गलको प्रयोग गर्छन् । आफू बस्नका लागि वातावरण र जिउनका लागि चाहिने अक्सिजन पनि वनजङ्गलबाट प्राप्त हुन्छ । वनजङ्गलबाट यार्सागुम्बा, चिलाउने, पाँचऔँले, चिरैतो, निम, हर्रो, बर्रो, अमला, सर्पगन्धा, जटामसी, टिम्मुर आदिजस्ता जडीबुटी पाइन्छन् । यी जडीबुटीबाट विभिन्न रोगका औषधी बनाएर जनताको स्वास्थ्य राम्रो बनाउन सकिन्छ । यस्ता विभिन्न जडीबुटीहरु देश विदेशमा निर्यात गरी धन कमाउन सकिन्छ । नेपालका विभिन्न वनजङ्गलमा डाँफे, मुनाल, काँडेभ्याकुर, मयूरजस्ता विभिन्न दुर्लब चराचुरुङ्गीहरु र पाटेबाघ, जङ्गली हात्ती, एक सिङे गैडा, अर्ना, चितुवा, अजिङ्गर आदि जस्ता जीवजन्तु पाइन्छन् । ‘हरियो वन नेपालको धन’ भएकाले नेपाललाई सुन्दर देश बनाउनुपर्छ र भावी पुस्ताको नासो जोगाउनुपर्छ । यसका लागि उचित प्रयोग र संरक्षणको आवश्यकता पर्दछ ।

नेपालको अर्को प्राकृतिक सम्पदा यहाँको प्राकृतिक सौन्दर्य हो । नेपाल प्राकृतिक सौन्दर्यले भरिपूर्ण देश हो । सगरमाथा, कञ्चनजङ्घा, मकालु, मनास्लु, चोयु आदि जस्ता विभिन्न हिमाल पनि नेपालका सम्पत्ति हुन् । यहाँका खोलानाला, हिमाल, ताल, झर्ना, पोखरी, गुफा, डाँडापाखा, सबै सौन्दर्य बढाउने साधन हुन् । यहाँको प्राकृतिक सौन्दर्यले स्वदेशी र विदेशी पर्यटकहरु बढाउन सकिन्छ । हिमाल आरोहण, पैदलयात्रा आदिका माध्यमाट प्राकृतिक सौन्दर्यको अवलोकन गर्नसकिन्छ । विदेशी मुद्रा र विदेशी प्रविधिबाट विकासका पूर्वाधारको विकास हुन्छ । पर्यटन आगमन र नेपालीको सुखसुविधामा वृद्धि हुन्छ ।

निष्कर्षमा पुग्दा नेपाल प्राकृतिक सम्पदाले भरिपूर्ण देश हो । यो प्राकृतिक सम्पदाको उपयोग गरे नेपाल विकसित हुनसक्छ । यहाँका मानिसहरुले प्राकृतिक सम्पदाको सही उपयोग गर्नसक्नुपर्छ । नेपालको प्राकृतिक सम्पदाको नेपालीहरुले सदुपयोग गरी देशलाई विकसित बनाउनुपर्छ । प्राकृति सम्पदाको सदुपयोग गरी नेपाल र नेपालीको अस्तित्व सुरक्षित गर्नु आजको आवश्यकता हो ।